• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अझै पिसिआर परीक्षणबाट बञ्चित छन् बाग्लुङका सर्वसाधारण

बाग्लुङ् । कोरोना भाइरस महामारी सुरु भएको एक बर्ष वित्दापनि  बागलुङमा पिसिआर प्रयोगशाला स्थापना भएको छैन ।  सरकारले गत असार १२ गते धौलागिरि अस्पतालमा पिसिआर प्रयोगशाला राखेर बागलुङमै कोरोना परीक्षण गर्ने  निर्णय गरेको थियो । निर्णय भएको छ महिना बित्दा सक्दासमेत पिसिआर प्रयोगशाला स्थापना नभएको हो ।

प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको तीन महिनापछि गत कात्तिक २७ गते पीसिआर मेसिन खरिदका लागि बोलपत्र आह्वान गरिएको थियो । बोलपत्र गरिएको दुई महिना पूरा हुँदासमेत पिसिआर प्रयोगशाला निर्माणको अझै टुङ्गो लागेको छैन । धौलागिरि अस्पतालले पिसिआर निर्माणमा गरेको ढिलाइप्रति नागरिकको तीव्र गुनासो र आलोचना छ । उनीहरुले कोरोना भयावहका बेला फास्ट ट्र्याकबाट काम गर्नुपर्नेमा महिनौं लाग्ने गरी ढिलाई गरिनु दुःखद र लापरवाही भएको बताएका छन् । सरकारले बजेट पठाउँदा समेत प्रयोगशाला स्थापना हुन नसक्नु लज्जास्पद विषय भएको अधिकारकर्मी राम शर्माले बताए । “जुन बेला बागलुङमा कोरोना भाइरस सङ्क्रमणको अत्यन्तै भयग्रस्त अवस्था थियो, त्यतिबेला १५ दिन रिपोर्ट कुर्नुपर्ने अवस्था थियो, अहिले पनि कोरोनाकै कारण ज्यान गुमाइरहेका घटना छन्” शर्माले भने “अहिले परीक्षण र सक्रिय सङ्क्रमित कम हुँदा पोखराबाटै एकै दिनमा रिपोर्ट आउने अवस्था भइसक्यो, यहाँ यस्तो संवेदनशील विषयमा पनि धेरै ढिलाइ गरिएको छ । अब खोप र पिसिआर मेसिन सँगसँगै आउला जस्तो छ ।”

निर्णय भए पनि तीन महिनासम्म बजेट नआएको र ढिला बजेट आएपछि खरीद प्रक्रियामा जाँदा समय लागेको अस्पतालले जनाएको छ । नेपाल सरकारले अस्पताललाई तीन महिनाअघि पिसिआर मेसिन खरिद गर्नका लागि रु एक करोड पठाए पनि बजेट अपर्याप्त भएको भन्दै खरीद प्रक्रियामा जान सकेको थिएन । धौलागिरि अस्पतालमा पिसिआर मेसिन खरीद गर्न रु एक करोड लाग्ने भएपनि प्रयोगशाला व्यवस्थापनका लागि पर्याप्त बजेट नभएपछि पिसिआर ल्याब व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारले रु ४० लाख विनियोजन गरेको थियो ।  त्यसपछि मात्रै धौलागिरि अस्पतालले पिसिआर मेसिन खरीद र प्रयोगशाला बनाउन प्रक्रिया थालेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर