• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मनोरञ्जनको दुनियाँमा यु–ट्युबको एकलौटी वर्चश्व

काठमाडौं । कोरोना भाइरससँगै सुरु भएको वर्ष २०२० लकडाउनमय भयो । मानिसहरु घरमै सीमित भएर बस्न बाध्य भए । यस्तो संक्रमणको अवस्थामा बाहिर कतै जाने विकल्प थिएन । घरमा बस्यो गर्ने के त ? हातमा भएको मोबाइल चलाउने, ल्यापटप वा जे उपलव्ध छ त्यही ग्याजेट । बालिकादेखि बुढाबुढी सम्मको लकडाउनको सारथी बने ग्याजेट । अनि नेट चलाएर मोबाइलमा सामाजिक सञ्जाल, गेम खेल्ने भन्दा पनि टिकटक  र युट्युब हेर्नमा मानिसहरु बढी व्यस्त बने । यो वर्ष आधाभन्दा धेरै समय मानिसहरुको यसरी नै बित्यो ।

घरमा बसेर दिक्क भएको समयमा धेरै मानिसहरुको दिन कटाउने मेलो बन्यो युट्युब । विश्वनै एक हिसाबले भर्चुअल संसारमा रमायो । बाल बच्चा, युवा, वृद्धा लगायत हरेक वर्गका मानिसहरुले आफ्नो इच्छा अनुसारको सामग्री खोजेर सजिलै हेर्न सकिने माध्यम युट्युब, यो वर्ष भिडियो हेर्ने मात्र होइन आफूले जानेको काम कुरा सिकाउने एक माध्याम  पनि बन्यो । जहाँ शिक्षा, मनोरञ्जन तथा विभिन्न अभिप्रेरणाका सामाग्री देश तथा विदेशका खोजी खोजी हेर्न सकिन्छ । 

अर्को तरिकाले भन्दा युट्युब एक लोकप्रिय भिडियो सेयरिङ प्लाटफर्म हो, जसमा प्रयोगकर्ताहरु भिडियो खिचेर अपलोड गर्न सक्छन् भने अरुले राखेका भिडियोजहरु हेर्न पनि सक्छन् । विज्ञान–प्रविधिको युगमा युट्युब एउटा पैसा कमाउने माध्यम पनि हो । जसमा सबैभन्दा महत्वपूर्ण भूमिका युट्युब च्यानल सब्सक्रिप्सन र भिडियो हेर्नेको संख्याको हुन्छ । 

नेपालमा पनि युट्युब च्यानल चलाएर पैसा कमाउनेको संख्या उल्लेख्य मात्रामा छ । पछिल्लो समय युट्युबमार्फत् गरिने पत्रकारिताको प्रचलन बढेको छ । यसका सकारात्मक र नकारात्मक दुवै प्रकारका प्रभावहरु पनि छन् । 

कोरोना महामारीका दौरान घरमै बस्नुपर्ने अवस्थामा युट्युबमा भिडियो हेर्ने र भिडियो अपलोड गर्ने बानी बसेको छ । विश्वभरका कतिपय कलाकारहरुले लकडाउनका कारण काम नपाएको अवस्थामा युट्युब च्यानल खोलेर आफ्ना कुरा सेयर गर्ने वा कला देखाउँने ट्रेन्ड पनि बढेको छ । गीत, कविता, फिल्म युट्युवमै रिलिज गर्ने गरिन्छ ।

उसो त सन् २०२० लाई फर्केर हेर्दा कोरोना महामारीसँगै सुरु भएको लकडाउनमा मानिसहरुले मनोरञ्जनका लागि उपयुक्त माध्यम युट्युबलाई बनाए । हलिउड, बलिउड तथा कलिउडमा नयाँ– पुराना फिल्महरु युट्युबको ट्रेन्डिङमा आए । साथै दर्शकले सकारात्मक तथा नकारात्मक प्रतिक्रिया दिए । यसरी बाहिरी मनोरञ्जनका क्षेत्र बन्द हुँदा युट्युब भव्य रुपमा फैलने मौका पायो ।

कोरोना महामारीसँगै फिल्म हल बन्द भए, मिति तोकिसकेको फिल्महरुको सुटिङ रोकियो । लाखौँ खर्च गरेर तयार पारिएका फिल्मका सेटहरुको लगानी डुब्यो । कलाकार तथा निर्माता बेरोजगार भए । भर्खरै कलाकार बन्ने सपना बोकेर मनोरञ्जन क्षेत्रमा प्रवेश गरेका नवकलाकारहरुको सपना टुट्यो । मनोरञ्जन क्षेत्रमा कोभिड–१९ ले गहिरो असर पारेको छ ।  

यधपि, कोभिड–१९ को संक्रमण बढेसँगै बन्द रहेको मनोरञ्जन क्षेत्रलाई राहत दिन युट्युब च्यानलहरुको बहार छायो । फिल्म सुटिङ रोकिए पनि यो लकडाउनको समयमा संख्यात्मक रुपमा धेरै म्युजिक भिडियो सार्वजनिक भए । मनोरञ्जनको एक पाटो म्युजिक भिडियोलाई मात्र हेर्ने हो भने पनि नेपालमा युट्युबमा रिलिज भएका म्युजिक भिडियोहरु दर्शकले रुचाएर भ्युजमा मिलियन कटेका उदाहरण धेरै छन् । 

लकडाउनमा म्युजिक भिडियो उत्पादन तथा रिलिजमा सर्जकहरू खुब लागि परे । यसले सुस्ताएका कलाकार तथा प्राविधिकमा केही उत्साह थप्यो । 

अहिलेको अवस्थामा मनोरञ्जनका अन्य गतिविधि प्रायः ठप्प भएपनि म्युजिक भिडियोले भने केही हदसम्म धान्यो । लकडाउनकै अवस्थामा पनि विभिन्न उपाय अपनाएर म्युजिक भिडियो आए । अहिले परिस्थिति केही सहज हुँदै गएपछि भिडियो उत्पादनले राम्रै गति लिएको छ । एक हिसाबले भन्नुपर्दा संगीतकर्मी जुर्मुराए । तर यी गीत रिलिजको प्लेटफर्म भने युट्युब च्यानलबाहेक अरू हुन सकेन ।  यसरी रिलिज गरिएका केही गीतले छोटो समयमै श्रोताको असीमित माया पाए । जसलाई गीतहरु भाइरल भएको मानियो   अहिले हरेक दिन नयाँ–नयाँ गीत र त्यसको भिडियो रिलिज भइरहेका छन् । ट्रेण्डिङमा चढिरहेका छन् ।

फुल बुट्टे सारी सप्पक पारी पछ्यउरी मलमलको
कौशीमा बसी तिमीले हेर्दा मन मेरो हलचल भो 

कोरोना भाइरस महमारीको कारण सुस्ताएको मनोरञ्जन क्षेत्रमा रिलिज भएको ‘फुल बुट्टे सारी’ मेल भर्सनलाई दर्शकले अत्याधिक माया गरेका छन् । गीत रिलिज भएको करिब दुई महिनामा यस म्युजिक भिडियोले १० मिलियन भन्दा धेरै भ्युज पाइसकेको छ । गीतमा गायक मार्किक लामाको अवाज रहेको छ भने शब्द तथा संगीत गीतकार राजनराज सिवाकोटीको रहेको छ । देवी थान म्युजिक नाम युट्युब च्यानलबाट रिलिज भएको यस म्युजिक भिडियोको फिमेल भर्सन पनि सार्वजनिक छ ।

गीतमा मिलन नेवारको आवाज रहेको छ भने उक्त, म्युजिक भिडियोले रिलिजको ३ हप्तामै १३ मिलियन भन्दा धेरै भ्युज पाएको छ । भिडियोमा अभिनेता पल शाह र मलिका महत्तको अभिनय रहेको छ ।

 

मायालु तिमी कता छौँ सिरिरि सिरिरि कति मिठो हावा 
डाडातिर बरालिन जाऊँ कि क्या हो म 

यसैगरी नायक पल शाह र स्वस्तिमा खड्काले अभिनय गरेको म्युजिक भिडियो ‘मायालु तिमी कता छौ–२ (सिरिरी सिरिरी)’ रिलिजको केही दिनमै युट्युबको ट्रेन्डिङमा आयो ।

अहिले यस गीतले १० मिलियन भन्दा धेरै भ्युज पाइसकेको छ । गज्जब टीभी युट्युब च्यानलमार्फत रिलिज गरिएको उक्त म्युजिक भिडियोमा शब्द दिनेश थपलिया, संगीत राजनराज सिवाकोटी, स्वर स्मिता दाहाल र राजनराज सिवाकोटीको छ । भिडियो निर्देशन सरोज ओलीले गरेका छन् । गायीका दाहाल नेकपाका अध्यक्ष प्रचण्डकी नातिनी हुन् ।

पहिला पहिला मैले भाग्दा तिमीले पछ्यौँ
आज भोली मैले खोज्दा कता हराएयौँ 

भिडियो ‘पिरिम नलाउने’ को सफलतापश्चात् गायक आशिष सचिनको अर्को प्रस्तुति ‘गलबन्दी पछ्यौरी’ ले पनि युट्युबमा  ४.८ मिलियन भ्युज पाइसकेको छ । ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको यस म्युजिक भिडियोको गीतमा गायक सचिन, वर्षा राउत र रेश्मा घिमिरेको अभिनय रहेको छ । गायक आशिष सचिनलाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन् ।

आटो पिठो झुपडी बासमा माया मिसाऊ
हरेक गाँसमा पिर नगर मञ्जरी परान छन्जरी

अभिनेता राजेश हमाल र अभिनेत्री वर्षा सिवाकोटीको अभिनय रहेको म्युजिक भिडियो ‘मञ्जरी’ लाई लकडाउनको समयमा दर्शकले निकै रुचाए । प्रकाश पराजुली नाम युट्युबबाट सार्वजनिक भएको यस गीतमा आवाज देवी घर्ती र प्रकाश पराजुलीको आवाज रहेको छ । गीतमा शब्द तथा नभराज पन्त र संगीत गायक आफैले भरेका छन् । यक्त गीतले ३ मिलियन बढी भ्युज पाइसकेको छ । 

फुर्सद भए मै आऊला तिम्रो हात समाएर माया गरौला
घरमै कोही न हुँदा एकछिन तिमम्लाई बोलौला 

पल शाह र सुधिरा श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘माया गरौला’ युट्युब तथा टिकटकमा सार्वाधिक रुचाइएको गीत हो । यस गीतले रिलिजको ५ महिनामै १२ मिलियन भन्दा धेरै भ्युज पाइसकेको छ । गज्जबको टिभी च्यानलबाट सार्वजनिक भएको यस गीतमा शब्द दिनेश थपलियाको छ भने आवाज सरोज ओली र अस्मिता अधिकारीको छ । भिडियो निर्देशन गायक ओलीले गरेका छन् भने पल र सुभिरलाई अभिनयमा उसा उप्रेति र सुनिशा बजगाईँले साथ दिएकी छन् । 

रिङ्कीबुङको राँगोलाई चुङके बुंङको चुलेसीले ताप्लेजुङमा ताकेर काले बुंङमा काटेर 
अरुण तम्मोर तरुँला, तिते फापर छरुँला ...

प्रखर प्रवक्ता रमेश प्रसाईको पहिलो गीत ‘रिङ्कीबुङको राँगोलाई’ दर्शकले अत्याधिक माया गरेका छन् । यस गीतले ८ मिलियन बढी भ्युज पाएको छ । गीतमा सिके श्रेष्ठको शब्द तथा संगीत साथै बिपिन आचार्यको संगीत संयोजन रहेको छ । यो गीत पहिले सुरेश गन्धर्वले गएका थिए ।

दिपक आचार्यले निर्देशन गरेको गीतको भिडियोमा शंकर आचार्य, कमलमणि नेपाल, दिपक आचार्य, मधुसुदन पाठक, सुबोध गौतम, रामभजन कामत, पवन खतिवडा, सुमिन गुरुङ, धर्म गन्धर्व, पोशन घर्ति मगर, धन बहादुर गुरुङ, रेणु चौधरी, बज्र सिंह लामा लगायतको अभिनय रहेको छ । अर्जुन तिवारीले छायांकन गरेको भिडियोको सम्पादन चन्दन दत्तले गरेका हुन् ।

कहानी सुरु गरु मैले कहाँबाट बरिलै भन्न पनि लाजै छ
जिन्दगीमा मेरो घट्यो एउटा घटना बरिलै चोट अझै ताजै छ 

देवी घर्तीको आवाजमा समावेश ‘बदला बरिलै’ गीतमा प्रकाश सपुतको शब्द तथा संगीत छ । यो गीतले विशेषगरि, समाजमा बढ्दो बलात्कारको घटनाविरुद्ध आवाज बोलेको छ । तर, गीतका शब्द, देवीको स्वर र यसको संगीत निकै नै मर्मस्पर्शी छ । 

संगीत क्षेत्रमा करिअर बनाउन लागेकी एक यूवतीको करिअर कसरी एक पुरुषले बर्बाद पारिदिन्छ र उसले त्यसको बदला कसरी लिन्छे भन्ने कथा भिडियोमा बुनिएको छ । गायक सपुतले नै निर्देशन गरेको भिडियो पनि उत्कृष्ट छ ।

नायिका केकी अधिकारी १५ मिनेटको भिडियोमा नै सशक्त पाराले प्रस्तुत गरेकी छिन् । जसमा ७ मिलियन भ्युज आइसकेको छ 

अनिल कृष्ण मानन्धरको छायांकन रहेको भिडियोमा प्रविन भट्टको सम्पादन छ । भिडियोमा हिउवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर, सन्ध्या गौतम बराल लगायतको पनि अभिनय देख्न सकिन्छ ।

गीत रेकर्डिङ, म्युजिक भिडियो सुडिङ तथा यसका अन्य प्राविधिक कार्य भइरहँदा फिल्मका अभिनेता अभिनेत्री तथा निर्देशक पनि यतातिर आकर्षित भए । राजेह हमाल ,पल शाह, नाजिर हुसेन, आँचल शर्मा, वर्षा राउत, नम्रता श्रेष्ठ, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी लगायतका कलाकारका पनि म्युजिक भिडियोमा देखिए । अभिनेता पल शाहको हप्तामा सात ओटा म्युजिक भिडियो रिलिज भयो । 

अर्को तर्फ अभिनेता तथा अभिनेत्रीहरुले आ–आफ्नै नाममा युट्युब च्यान खोले । जस मार्फत ब्युटि टिप्स, खानाको रेसेपी तथा कोरोना कालमा आफ्नो अनुभव भन्दै भावनाहरु दर्शक समक्ष सेयर गरे । 

यसरी मनोरञ्जन क्षेत्रमा दैनिक म्युजिक भिडियो रिलिन हुने क्रम जारी छ । गीतकार तथा संगीतकारको लागि मनग्य सोच्ने समय मिल्यो । नयाँ गीत तथा संगीतको सृजना भयो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर