प्रधानमन्त्री ओली सर्बोच्च अदालतलाई धम्की दिन थालेः डा. भट्टराई

ज्ञानेन्द्रको चुनाव र ओलीको चुनाव उस्तै हो भ्रममा नपरौं

विराटनगर । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सच्चिन्छन् भन्ने भ्रममा नरहन आग्रह गरेका छन् । 

जनता समाजवादी पार्टीले शनिबार विराटनगरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै डा भट्टराईले भने,  ‘नेकपाका नेताहरु अझैपनि ओली सचिन्छन् भन्नेमा आशावादी छन्, त्यस्तो मरञ्च्याँसे नहुनुस्, उनी सचिदैनन् । त्यसैले उनलाई पार्टीबाट कारवाही गरेर आउनुस्, फासिवादका विरुद्ध मिलेर सघर्ष गरौं ।’

नेता भट्टराईले प्रधानमन्त्रीले न्यायलय सर्वोच्च अदालतलाई धम्की दिनथालेको आरोप लगाए । ‘संविधान विपरित प्रतिनिधिसभा विघटन गरेको प्रधानमन्त्रीको कदम विरुद्ध अदालतमा मुद्दा पुगेको बेला प्रतिनिधि सभा पुनर्स्पना हुँदैन भन्दै हिड्नु अदालतलाई धम्की हो,’ उनले भने ।

‘हुँदै नभएको अधिकार प्रयोग गरेर जसरी ओलीले कदम चाले त्यसले संविधानलाई कोमामा पु¥याएका छन्’, उनले भने, ‘सरकार बन्ने सम्भावना हुँदाहुँदै गरिएको विघटन खारेज हुनुपर्छ, अदालतले खारेज गर्छ तर ढुक्क हुने अवस्था भने छैन ।’

प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेर प्राप्त भएका सबै उपलब्धी खोस्ने प्रयत्न गरेको भन्दै उनले खोसिने भएकोले त्यस विरुद्ध निरन्तर संघर्ष आवश्यक रहेको बताए ।

सर्वोच्च अदालतले प्रधानमन्त्रीको उक्त कदम सच्याउँदा सहज हुने अन्यथा सभामुखले संसद बैठक आव्हान गरेर अघि बढ्ने अवस्था आउने उनले चेतावनी दिए ।

‘अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दा सहज हुन्छ । होइन भने जनताको संघर्षको बलमा सभामुखले संसद बैठक आव्हान गर्ने अवस्था आउँछ,’ नेता भट्टराईले भने ‘प्रतिनिधि सभा ज्यूँदैछ, हामी पनि जीवित नै छौं ।’

नेपालमा अस्थिरताका वातावरण बनाएर छिमेकीहरुलाई पनि सहज नहुने नेता भट्टराईले बताए । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई साथ नदिन आग्रह गर्दै उनले भने  ‘मेरो घरमा आगो लाग्दा छिमेकीको घरपनि सल्किन सक्छ, आगो लगाउने काममा कसैले पनि सहयोग गर्न हुँदन ।’

प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गतेको चुनाव गर्नका लागि आव्हान नगरेको नेता भट्टराईको दावी थियो । ‘राजा ज्ञानेन्द्रले पनि चुनावको चारो फालेका थिए अहिले ओलीले पनि चुनावकै चारो फालेका छन्,’ भट्टराईले भने ‘बाघलाई खोरमा थुन्न वा मुसालाई खोरमा पार्न चारो राखेजस्तै हो यो ।’ 

प्रधानमन्त्रीले आफु पत्तासाफ हुने चुनाव गर्नका लागि घोषणा नगरेकोले भ्रममा नपर्न उनले अन्य पक्षलाई समेत आग्रह गरे । 

नेपाली काग्रेंस चुनावको लोभमा परेर नुन खाएको कुखुराँझैं झोक्य्राएर बसेको टिप्पणी भट्टराईले गरे । ‘तपाईंहरु नुन खाएको कुखुरा झैं किन झोक्य्राएको ?,’ उनले प्रश्न गरे ‘लोकतन्त्र खोसिएको बेला यस्तै गर्नुपर्छ भनेर विपिले त्यति ठूलो त्याग र संघर्ष गर्नुभएको हो ?’

जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउनका लागि नभई निरंकुशता लाद्नलाई संसद विघटन गर्दै निर्वाचन घोषणा गरेको आरोप लगाए ।

‘ओलीको चिन्तन निरंकुश पञ्चायतको भन्दा रत्तिभर फरक छैन । यो निर्वाचनका लागि होइन, तानाशाही, सर्वसत्तावाद र निरंकुशता लाद्न घोषणा गरिएको हो,’ यादवले भने ।
 
‘संसद विघटन हुनेबित्तिकै सरकार कामचलाउ बन्छ’, उनले तर्क गरे ‘तर, त्यही काम चलाउ हैसियतको सरकार धमाधम मन्त्री थप्छ । यति अनैतिक र असंवैधानिक काम गर्नेले चुनाव गराउछँ भनेर कसैले पत्याउँदैन ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर