• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

आकाशतिर फर्किएर थुक्यो भने के हुन्छ प्रधानमन्त्रीज्यू ? 

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यदेवी भण्डारीले गत पुस ५ गते गरेको प्रतिनिधि सभाको विघटनसंगै नेकपा विभाजनको बिन्दु सम्म पुग्यो । प्रतिनिधि सभाको विघटन पछाडी नेकपा प्रष्ट रुपमा दुुई धारमा बाँडियो । एउटा ओली खेमा र अर्को प्रचण्ड नेपाल खेमा । जुन दुई खेमा अहिले आरोप प्रत्यारोपमा उत्रिएका छन् । प्रचण्ड नेपाल पक्ष प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै प्रतिनीधी सभा पनर्स्थापनाको मागसहित सडकमा उत्रिएको छ । प्रधानमन्त्री अर्थात ओली समूहले आफ्नो कदम पूर्ण रुपमा संवैधानिक भएको ठोकुवा सहित विभिन्न भेलाहरु गरिरहेको छ । यि दुई समूह यसरी आरोप प्रत्यारोपमा उत्रिए कि जहाँ राजनैतिक संस्कार र मर्यादाको सीमा कहि कतै देखिदैन । 

विशेषतः प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसिन व्यक्तिले प्रयोग गर्ने भाषा र शैली देख्दा यदि लज्जास्पद लाग्छ कि उहाँमा कुनै राजनैतिक संस्कार नै छैन । प्रधानमन्त्री ओलिले प्रयोग गर्ने भाषा व्यक्तिगत गाली गलौजका निम्न स्तरका शब्द जुन पदी मर्यादा विपरीत देखिन्छ । हुनतः हाम्रा प्रधानमन्त्रिले जे पनि बोल्न भ्याउनु हुन्छ, भन्ने कुरा उहाँले कोरोनाको औषधी बेसार पानी लगायतका विषयले प्रष्टै भै सकेको विषय हो । पछिल्लो समय ओलिलेले प्रयोग गर्ने शब्दले व्यक्तिगत रुपमै कसैलाई गाली गलौज गरेको प्रष्ट बुझ्न सकिन्छ । जुन शब्दहरु सुन्दा निकै तल्ला स्तरका लाग्ने गर्छन् ।

प्रधानमन्त्रीज्यू, हुनतः तपाईको भाषामा ५४ वर्षे केटो हुन्छ भने म त ३४ वर्षे बालिका नै होला । तर तपाईले भन्दैमा म बालिका बन्न सक्दिन ।
 
जनताले जिताएर त्यहाँसम्म पुगेको तपाई यसरी सन्किनु भयो कि आज देशमा अस्थीरता र अन्यौलता मात्रै छ । तपाई भन्नुहुन्छ म जनतालाई हसाँउने मान्छे हो । प्रधानमन्त्रीज्यू तपाईका अगाडी तपाईका उखान टुक्का सुनेर परर.... ताली मार्ने मात्रै हुन जनता भनेका ? प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेको मान्छे के बोल्नु हुन्छ या हँुदैन भन्ने संस्कार तपाईमा दुर दुर सम्म पनि देख्दिन । हुन त म नाथे बालिकाले तपाई जस्तो विद्दानलाई सिकाउने हैसियत राख्दिन । तर पनि प्रधानमन्त्रि जस्तो देशको अभिभावकले उल्का उल्का बोलेर स्टेज अगाडीका मानिस हसाउनु भन्दा बाँकी ३ करोड नेपालीलाई हसाँउने कोशिस गर्नुस् । 

प्रधानमन्त्रीज्यू, आकाश तिर फर्केर थुक्यो भने के हुन्छ ? थाहा नै होला हैन र । हो जनताले यतिबेला तपाई आकाशतिर फर्केर थुकिरहनुभएको महशुस गरेका छन् । अर्को कुरा तपाइ यति धेरै उखान टुकाको भण्डार भएको व्यक्ति तपाईलाई थाहा नै होला स्वास्नीको रिसले घरमा आगो लगाउँदा के हुन्छ ? ठ्याक्कै त्यहि उखान तपाईमा लागु भैरहेको छ यतिबेला ।

तपाई भन्नुहुन्छ मेरा त कोहि सन्तान नै छैनन् मलाई के को लोभ लालचा भनेर तपाई हृदयमा हात राखेर मनन गर्नुस तपाईलाई कुर्सीको लोभ नभएको भए आज देशमा यो स्थिती आउने थियो र  ? अनि अर्को भनाई पनि छ नि नाच्न नजान्ने आँगन टेडो तपाईले अहिले आफ्नै पार्टी भित्रका मान्छेले काम गर्न नदिएको कुर्तक गरिरहनु भएको छ । जुन सन्दै हास्यास्पद लाग्छ । प्रधानमन्त्री ज्यु तपाई अरुलाई नराम्रो बनाएर आफु राम्रो बन्ने कोशिस गर्दै हुनुहुन्छ । जुन बचपना हो । संविधानले दिएको पाँच वर्षे कार्यकाल टिकाउन नसक्ने तपाई फेरि बिचमै चुनावको रडाको लिएर कुन मुखले जनताको घर दैलोमा जाने सोच गर्दै हुनुहुन्छ ? 

हामी जस्ता युवाले सोचेका थियौ देशमा गणतन्त्र आयो वाम गठबन्धनको बहुमतको सरकार बन्यो अब त केहि होला । देशमा शुसासन , रोजगारीको सृजना , विकास, निमार्ण होला, देश सम्बृद्द बन्ला भन्ने कत्रो आशा थियो ।  प्रधानमन्त्रीज्यू हामीलाई के थाहा देशमा गणतन्त्र त कागजको खोस्टामा मात्र आएको रहेछ । तपाईको हठले आज देश भड्खालो तिर जादै छ । तपाईको निजी राजनैतिक स्वार्थको असर नेपाली जनताले भोग्नु परेको छ ।

हुनत तपाइ यति हठी मान्छे हो की तपाईको नजरमा जनता भनेका तपाईको पक्षका कार्यकर्ता मात्र हुन् । बाकी सब को हुन् प्रधानन्त्रीजू ? प्रधानमन्त्री ज्यु तपाईको आँखामा भएको चस्माले आफु सहि बाँकी सब गलत देख्दो रहेछ । तपाईको कदमको विरोधमा देशमा आन्दोलन चकर्दो छ । हजारौ लाखौ जनता सडकमा उत्रिन थालेका छन् तर तपाईको नजरले दुइ चार सय मान्छे मात्रै देख्छ । हुनत संवैधानिक इजलासमा विचाराधीन मुद्धाकै रुपमा रहेको तपाईको कदम संवैधानिक या असंवैधानिक  फैसला पछि मात्र थाहा होला तर तपाईले जनमतको उपहास गरेको कुरामा भने दुईमत हुनै सक्दैन ।
 
सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारा अहिले दुखि नेपालीमा परिणत भएको छ । स्थानीय तहदेखि केन्द्रिय तहसम्म दुइ गुटको राजनीति सुरु भएको छ । जनप्रतिनीधीहरु राजनितीक रुपमा विभाजित भएका छन् । यस्तो अवस्थामा देश कताबाट सम्वृद्ध बन्न सक्छ ?
  
देश कोरोनाको असरले थिलो थिलो परेको अवस्थामा प्रतिनीधी सभाको विघटनले उठ्नै नसक्ने अवस्थामा पुगेको छ । कारोनाको असरले देशाके आर्थिक तथा सामाजिक गतिवधी झण्डै नौ महिना पछाडी विस्तारै चलायमान हुने अवस्थामा थियो तर फेरि प्रतिनीधी सभाको विघठनले देशमा अस्थिरता छाएको छ । तर पनि प्रधानमन्त्रीज्यू तपाइको मुहारमा कुनै ग्लानी भाव देख्दीन ।
 
 भनिन्छ सत्ताको नशा अनौठो हुन्छ रे कतै तपाईमा त्यहि नशाको मात चढेको त होइन ? लाग्छ तपाई भन्दा त मेरी ६ वर्षे छोरीले अरुलाई आदरको भाषा प्रयोग गर्ने संस्कार सिकेकी छ । तपाईले आफुले अरुलाई मुखमा जे आयो त्यहि बोल्दिने अनि अरुबाट आदरको आशा राख्ने ?यो कस्तो अनौठो बानी ? तपाई उमेर र पदले पाको मान्छे आफुले गरेको भाषण बेलुका निवासमा पुगेर पढ्दा, सुन्दा र हेर्दा तपाई आफैलाई ग्लानी महसश हुनुपर्ने होइन र ? 

हो प्रधानमन्त्रीज्यू तपाईको भाषणले दुई मिनेट पक्कै हसाउँछ तर देश हसाँएर मात्रै चल्ने भए देश चलाउने जिम्मा हाँस्य कलाकारहरुलाई दिदा हुदैन र ? प्रधानमन्त्रीज्यू देशको अभिभावकीय पदमा आसिन तपाई जस्तो मान्छे शब्दको चयन गरेर बोल्दा राम्रै होला । र अर्को कुरा जनता तपाईको उखान टुक्काले होइन तपाईले देश र जनता प्रति बफादार भएर गर्ने कामले खुशी हुन सकुन् ।  हामी जस्ता युवा देशमा भैरहने राजनैतिक अस्थिरताका कारण देशलाई धिकार्दै परायाको भुमीमा श्रम बेच्न जानुपर्ने वातावरणको सिर्जना नहोस् ।                                                         

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर