• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

कलाकारहरुको खल्लो माघे संक्रान्ति 

आइल माघी रे ..चार और खुसीया छाइल रे..
छम छमनाचे ओर गाएचलो माघी मेलामा
लेहेङगा फरिया घुमाके नाचे हो शखी मघियाके तालमा

थारु जातिको माघ सङ्क्रान्ति विशेष गीतका गेडा (शब्द) हुन यि । यो गीतमा अनु, सारगम, प्रेम चौधरीको आवाज रहेको छ । भने शब्द तथा संगीत राजकुमार थारुको । 

गीतका हरफहरु जस्तै माघ सङ्क्रान्तिको रौनक हाम्रो आँगनमा छ । घर–घरमा तरुल, सखरखण्डा, घिउ, चाकु, लड्डु लगायतका परिकारका सुगन्धले मग्न भएका छन् । परिवार आफन्त साथीभाइ भेला भएर रापिलो घामसँगै स्वादिलो परिकारको आन्नद लिइरहेका छन् यतिखेर सबैले । 

माघे सङ्क्रान्तिको रौनक र महत्व अनुसारका शुभकामना सहितका गीतहरु बजारमा आउने गरेका छन् । अघिल्लो वर्षलाई हेर्ने हो भने माघे सङ्क्रान्तिको चहलपहल यो वर्षको भन्दा धेरै थियो । माघे सङ्क्रान्ति सुरु हुनु अगाडि दजनौँ माघे सङ्क्रान्ति विशेष गीतहरु सार्वजनिक हुने गरेका थिए । आफ्नो समुदाय अनुसारको कपडा, श्रृङगारमा कलाकारहरु विभिन्न ठाउँमा जम्मा भएर सांगीतिक कार्यक्रम गर्दै आएका थिए । 

कोरोना महामारीसँगै यो वर्षको माघे सङ्क्रान्ति मात्र होइन अन्य चाडपर्वको रमझममा खल्लोपन नै भएको हो । देश तथा विदेशमा माघे सङ्क्रान्ति विशेष कार्यक्रमहरु हुने गरेका थिए । ‘जहाँ नेपाली कला, संस्कृति र सभ्यता’ झल्कने गरेको थियो । यो वर्ष भने अन्य वर्षको तुलनामा माघे सङ्क्रान्ति विशेष सांगीतिक कार्यक्रम शुन्य नै रह्यो । सामाजिक सञ्जाल तथा युट्युमा सीमित मात्रामा माघे सङ्क्रान्ति सम्बन्धी गीत रिलिज भए । 

यसो त अहिल्लो वर्ष कलाकारले माघे सङ्क्रान्ति मनाएका तस्बिर सामाजिक सञ्जाललमा सेयर गर्दै शुभकामना दिएका थिए । यो वर्ष कोरोना महामारीका कारण मनोरञ्जन क्षेत्र ठप्पै छ । जसको कारण कलाकारले फुर्सदको समय बिताई रहेका छन् । सीमित कलाकार मात्र कोरोना संक्रमणको दर कम भएसँगै आफ्नो लयमा फर्किएका छन्  । 

यद्यपि, कसरी मनाउँदै छन् त कलाकारले माघे सङ्क्रान्ति ? भन्ने विषयमा चर्चित लोक दोहोरी गायिका देवी घर्तीमगर भन्छिन्– ‘मगरहरुमा माघी मनाउने ठाँउ अनुसार आ–आफ्नै प्रचलन हुन्छन् । तर यो वर्ष मेरो माघे सङ्क्रान्ति विशेष योजना भने केही बनेन् । हाम्रो बागलुङतिर माघे सङ्क्रान्ति भूजिया, खिचडी खाएर मनाउँछन् । घरमै बस्छन् मिठा–मिठा परिकार बनाउँछन् खान्छन्  । हाम्रोमा मेला महोत्सव त्यस्तो केही हुँदैन । अब माघी विशेष योजना त केही छैन त्यो पनि काठमाडौं जस्तो ठाउँमा खासै केही हुँदैन । पछिल्लो वर्षहरुमा माघी विशेष सांगीतिक कार्यक्रम हुन्थ्यो यो वर्ष कोरोनाको कारण केही भएन । त्यसैले घरमै बस्ने तरुल, सखरखण्ड, भूजिया, खिचडी खाने रमाएलो गर्ने हो ।’

सांगीतक बजारमा शुन्यता छाएको समय गायिका देवी भने टिकटकमा निकै सक्रिय देखिएकी छन् । उनी श्रीमान राजु ढकालको साथमा टिकटक बनाउन व्यस्त देखिएकी छन् । पछिल्लो समय उनको लाकदोहरी गीत ‘आउँछौ र  फेरि’ सार्वजनिक भएको छ । उनले लय भरेका गीत ‘बदला बरिलै’, ‘मञ्जरी’, ‘पन्चेबाजा’, ‘नक्कली मोरी’ लगायतका गीतहरु चर्चामा छन् । 

पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त रहेका निर्देशक तथा मोडल विरेन्द्र ओली भन्छन्– ‘हाम्रो रोल्पाको पश्चिमी क्षेत्रमा माघीको एक विशेषता  छ ।  मकै, तरुल अघिल्लो दिन पकाउने गरिन्छ । माघ पुज्जे गरिन्छ । जहाँ बच्चाहरुले घर–घरमा पुगेर मागेर ल्याउँछन् । अनि खाने गरिन्छ ।’ 

‘स्थानीयहरु एउटा ठूलो चौरमा भेला हुन्छन् । सय मिटर टाढा एउटा काठ तासेर गाड्ने गरिन्छ । त्यसलाई ‘तारो’ भनिन्छ । केटा मान्छेले गुलेली र मट्याङग्राले सय मिटर टाढाबाट रहेको काठलाई हान्ने गर्छन । उक्त मट्याङग्रा एक महिना अगाडिदेखि बनाइन्छ । त्यहाँ रहेका केटीहरुले त्यो काठ पछाडि आफ्नो इच्छा अनुसार पैसा राख्छन् । अनि जुन केटाले हानेको गुलेली लाग्छ त्यो पैसा राखेको केटीलाई उसले भगाउँछ । पहिले बन्दुकले पनि हान्ने गरिन्थ्यो, अहिले त्यो चलन हराएको छ । आज पनि हाम्रो क्षेत्रमा माघी यसरी नै मनाइन्छ । कोरोनाको प्रभाव हाम्रो तिर खासै छैन । गाउँ घरलाई यो समयमा धेरै सम्झि रहेको छु’, माघे सङ्क्रान्ति सम्झदै ओलीले भने । 

पछिल्लो समय लोक गीतमा व्यस्त रहेका निर्देशक ओली आगामी गीतको सुटिङ्गमा व्यस्त छन् । उनले बाल गायिका आयुषा गौतमको आवाजमा ‘भोटे कुकर’ बोलको गीत तयार पारिरहेको बताए । 

यस्तै चर्चित गायिका मेलीना राई भन्छिन्–‘हामी अन्य मानिसहरुले जस्तै सामान्य रुपमा माघे सङ्क्रान्ति मनाउँछौँ । परिवार आफन्त बस्छौँ रमाइलो गर्छौँ । घरमा पकाएका मिठा परिकार तरुल, घिउ, चाकु खान्छाँ । यसपालीको माघे सङ्क्रान्तिमा पाँचथरको फिदिम भन्ने ठाउँमा कार्यक्रम परेको छ । खास योजना केही छैन । कायक्रममा सहभागी हुने रमाइलो गर्ने हो ।’

गायिका मेलिनाको पछिल्लो समय रिलिज भएको गीत ‘सीमकार्ड भएपनि चल्छ’ चर्चामा छ । धेरैले उनको गीतमा टिकटक बनाएका छन् । उनको ‘तिम्ले बाटो फेरेउ अरे, सखर चिनी, फुलफूलको बन, गलबन्दी पछ्यौरी, नाँच बाटुली, लगायतका गीतहरु चर्चामा छन् ।

नेपालमा कोरोना संक्रमितको संख्यामा कम आए पनि यो वर्ष माघे सङ्क्रान्ति विशेष खासै केही कार्यक्रमहरु आयोजना गरिएका छैनन् । यसै क्रममा हास्यकलाकार वील्सनविक्रम राई (तोक्मे बुढो) भन्छन्– ‘माघी विशेष भनेर कुनै पनि वर्ष खासै केही योजनाहरु बनाउने गरेको छैन । अघिल्लो वर्षहरुमा माघीका कार्यक्रमहरु हुन्थे । दर्शकलाई हँसाउन विभिन्न ठाउँमा पुगिन्थ्यो । यो वर्ष कोरोना महामारीका कारण खासै कार्यक्रमहरु आयोजना भएनन् । घरमै परिवार आफन्तको साथमा बस्ने मिठा परिकारहरु बनाउने खाने रमाइलो गरेर माघी मनाउने तयारी गरेको छु ।’

वील्सनलाई विशेष गरी दर्शकले उनका फ्यानहरुले ‘तोक्मे बुढो’ भनेर चिन्ने गर्छन । उनी अहिले ‘तीनपाते माया’ म्युजिक भिडियोमा व्यस्त रहेका छन् । उनले सेल्फी खिचौला ए माया, भैयो नि पुरानो, सुँगुरे माया, खुर्सानी डल्ले लगायतका म्युजिक भिडियोमा अभिनय गरेका छन् । सेन्टी भाइरस, छक्का–पन्जा, सकस लगायतका फिल्ममा उनले सशक्त अभिनय गरेका छन् ।

कोरोनाकालमा फिल्महलहरु बन्द भए पनि संख्यात्मक रुपमा धेरै म्युजिक भिडियोमा भने बहार छायो । अभिनेता तथा अभिनेत्रीहरु म्युजिक भिडियोको अभिनयमा देखिए । यसै क्रममा अभिनेत्री तथा मोडल लक्ष्मी बर्देवा भन्छिन्– ‘माघी विशेष भनेर आजसम्म मैले केही योजना बनाएको छैन । हामीहरुले विशेष कार्यक्रम तथा भेटघाट गर्ने गरेका छैनौँ । त्यो दिन मेरो एक म्युजिक भिडियोको सुटिङ परेको छ । म त्यसमा नै व्यस्त हुन्छु ।’ 
उनले जेल पनि सहूँला, सिक्दन म त, परानै दिन्छु–२, हाँसेको छैन, चाकान चुकुन लगायतका म्युजिक भिडियोमा अभिनय गरेकी छन् । 

धेरै कलाकार कोरोना संक्रमण कम भएसँगै कर्म थलोमा फर्किएका छन् । म्युजिक भिडियो फिल्मका छायाङ्कनमा लागेका छन् । अहिलेको चर्चित मोडल रियाशा दाहालको भने घरमा जुठो परेको छ । यसै वर्ष हजुरबुवाको निधन भएकाले माघे सङ्क्रान्ति नभएको बताईन ।

‘म अघिल्लो वर्षहरुमा मामा माइजुहरुले बोलाउनु हुन्थ्यो । मामा घर जान्थ्यौँ । बिहान घरमा घिउ, चाक्कु, तरुल लगायतका परिकार दिनु हुन्थ्यो । दिउँसो घरका सबै जना घरको छतमा बसेर तेल लगाउँथ्यौं । त्यसरी तेल लगाउँदा सर्दी भाग्छ भन्ने मान्यता छ । रमाइलो गरिन्थ्यो विभिन्न परिकार मासु भात पकाएर खाइन्थो । यो वर्ष यि काम हुँदैन’, रियाशाले समाचार दैनिकसँग भनिन् ।  

म्युजिक भिडियोमा व्यस्त रियाशाले अभिनय गरेका गीतहरुमा तिमी बाहेक मेरो कोही छैन, मुना, कुरा काट्ने मान्छेले काटुन, ए है माया, लप्सी अचार चर्चामा छन् । 

त्यस्तै गायक तथा संगीतकार आसुतोष राई भन्छन्– ‘हामी पनि अन्य मानिसहरुले जस्तै सामान्य तरिकाले माघे सङ्क्रान्ति मनाउँछौँ । मेरो गाउँ त संखुवासभाको मकालु गाउँ पालिका–२ सेदुवा हो । केही वर्षदेखि काठमाडौं बस्दै आएको छु ।  यो वर्षको माघे सङ्क्रान्ति गाउँमा जस्तै गरी तरुल, सेलरोटी पकाएर पारिवारिक भेटघाटका साथ खानपिन गरेर मनाउने योजना छ । गाउँमा मनाइने माघे सङ्क्रान्ति जस्तो रमाइलो यहाँ हँुदैन ।’ अहिले उनी म्युजिक भिडियो बनाउने काममा व्यस्त छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर