• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

मगर जातिको ‘माघे सकराती’

काठमाडौं । अठार मगर बाहुल्य क्षेत्रमा रहेको माघे सकराती (अठार मगर क्षेत्रमा स्थानीय बोलिचालिमा माघे सकराती भन्ने चलन छ ।) । सरकारले वार्षिक सार्वजनिक बिदाबाट माघ १ गते हटाएको छ । मन्त्री स्तरीय निर्णयबाट माघ १ गते सार्वजनिक विदा दिने घोषणा गर्दै आएको छ ।

०६५ सालमा सरकारले माघ १ अर्थात् माघे सङ्क्रान्तिलाई राष्ट्रिय पर्वको मान्यता दिएको हो । यद्यपि रोल्पा, रुकुम, बागलुङ लगायतका क्षेत्रमा मगर समुदायले परापुर्वदेखि माघे सङक्रान्तिलाई धुमधामका साथ मनाउँदै आएका छन् । भाषा तथा संस्कृति अभियान्ता बमकुमारी बुढा मगरका अनुसार धेरै आदिवासी जनजातिले माघ १ देखि अर्को पुस महिनासम्मलाई एक आर्थिक वर्ष मान्ने चलन रहेको बताउँन् ।

‘माघे सकरातीमा जौँ, पँधेरा, घरको मुल खम्बा, चुल्होको पूजा गरिने यस चाड प्रकृतिको पूजा गर्ने मुख्य पर्व हो’, बुढाले भनिन् । माघे सकरातीको एउटा महत्वपूर्ण र अनिवार्य कुरा हो ‘तरुल’ । विभिन्न प्रजातिका तरुलहरु सकराती भन्द हप्ता–दश दिन अगाडिदेखि जमिन मुनीबाट निकाल्ने अथवा बनबाट खाजेर जोहो गर्नैपर्छ ।

माघे सकराती भनेकै तरुलको पर्व जस्तै हुन्छ । उनले भनिन– ‘कृषि युग सुरु नहुँदासम्म अन्नको उत्पादन हुन्थेन त्यसकारण आदिम सभ्यतामा बनको कन्दमुल खाने भएको हुँदा तरुल, गिठ्ठा, दाल, पिँडालु, माछा, मासुको शिकार गर्ने गरिन्थ्यो । परिवार, पाहुनासँग खाने रमाइलो गर्ने तथ्य भेटिन्छन् ।’

यो पर्वको चाखलाग्दो भनाई छ– ‘पुसमा पकाएको माघ महिनामा खानुपर्छ’ भन्ने मान्यता  ।  त्यसैअनुरुप माघको अघिल्लो दिन बेलुका पुस महिनाभित्रै तरुल, पिडालु, सिमी, बोडी लगायतका गेडागुडी पकाएर राख्ने चलन मगर समुदायमा छ ।

अर्को दिन अथवा माघ १ सकराती बिहानै पुस महिनामा पकाएका तिनै परिकारहरु सँगै चामल र रोटीसँग छोरी चेलीहरुलाई पुज्ने गरिन्छ । छोरी चेलीलाई पुज्न उसिनेर तयार पारिएको तरुल, गेडागुडी, चामल र रोटीको मिश्रणलाई मिश्रा भनिन्छ । त्यही मिश्रासँगै गक्ष अनुसारको दक्षिणा राखेर चेली पुजिने हुँदा मगर समुदायमा माघे सकरातीलाई छोरी–चेलीको पर्व पनि भनिन्छ ।

यो चाड मगर समुदायमा दाजुबहिनी दिदीभाइ बिच सम्बन्ध, मायाको चाडका रुपमा लिइने संस्कृति अभियान्त बुढा बताउँछिन् । वंशभित्रका छोरीकासाथै विवाह गरेका दिदी बहिनीहरुलाई माइती नआएको खण्डमा विवाह भएको घर गाउँसम्मै पुगेर मिश्रा बाडिन्छ ।  

सकरातीको दिन बिहानै उठेर नजिकैको नदी, कुवा अथवा धारा गई नुहाएर फर्केका चेलीहरुलाई बुवा, आमा, मान्यजन तथा दाजुभाइबाट पुजिएपछि उनीहरु गाउँ निस्कन्छन्, मस्यान्द्रा माग्न । घर–घरमा पुगेर चामल, रोटी, तरुल आदि खाने कुरा जम्मा गर्ने चलनलाई ‘मस्यान्द्रा खेल्ने’ भनिन्छ । जम्मा भएको सामग्रीले युवतीहरु समय मिलाएर एक दिन बनभोज गर्छन् ।

मौलिक धनुष निर्माण र प्रयोग बढाएर सीप, मौलिकता हराउँदै गएको चिन्ता व्यक्त गरिन बुढाले । परम्परा जोगाउने सन्र्दभ औंल्याउँदै उनले भनिन्– ‘आधुनिकतासँगैको परनिर्भरतालाई दुरुत्साहित गरिनु पर्दछ । यसतर्फ सबैको ध्यान दिएर अभियानकै रुपमा अघि बढ्नुपर्छ ।’

यस पर्वको अर्को विशेषता हो ‘तारो हान्ने’ । तारा खेलमा युवाहरुलाई दक्ष बनाएको खण्डमा उनीहरुले राम्रो निशाना हान्न सक्ने हुनाले यो परम्पराको थालनी भएको उनी बताउँछिन् । बुढाले भनिन्– ‘गर्मीयाममा जंगली जनावरहरु रुखको छायाँमा बस्न अथवा पानी पिउन आएको बेला शिकारलाई सही निशाना लगाउन प्रशिक्षण दिएको हो । यसैका लागि पहिले पुर्खाहरुले तारो हान्ने प्रतिस्पर्धा माघे सकरातीको अवसरमै पारेका हुन् ।’

गाउँको ठूलो चौरमा गएर युवा एवं पुरुषहरुले तारो हान्ने चलन हुन्छ । पहिले गाउँघरमै हातले बनाइने धनुष वाँणले तारो हान्ने चलन थियो । अहिले समयको विकासक्रमसँगै धनुष वाँण र तारो लगाउने बस्तु आधुनिक शैलीका प्रयोग भएको देख्न पाइन्छ । पुराना शैलीका धनुष वाण लोप हुँदै गएका छन् ।

मौलिक धनुष निर्माण र प्रयोग बढाएर सीप, मौलिकता हराउँदै गएको चिन्ता व्यक्त गरिन बुढाले । परम्परा जोगाउने सन्र्दभ औंल्याउँदै उनले भनिन्– ‘आधुनिकतासँगैको परनिर्भरतालाई दुरुत्साहित गरिनु पर्दछ । यसतर्फ सबैको ध्यान दिएर अभियानकै रुपमा अघि बढ्नुपर्छ ।’

मगर समुदायले परम्परादेखि  मनाउँदै आएको माघे सकराती पर्वलाई पछिल्लो समयको पुस्ताले थप महत्वकासाथ परिस्कृत गर्दै आएको छ । मेला भेरर मनाइने यो पर्व अहिले महोत्सव आयोजना गरेर यस चाडका परम्परा, परिकारसंस्कृतिलाई संरक्षणतर्फ पछिल्लो युवा पुस्ता लागेको देखिन्छ ।

पहिचानको जागरणसँगै यस खाले साँस्कृतिक मेला, पर्व, महोत्सवहरुले परम्परागत रिती रिवाज, चाल÷चलन संस्कृति पुस्ता हस्तान्तरणमा सहयोगी भूमिका खेलेको मगर अगुवाहरुको विश्वास गरेको उनले बताइन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर