गणेशधाममा तलाउ निर्माण गरिँदै

भरतपुर । कोरोनाका कारणले रोकिएको गणेशधाम निर्माणले गति लिनथालेको छ । धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न लागिएको धाममा तलाउ र मन्दिरको जिर्णोद्धार धमाधम गर्न लागिएको हो । तलाउको बाँध निर्माणका लागि वाग्मती प्रदेश सरकारले रु पाँच करोड ७५ लाखको बोलपत्र आह्वान गरेको छ । भरतपुर महानगरपालिका–११ स्थित गणेशस्थान मन्दिर क्षेत्रलाई गणेशधामका रूपमा विकास गर्न दुई वर्ष अघिबाट काम शुरु गरिएको थियो ।

गणेशस्थान संरक्षण सम्बद्र्धन समितिका संरक्षक एवं प्रदेशसभा सदस्य विजय सुवेदीले पुण्यावती तलाउ बाँधको काम प्रदेश सरकारको बजेटमा करिब डेढ वर्षमा सम्पन्न हुने बताए । उनले यो योजना भरतपुरको गौरवको योजनासमेत भएको बताए । 

गणेशस्थान संरक्षण सम्बद्र्धन समितिका अध्यक्ष दिनेश चुकेले धामको गुरुयोजनाअनुसार अहिले गणेशधाम परिसरमा कैलाश पर्वत बनाउने, तलाउको वरिपरि ‘आइल्याण्ड’ बनाउने लगायतका कामहरु शुरु भएको जानकारी दिए । उनले भने, “कोरोनाका कारण केही काम ढिला भए पनि अहिले कामले गति लिएको छ ।” गत चैतदेखि जेठसम्म धाममा खासै काम नभए पनि असारबाट तलाउको वरिपरि ७० वटा बेञ्च राखेर कामलाई गति दिने प्रयास गरिएको उनले बताए । 

दुई दशमलव ४३ हेक्टर क्षेत्रफलमा रहेको मन्दिरलाई धाम निर्माण गर्न थप ३० हेक्टर क्षेत्रफल विस्तार गरेर पूर्वाधार निर्माण भइरहेको छ । गणेशस्थान क्षेत्र विकासका लागि बनाइएको डिपिआर (विस्तृत  परियोजना प्रतिवेदन) अनुसार रु ८० करोड रुपैयाँमा गणेशधाम तयार गरिने योजना छ ।

महानगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक तथा धार्मिक स्थलमध्ये एक गणेशस्थानमा रहेको पौराणिक इनार पाल्पाका राजा मणिमुकुन्द सेनको पालामा बनेको विश्वास गरिन्छ । विसं २०१४ मा रूखमुनि फेला पारिएको गणेशको अर्धकद मूर्ति स्थापना गरेर मन्दिर निर्माण गरिएको बताइन्छ । मन्दिर परिसरमा सरस्वती, मनकामना, सन्तोषी, विश्वकर्मालगायतका मन्दिर छन् ।

धामका रूपमा विकास गर्न ३० फिट अग्लो गणेश मूर्ति, जलविनायक, शिव–पार्वती, कुमारको मूर्तिसमेत बनाउने गरी डिपिआर बनेको थियो । यसैगरी धाम क्षेत्रमा व्यवस्थित पार्किङ, पिकनिक स्पट, बोटानिकल गार्डेन, धर्मशालालगायत निर्माण हुने योजना छ । धाममा योगा तथा धार्मिक कार्यक्रम सञ्चालन गर्न हल पनि निर्माण हुनेछ । गणेशस्थानदेखि देवघाटको दूरी पाँच किलोमिटर छ । धामका रूपमा विकास गरेर धार्मिक पर्यटक भित्र्याउन सकिने संरक्षण समितिको विश्वास छ । मन्दिर परिसर आडैमा पुण्यावती खोला छ । ऐतिहासिक महत्वको गणेशस्थान पछाडिका वन क्षेत्रलाई समेटेर बनाउन थालिएको धाम धार्मिक क्रियाकलापका लागि मात्र नभई जिल्लाकै पर्यटक स्थल बन्ने संरक्षण तथा सम्बद्र्धन समितिको विश्वास छ ।

पच्चीस बिघा क्षेत्रफलमा बन्ने तलाउ पुण्यावती खोलाको पानी बाँध बाँधेर बनाउन लागिएको हो । तलाउ वरपर हिँड्न र साइकल चलाउन मिल्ने बाटो पनि निर्माण हुँदैछ । केन्द्रीय तथा प्रदेश सरकार, स्थानीय तह, सङ्घसंस्था तथा व्यक्तिगत सहयोग सङ्कलन गरी पाँच वर्षभित्र धाम निर्माण गरिसक्ने लक्ष्य थियो । पाँच वर्षमा दुई वर्ष बितिसकेको छ । गणेशधाम संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष चुकेले कुनै अवरोध नभएमा अबको तीन वर्षमा धाम निर्माणको सम्पूर्ण काम सकिने बताए । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर