• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

विधिवतरुपमा सुरु भयो देवघाटकोे माघेसंक्रान्ति मेला


चितवन \ पवित्र तीर्थस्थल देवघाटको वेणीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती, गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरीसहित सन्तमहन्त, वटुक लगायत विशिष्ट व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो ।

यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवत् रुपमा लिङ्गो सहितको यात्रा वेणीमा पुगेको थियो । यससँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला शुरु भएको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार यस वर्ष बजार बन्द गरी  स्नानका लागि मात्र मेला हुने भएको हो । विभिन्न उपसमिति मार्फत मेला व्यवस्थापन गरिएको जानकारी उहाँले दिनुभयो । देवघाट आउने सवारी साधनलाई ठिमुरा, रामनगर र दासढुङ्गाबाट आउने व्यवस्था मिलाइएको छ भने फर्कंदा तिनले आँपटारीको बाटो प्रयोग गर्नेछन् । दासढुङ्गामा देवघाट जोड्ने पुल सम्पन्न भएकाले देवघाटसम्म नै सवारी साधन पु¥याउन सकिनेछ । घिमिरेले भक्तजनले सो पुल प्रयोग गरेमा हाल प्रयोग हुँदै आएको बाटोको सवारी चाप घट्ने बताउनुभयो । दासढुङ्गाबाट जाँदा चार किमी दूरीमा सवारी साधनबाट देवघाट नै पुग्न सकिनेछ ।  घिमिरेले सवारीको पार्किङ, विद्युत्, शौचालय, सरसफाइ, खानेपानीलगायत व्यवस्था भइसकेको बताउनुभयो । आपत्कालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा रहने छन् भने डुङ्गा सहितको उद्धार टोली तैनाथ भएको छ । नेपाली सेना पनि उद्धारमा जुट्ने जनाइएको छ । चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलको मर्मतसम्भार गरिएको छ । पुलमा लामबद्ध भएर जान र आउनका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएका छन् । नदीमा नुहाउन मिल्ने ठाउँहरु पहिचान गरी सीमाङ्कन गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर