झापामा रहेका ज्ञानेन्द्र आफ्ना बुवा महेन्द्रले बस्ती बसालेको गाउँमा पुग्दा.. 

झापा ।  केहि दिन यतादेखी झापामा रहेका पूर्व राजा ज्ञनेन्द्र शाहले भद्रपुरस्थित एक विद्यालयका बिद्यार्थीलाई राहत बितरण गरेका छन् । 

पूर्व राजा शाहले भद्रपुर २ स्थित सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई राहत वितरण गरेका हुन् । स्वर्गीय राजा महेन्द्र शाहले वस्ती बसाएको ठाउँमा पहिलो पटक पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित पुगेका थिए । उनी बुहारी हिमानी र नाती हृदयेन्द्रलाई लिएर साविक पृथ्वीनगर गाविस (नगरपालिका २ – स्थित गौरीशंकर गाउँमा शनिबार दिउँसो पुगेपछि उनीहरुलाई त्यहाँ स्थानीयवासीले भव्य स्वागत गरेका थिए । 

पूर्व युवराज्ञी हिमानी शाहको नाममा स्थापित हिमानी कोषबाट त्यहाँका विद्यार्थी र जेष्ठ नागरिकलाई राहत सामग्री वितरण गर्न उनीहरु त्यहाँ पुगेका हुन । हिमानी कोषबाट सिंहदेवी आधाभूत विद्यालयका ६५ जना विद्यार्थीलाई विद्यालय पोशाक ज्याकेट र पोसिलो खानेकुरा र ३० जना विपन्न तथा अपाङ्गता भएका जेष्ठ नागरिकलाई जाडोको सिलिपङ वेड वितरण गरेका थिए । 

महिला आदर्श सेवा समितिका अध्यक्ष राधा कार्की र झापा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज पनेरुले सो कार्यक्रमको सहजिकरण गरेका थिए । 

पूर्व राजा ज्ञानेन्द्रका पिता महेन्द्रले भारत लगयात अन्य देशमा रोजगारीमा गएका नेपाली नागरिकलाई स्वदेश फर्काउने अभियान अन्तरगत २०२४ सालमा गाउँ फर्क अभियान सुरु गरेका थिए । पूर्व राजा महेन्द्रले पूर्नवास कम्पनीमार्फत साविक पृथ्वीनगर गाविसमा वनजंगल फडानी गरी त्यहाँ वस्ती बसाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर