• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

'शक्तिको आडमा लाभ आर्जन गर्न जे पनि गर्ने यि नेताहरु' !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै पुर्व एमाले, माओवादी पृष्ठभूमिको नेताहरु दुवै पक्षतिर लागेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव कुमार नेपाल पक्षसँग पुर्व एमाले पृष्ठभूमि भएका नेताहरुको बाहुल्यता छ । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षमा केही पुर्व माओवादी पृष्ठभूमिका नेताहरु सामेल भएका छन् । 

अहिले प्रचण्डलाई छोडेर ओलीतर्फ लागेका नेताहरु विचार र पक्षधरतामा स्पष्ट भएको जिकिर गरे पनि त्यसको पुष्टि भने हुन सक्दैन । यतिखेर ओली पक्षमा रहेका पुर्व माओवादीका नेताहरु सबैले मन्त्री पद पाउनुले उनीहरुले भन्ने गरेको ‘विचार, पक्षधरता’ गौण बनाएको छ । मात्रै उनीहरु अवसर र पदका लोभमा ओली नजिक पुगेको पछिल्लो पटकको मन्त्री, र अन्य पदको नियुक्तिले प्रष्ट्याएको छ । 

नेकपाका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले ओली समूहमा लागेका नेताहरुको बारे टिप्पणी गर्दै भने– ‘विचार, पक्षधरताको जति रट लगाएपनि सधै शक्तिको नजिक हुने गरेको र लाभकोलागि जे पनि गर्नेहरु नै ओलीतिर लागेका छन् ।’

उनले भने– ‘उहाँहरु सधै शक्तिको पछाडि लाग्नु हुन्छ । बाबुरामले पार्टी छोड्दा पनि प्रचण्डसँग शक्ति देखेर त्यही बस्नुभयो । अहिले ओलीसँग सत्ताको शक्ति देखेर त्यही बस्नु भएकोछ ।’

विगत र वर्तमानका गुट परिवर्तनको दृष्य हेर्दा रामबहादुर थापा ‘बादल’ सधै प्रचण्ड निकट थिए । तर एक पटक मन्त्री भएर पनि प्रचण्डलाई संशोधनवादी बनेको आरोप लगाएर मोहन वैद्य ‘किरण’सँगे पार्टी विभाजनमा लागे ।  बादल चार वर्षपछि प्रचण्डसँग फर्किए । आफूसँग सहमत भएका केही नेताहरु लिएर उनी प्रचण्डसँग आए । पार्टी एकता हुनु अघि तत्कालीन माओवादी केन्द्रको तर्फबाट बादल दोस्रो पटक मन्त्री बने । तर माओवादी केन्द्रको कोटामा मन्त्री बनेका बादल पार्टी विभाजनसँगै ओली पक्षमा बसे ।

बादल किन प्रतिगमनको पक्षमा लागे ? भनेर उनको विचार हेरे पुग्ने लेखक युग पाठकले बताए ।

पाठकले भने– ‘विचारमा स्खलन आएपछि को कता लाग्यो भन्ने हुँदैन । उनीहरुमा विचार छैन । विचार छैन भन्ने कुरा पुष्टि भइसक्यो । यस्तो प्रतिगमनलाई सहयोग गर्ने मानिसको विचार कहाँ छ भन्ने स्पष्ट हुन्छ ।’
अर्का पात्र हुन्, टोपबहादुर रायमाझी । उनले सधै‌ अवसरको खोजी गर्दै हिडेको उनी निकट एक नेता बताउँछन् । ती नेताले भने– ‘उनी बाबुराम र प्रचण्डसँग हुँदा मन्त्री । अहिले यस्तो अवस्थामा प्रचण्डलाई छोडेर पनि मन्त्री हुनु भयो । यो उनको अवसरवादी चरित्र हो ।’

रायमाझीले भट्टराईसँग हुँदा सधै अवसर प्राप्त गरे । प्रचण्डसँग हुँदा पनि उनी अवसर पाइरहे । उनले आफूसँग रहेका अन्य नेताहरुका लागि कहिल्यै सहयोग गरेनन् । उनी सधै मन्त्री हुन तम्से तर, अन्य साथीलाई अन्याय हुँदा कहिल्यै न बोलेको एक नेताले गुनासो पोखे ।  ‘अवसर खोज्ने प्रवृत्ति उहाँको पहिलाबाट नै थिया’, ती नेताले भने । 

लेखराज भट्ट सुदूरपश्चिमबाट माओवादीका प्रमुख नेता थिए । प्रचण्ड निकट भएर सधै अवसर लिने नेतामा पर्छन । उनले पार्टी एकता नहुँदा पनि सुदूरपश्चिममा पार्टीभित्र प्रचण्डको आडमा अन्य पक्षलाई पेल्दै एकलौटी रुपमा अवसर लिंदै आएका थिए । उनले निर्वाचन खर्च भनेर पार्टीले दिएको २ करोड रुपैयाँ पनि एक्लै खाएको हल्ला सुदूरपश्चिमा चर्चाको विषय बनेको थियो । यसको आधिकारिक पुष्टि भने भएको छैन । 

पार्टी एकता भएपछि पनि उनले अन्य पक्षलाई पेलेर एकलौटी रुपमा कमिटी बनाएका थिए । अर्को पक्षका सिनियर नेताहरुलाई जिल्ला कमिटीमा राख्न मानेनन् । आफू पछिका दोस्रो माओवादी केन्द्रका नेता खगराज भट्टलाई उनले डढेल्धुराको इन्चार्ज बनाएका थिए । नेताको अवमूल्यन गर्नमा लेखराज निपूर्ण मानिन्छन् । 

उसो त उनी यतिखेर आफ्ना गुरु प्रचण्डलाई नैतिक प्रश्न उठाउँदै हिडेका छन् । तर, उनको पारिवारिक किचलोलाई सधै गुपचुप राखेर अरुलाई नैतिकतको पाठ सिकाउने भनि सुदूरपश्चिममा  पटक–पटक आलोचनाको विषय बन्ने गरेको छ । उनै अहिले प्रचण्डलाई नैतिकताको पाठ पढाउँदै हिडेको भनेर उनका पूर्व सहकर्मीहरुबीच ‘जोक’को विषय बनेको छ । 

पौडेलले भने जस्तै सधै बाबुराम भट्टराईको पक्षमा लागेका टोपबहादुर रायमाझी बाबुरामले पार्टी छोड्दा उनीसँग गएनन् । मणि थापा माओवादीको चर्चित चुनवाङ बैठक अगाडि नै लखनउबाट पार्टी छोडेर हिडे । तर कालान्तरमा उनी प्रचण्डसँगै आएर मिल्न आइपुगे । प्रभु साह सधै अवसरको खोजीमा भौँतारिने अर्का पात्र हुन । जो सत्तामा हुन्छ त्यसैको नजिक हुने प्रवृत्ति भएका पात्र हुन साह । प्रचण्ड र बाबुरामसँग हुँदा मन्त्री हुने अवसर पाएका उनै साह हुन ।

प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु असंवैधानिक हो भन्दै विज्ञप्ति जारी गर्ने उनै साह सबैभन्दा अघि थिए । विज्ञप्तिको मसी नसुक्दै एक साताभित्र मन्त्रीको शपथ लिनेमा उनी अग्रपंक्तिमा देखिए । प्रदेश नं.२ का एक केन्द्रीय नेताले भने– ‘प्रभु साह शक्तिको लागि जे पनि गर्ने नेतामा पर्छन । उनको पृष्ठभूमि केलाउने हो भने धेरै कुरा थाहा हुन्छ । अहिले उहाँ विचारको भन्दा अवसरका लागि ओली पक्षमा लाग्नु भएको हो ।’

दावा तामाङ झन् प्रदेश चुनावमा पराजित व्यक्ति हुन । प्रदेश चुनाव हारेर पनि मन्त्री पद पाएपछि उनी सहजै ओली पक्षमा लाग्ने भए । यो जो कसैले  सोझै बुझ्न सक्ने दृष्य हो । लामाकी धर्मपत्नी कुमारी मोक्तान बागमती प्रदेश सांसद हुन् । उनी ओलीको कदम ‘प्रतिगमन’ भनेर त्यसका विरुद्ध लागेकी छन् । दावा भने उनै प्रतिगमन कदम चाल्ने ओलीको मन्त्रिमण्डल सदस्य बनेका छन् ।  

अहिले प्रचण्ड छोडेर ओली पक्षामा लागेका पाँच जना नेताहरुमा कुनै समयमा प्रचण्ड र बाबुराम निटक थिए । तर अहिले उनीहरु अवसरको खोजीमा ओली पक्षमा लागेका एक पुर्व माओवादी नेता बताउँछन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर