• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

थारु जातिको नयाँ वर्ष अर्थात् माघ सङ्क्रान्ति

काठमाडौं । थारु जातिले ‘माघी’ भन्दैनन् । यो ‘माघी’ शब्द पन्ध्र÷सोह्र बर्ष पहिला काठमाडौंमा महोत्सव मनाउँदा प्रयोगमा ल्याइयो । त्यही महोत्सवदेखि ‘थारुको माघी’ भन्न थालियो । काठमाडौंको महोत्सवले ‘माघी’ बनाएको भनेर थारु समुदायका अगुवाहरु यो शब्दप्रति असहमत छन् । थारु समुदायमा धुमधामले मनाइने यो पर्व, ‘माघी’ नभएर ‘माघ सङ्क्रान्ति’ हो । ‘माघी’ होइन माघ भन्नुपर्ने तर्क थारु समुदायका अगुवाको धारणा छ ।

 अहिलेपनि थारु बाहुल्य समुदाय अथवा बस्तीमा माघ संक्रान्ति नै भनिन्छ । माघलाई अपभ्रंस गराइएकाले यसलाई माघ संक्रान्ति भन्नु पर्ने दाबी थारु समुदायको अनुसन्धान गर्दै आएका छवि कोपिला बताउँछन् ।

थारु समुदायले सबै कुराको सुरुवात माघबाट हुन्छ । घरमुली चुन्छ । बडघर चुन्छन् । वैद्यहरु जसलाई गुरुवाका रुपमा पुज्छन्, जो व्यक्ति तन्त्रमन्त्र जानेको हुन्छ । उपचार गर्छ । देशबन्धियाले जिल्ला यो चलाउँछ, जो संरक्षकको भूमिकामा हुन्छ । केही गाउँ हेर्नेलाई केसवा गुरुवा र एक घरको मात्र संरक्षकलाई घरगुरुवा भनिन्छ । गुरुवाले जिल्ला, गाउँ घर संचालन गर्छन । उनैले उपचारदेखि संरक्षकत्वसम्म लिने गरेको पत्रकार लक्कि चौधरी बताउँछन् । चौधरी भन्छन्– ‘माघ थारुहरुको नयाँ वर्ष हो । यो दिनबाट थारुहरुको सबै काम नयाँ तरिकाबाट थालनी हुन्छ । थारु समुदायमाले सबै नियुक्ति माघमै हुन्छ ।’

माघलाई थारुहरुले दुई तरिकाले अनुसरण गर्छन् । एक नयाँ वर्ष र अर्को आर्थिक वर्षको रुपमा । दुवै कुराको महत्व बराबर रहेको कोपीला बताउछन् ।

कोपीला भन्छन्– ‘माघलाई नयाँ वर्षको रुपमा पनि मनाउँछांै । आर्थिक वर्षको रुपमा पनि मनाउँछांै । वर्षभरि के काम गर्ने, के के मा खर्च गर्ने भन्ने यही दिनदेखि सुरु हुन्छ ।’

पुस मसान्तको दिन थारुहरुले सुँगुर काट्ने चलन छ । यसलाई सुँगर मर्ना भन्छन् । पुस मसान्तको दिन सबैको घरमा मासुको व्यस्था गर्ने । टोलटोलमा सुगुर काट्ने गर्छन । यही  दिन नयाँ कपडा लगाउँछन् । केटाकेटीहरु मामाघर जान्छन । पुस मसान्तको राती बडघरमा रातभरी जाग्रम बस्छन् । आगनमा ठूला–ठूला मुढा बालेर आगो ताप्ने रातभरी नसुतेर बस्ने चलन छ । पुस मसान्तको रातभर जाँड, सुँगुरको मासु खाने चलन छ । धमार र धुमुर गाउँने गर्छन् । धुन अलि फरक हुन्छ लय एउटै हुन्छ ।

माघ १ गते बिहान उठेर खोला, तलाउ, नदीमा गएर नुहाउँने गर्छन । माघ १ गते भने कुनै पनि जीव जनावारको हत्या गर्दैनन् । पाप लाग्छ भन्ने मान्यता उनीहरुमा छ । बिहान नुहाउँदा पहिला नदी नालाबाट पानी किन्ने चलन रहेको चौधरी बताउँछन् । उनले भने– ‘वर्षभरिको पाप पखाल्ने मान्यता छ । यो दिन नुहाउँदा खोला, नाला नदी तलाउबाट पानी किनेर नुहाउँछन् । पानीमा पैसा, सिक्का फालेर पानी किन्ने चलन छ ।’

नुहाएर घर आएपछि दाल, चामल र नुन छुट्याउाछन् । यसलाई थारु भाषामा मिर्साउ भन्छन् । यो मिर्साउ छोरी, बहिनीलाई दिइन्छ । छोरी, बहिनीलाई दिँदा पाहुर भन्छन् । छोरी, बहिनीलाई दिइने पाहुरमा दाल, चामल नुन हुन्छ ।

टीका लगाएर बिहानदेखि जेठोबाठोबाट आर्सिवाद लिने चलन छ । सबैले जेठाबाठोलाई ढोगभेट गर्ने चलन छ । त्यसपछि मासु लगायतका मिठा परिकार खाने चलन रहेको कोपीला बताउँछन् ।

थारुहरुको ढिकरी सबै चाँडबाडमा खाने चलन छ । यो ढिकरी चाड पर्व अनुसार फरक हुन्छ । माघमा लामो ढिकरी बनाइन्छ । यो लामो बनाउनुको कारण माघबाट दिन लामो हुन्छ भन्ने धारणा छ । अर्को लामो ढिकरी खाँदा मान्छेको आयु बढ्छ भन्ने जनविश्वास रहेको कोपीला बताउँछन् ।

थारु समुदायमा पछिल्लो समय बंैक खाता समेत माघमा खोल्छन् । थारु समुदायमा माघ १ गतेलाई ‘स्वतन्त्र दिन’का रुपमा समेत लिन्छन् । त्यसकारण १ गते माघमा थारुहरुले गाइवस्तु सबै खुल्ला छोड्थे । त्यो दिन सबै स्वतन्त्र हुनु पर्छ भन्दै वस्तुभाउ छोड्ने गरेको कोपीला बताउँछन् ।

कोपीला भन्छन्– ‘मानिसमात्र होइन, वस्तुभाउ पनि स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता छ । वस्तुभाउले नोक्सान गरेपनि सबैलाई स्वतन्त्र हुनुपर्छ भनेर छोड्ने चलन थियो । अहिले भने यो चलन छैन ।’

२ गते खिचरवा भन्ने हुन्छ । यो दिन प्रत्येक घरमा मासको खिचडि पकाउँछन् । सबैले त्यही खिचडि खाने चलन छ । यो दिन घर सल्लाह गर्छन । सल्लाहमा वर्षभरि कामको बाँडफाँड गर्छन । भाइको अंशबन्दा गरेर  सल्लाहमा छुट्टिन समेत यही समयमा निर्णय हुन्छ ।

कोपीला भन्छन्– ‘माघमै छुट्टिने चलन थियो । कमैया लाग्न जाने चलन पनि यही थियो । जुन साहूको घरमा कमैया बस्ने हो, त्यो साहूको घरमा रक्सी लिएर जाने चलन थियो ।’

कुन भाइ कमैया बस्ने कुन भाइ घरमा बस्ने ? कुन साहुको घरमा जाने सबै कुरा २ गते सकिन्थ्यो । छोड्ने साहूलाई पनि यही दिन जानकारी दिने चलन थियो । कमैया बस्दा स–परिवार समेत बस्ने चलन थियो । मालिकको घरमा काम गर्न जाँदा पुरानो मालिकको ऋण तिरेर मात्र लिन पाउँथे । कमैयाहरुले लिएको ऋण कट्टा हँुदैन थियो । ब्याजको सट्टा काम गर्नुपथ्र्यो । त्यो पनि घर–परिवार काम गर्दा पनि ऋण भने कहिल्यै कट्टा हुँदैन थियो । ऋण भने सधै यथावत् नै रहन्थ्यो । जुन कुरा अहिले भने अन्त्य भएको छ । 

३ गते  गाउँभरिको बसार्इं हुन्छ । यो दिन पहिलो काम बडघर चुन्ने हुन्छ । वर्षदिनको समिक्षा गरेर बडघर चुन्छन् । यो दिन बडघर चुन्नेमा खेतिपातिसँग पनि जोडिन्छ । सँगै खेतिपाति गर्ने सबैले एक बडघर चुन्छन् । खेतिसँगै गर्ने सबै समूहको एक बडघर हुन्छ । यो बडघर खेतिपातिसँग जोडिन्छ । अहिले भने टोल–टोलमा पनि अध्यक्ष बनाएका छन् । पहिले झलारी पनि हुन्थ्यो । झलारीले विवाह, बर्तबन्ध, मृत्यु संस्कारमा काम गर्थे । अहिले भने त्यो कम भएको छ ।

बडघरले भनेको काम सबैले मान्नु पर्छ । उसैले न्याय निसाफ पनि गर्छ । कामको बाँडफाँड गर्छ । बडघरले भनेको सबैले मान्नु पर्ने हुन्छ । यो थारु समुदायको राज्य संचालनको अभ्यास भएको चौधरी बताउँछन् ।

३ गते नियम कानुन बनाउँछन् । साना बालबच्चाले र गाईवस्तुले बाली नोक्सानी गरे कति तिराउने भनेर नियम बनाउँछन् । यो दिन गाउँमा कसले के काम गर्ने भनेर कामको विभाजन समेत गरिन्छ ।

कुलो हेर्ने अघारी छान्छन् । यो कुलो खन्नेहरुको अगुवा हो । चौकीदार राख्ने चलन थियो । ३ गते वर्षभरीको कामको समिक्षा हुने दिन हो । नयाँ वर्षका लागि कार्ययोजना बनाएर लागू गर्न सुरु गर्ने दिन भएको कोपीला बताउँछन् ।

कामको बाँडफाँडसँगै बडघर, चौकीदार, अघारीलाई काम गरेको परिश्रम जिन्सी दिने चलन थियो ।

अहिले थारु समुदाय भएको ठाउँमा धुमधामसँग माघ संक्रान्ति मनाइन्छ । यो उनीहरुको प्रकृतिसँग जोडिएको चाँड हो । उनीहरु वर्षभरि गर्ने कामको पूर्व योजनादेखि आर्थिक रुपमा के कसरी गर्ने भनेर योजना बनाउँछन् । पछिल्ला वर्षहरुमा राजधानीमा थारु समुदाय जम्मा भएर टुँडिखेलमा महोत्सवका रुपमा मनाउने चलन छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर