• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

ओली जन्मिएको तेह्रथुम जिल्ला, प्रचण्ड–नेपाल पक्षको ‘लालकिल्ला'!

बिराटनगर । नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'को विभाजनले केन्द्रदेखि स्थानीय तहसम्म प्रभाव पारिरहेका बेला दुवै पक्ष बर्चस्व कायम गर्न सक्रिय छन् । नेपाली कम्युनिष्ट आन्दोलनमा अग्रणी भूमिका खेलेको क्षेत्र पूर्वी नेपालमा विभाजनको तरंगबाट अलग हुन सकेको छैन ।

निर्वाचन परिणाममा सधैजसो कम्युनिष्ट पार्टीको वर्चस्व रहने पूर्वी नेपालको तेह्रथुममा स्थानीय तहसम्म असर परेको छ । विभाजनको प्रभावमा जिल्लाका अधिकाँश नेता कार्यकर्ता प्रचण्ड–नेपाल पक्षमा खुलेका छन् । प्रधानमन्त्री केपी ओली पूर्वेली रहे पनि उनको समूह खुल्नेको प्रतिशत न्युन देखिएको छ ।

पूर्वी नेपालको वाम आन्दोलनमा तेह्रथुमको योगदान ०२८ सालको झापा विद्रोहदेखि माओवादीले गरेको १० वर्षे जनयुद्धसम्म उत्तिकै थियो । नेकपाको विभाजनसँगै त्यसको स्वामित्व कता जान्छ ? भन्ने आशंका बढिरहेका बेला पछिल्लो घटनाक्रममा आइपुग्दा प्रचण्ड–नेपाल पक्षमा नेता कार्यकर्ताको पल्लाभारी देखिएको छ । जिल्लाको समग्र नेतृत्वदेखि कार्यकर्तापंक्तिसम्मको विश्लेषण गर्दा प्रचण्ड–नेपाल पक्षमा ८० र ओली पक्षमा २० को अवस्था देखिनआउने प्रचण्ड–नेपाल पक्षका एक केन्द्रीय नेताले दावी गरे । 

तेह्रथुमबाट प्रत्यक्ष निर्वाचित सांसद भवानी खापुङ्ग प्रचण्ड–नेपाल पक्षमा लागेका छन् । उनी आफ्नो पक्ष बलियो बनाउन आफ्नो क्षेत्रका मतदातासँगको भेटघाटसँगै जिल्लाभर दौडधुपमा छन् । केन्द्रीय सदस्य तथा जिल्ला ईन्जार्ज जयन्ती राई, केन्द्रीय सदस्य तथा जिल्ला सह–ईन्चार्ज दुर्गा चापागाईंं प्रचण्ड–नेपाल पक्षका जिल्लाकै खम्बाका रुपमा स्थापित छन् । जिल्ला अध्यक्ष तथा प्रदेश सांसद लक्ष्मण तिवारीसहित जननिर्वाचित प्रतिनिधिहरु प्रायः प्रचण्ड–नेपाल पक्षमा लागेका छन् । 

नेकपाका प्रतिनिधिसभाका सामानुपातिक सांसद तथा पुराना नेता विजय सुब्बा भने प्रधानमन्त्री ओली पक्षमा खुलेका छन् ।

जिल्ला समन्वय समिति संयोजक शिव ढुंगाना, जिल्ला सचिव ईन्द्र ईमसङ्ग, पुर्व सांसद फुर्बी शेर्पासहितका नेताहरु अहिले तेह्रथुममै रहेर प्रचण्ड–नेपाल पक्ष बलियो बनाउनमा सक्रिय छन् । प्रदेशका २ सांसद भने एक–एक जना दुवैतिर बाँडिएका छन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रकाबीच पार्टी एकता हुँदा १ सय ३५ सदस्यीय जिल्ला कमिटी गठन भएको थियो । जसमा एमालेका ८२ र माओवादीका ५३ नेता थिए । अहिले पुर्व माओवादी खेमा एक ढिक्का नै छ । पुर्व एमाले पृष्ठभूमिका रहेका केही नेताहरु ओली पक्षमा खुलेका छन् । प्रतिनिधिसभाका सांसद खापुङ्गका अनुसार पुर्व एमालेमध्यबाट पनि झण्डै २० प्रतिशत मात्रै नेताहरु ओली पक्षमा लागेका छन् । केही नेताहरु निर्वाचन आयोगको निर्णय र सर्बोच्चको फैसला कुरेर बसिरहेको उनले बताए । 

जिल्लाका ६ पालिका मध्य ५ ओटामा नेकपा विजयी भएको छ । जसमध्ये अहिले एक जना ओली पक्षमा खुलेका छन् भने ४ प्रचण्ड–नेपाल पक्षमा लागेका छन् । ७ सदस्यीय जिल्ला पार्टी सचिवालय सदस्यमा ६ जना प्रचण्ड–नेपाल पक्ष १ जना ओली पक्षमा लागेका छन् । 

यसरी हेर्दा तेह्रथुम प्रचण्ड–नेपाल पक्षको ‘लालकिल्ला’ बनेको सांसद खापुङ्गले समाचार दैनिकसँग बताए । उनले भने– ‘पार्टी विभाजनको असर देशभरको जस्तै हाम्रो जिल्लामा पनि परेको छ । तर खासै ठूलो असर परेको छैन । हाम्रो पक्षमा अधिकाँश नेता कार्यकर्ता खुलेका छन्।’

जिल्ला सह–ईन्चार्ज तथा केन्द्रीय सदस्य चापागाईं नेकपाको अध्यक्ष प्रचण्ड र नेता वर्षमान पुनका निकटस्थ युवा नेता हुन् ।

समाचार दैनिकसँगको कुराकानीमा उनले भने– ‘तेह्रथुममा इतिहासदेखि अहिलेसम्म कम्युनिष्ट विचार, विधि, सिद्धान्त र कार्यशैलीको पक्षमा बलियो ढंगले उभिँदै आएको जिल्ला हो । अहिले हाम्रो पार्टीभित्र देखिएको विवाद वा बहसमा पनि हाम्रो जिल्लाका नेता कार्यकर्ता, विधि, विधान, पद्दति र कम्युनिष्ट आदर्शका पछि लाग्नेछन् । असंवैधानिक कदम चाल्ने, देशमा संविधान विरोधी गतिवधि गर्ने, पार्टीमा विधान उलंघन गर्ने, र अराजकताको अवस्था सृजना गर्ने केपी ओलीको पक्षमा लाग्दैनन् । हजारौंको बलिदानबाट प्राप्त देशका उपलव्धी जोगाउन र ओलीको प्रतिगमनकारी कदम सच्याउन हाम्रो जिल्ला ससक्त अभियानमा लागिसकेको छ ।'

'हाम्रो जिल्ला आधिकारिक हिसावले नेकपा प्रचण्ड नेपाल पक्षको लालकिल्ला हुनेमा हामी विश्वस्त छौं, कम्युनिष्ट पार्टीका साख हामी नै जोगाउछौं,' उनले थपे ।

तेह्रथुम जिल्ला प्रधानमन्त्री केपी ओली जन्मिएको जिल्ला पनि भएकाले त्यहाँ उनको पकडबारे सार्वजनिक चासो छ । ओली मात्र हैन कम्युनिष्ट आन्दोलनका आरके मैनाली, सिपी मैनाली लगायतको पनि जन्मघर तेह्रथुमै हाे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर