• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

प्रचण्डका राजनीति गुरु: कम्युनिष्ट आन्दोलनका सतिसाल ‘काजीबा’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का राजनीति गुरु हुन खम्बासिंह कुँवर । कुँवरको हिजो ९४ बर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाव थैलीको प्रोस्टेटलगायत रोगहरुसंग जुधी रहेका थिए । एक हप्ता पहिलादेखि उनलाई चितवनको अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो । 

१० वैशाख विसं १९८४ मा लमजुङको थानसिंह बाङग्रे गाविस ७ मा जन्मेका थिए खम्बासिंह । उनका बुबा ललितजंग कुँवर र आमा पुतली कुँवर हुन । उनी २७ बर्षको उमेरमा कम्युनिस्ट पार्टीको सदस्य भएका थिए । उनले २०११ सालमा लमजुङमा नै कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । उनलाई कम्युनिस्ट पार्टीको सदस्य गुणबहादुर गुरुङले बनाएका थिए ।

बसाइसराइको क्रममा उनको परिवार २०१५ सालमा चितवन झरेको थियो । कम्युनिस्ट विचारप्रति प्रतिबद्ध कुँवरले आफ्नो जीवन सधै पार्टीमा लगाए ।  आफुसंग भएको सवै सम्पति पनि पार्टी काममा सके । 
काजी बा का नामले चर्चित खम्बासिंहको निधनबाट आफू मर्माहत भएको कुरा अध्यक्ष प्रचण्डले उल्लेख गवरेका छन् । हिजै चितवनको दाहसंकार गरिएका काजीबाको शवलाई काँध हाल्न प्रचण्ड समेत पुगेका थिए । यसबाट पनि प्रचण्डको काजीबा प्रतिको सदभाव र श्रदा प्रष्ट हुन्छ । 

शोक वक्तव्यमा प्चण्डले भनेका छन्,नेपाली जनताको मुक्ति र सबै खाले प्रतिक्रियावादका विरुद्ध लड्ने नेपाली कम्युनिष्ट आन्दोलनका अविचलित नेता तथा हाम्रो पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य कमरेड खम्बासिंह कुवँर ९काजी बा० को असामयिक निधनको खबरले मर्माहत भएका छौं । उहाँको निधनले हाम्रो पार्टी र सिंगो नेपाली कम्युनिष्ट आन्दोलनले एक अथक योद्धा तथा अभिभावक गुमाएको छ । हाम्रो पार्टी कमरेड कुँवरप्रति क्रान्तिकारी अभिवादन सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछ ।’

प्रचण्डले थपे, ‘कमरेड कुँवरले नेपाली सर्वहारा वर्ग, मजदूर, किसान, उत्पीडित वर्ग र समुदायको मुक्तिको लागि वर्ग संघर्षलाई अगाडि बढाउने अभियानमा महत्वपूर्ण नेतृत्वदायी भूमिका खेल्नुभएको थियो । नेपाली वर्गीय आन्दोलनमा उहाँको योगदान नेपाली कम्युनिष्ट क्रान्तिकारीहरुका निम्ति सधैं प्रेरणादायी र अनुकरणीय हुने विश्वास लिएको छौं ।’

‘कम्युनिस्टहरु निजी सम्पतिको अन्त्य’ चाहन्छन् भन्ने कुराको उदाहरण उनी बनेका थिए  । उनले निजी सम्पतिको मोह कहिल्यै नगरेको वामपन्थी लेखक गुणराज लोहनी बताउछन् । उनले भने ‘खम्बासिंह कुँवर जति योगदान कम्युनिस्ट पार्टीकोलागि धेरै कम व्यक्तिले दिएको होला । उनी पार्टीकामकोलागि नेपालका सबै जिल्ला पुग्नु भएको थियो । पार्टी काममा हिड्दा जग्गा बेच्दै हिडेका हुन । सम्पति सबै संगठन बनाउन हिड्दा सक्नु भयो । उनको सम्पति पार्टी काममा सकिएको हो ।’

सम्पन्न परिवारका कुँवरका चार छोरी , २ छोरा छन् । ५६ सालमा जेठो छोराले भने आत्महत्या गरे । पार्टीको पोलिटव्युरो सदस्यसम्म भएका थिए खम्बासिंह । सुरुमा पुष्पलालसंग काम गरे, कम्युनिस्ट पार्टीमा विभाजन आएपछि चौथो महाधिवेशनमा लागे । 

राजनीतिका पछिल्ला दिनहरु खम्बासिहंले माओवादीमा विताए । चौथो विस्तारीत बैठकमा सभापति बने । पार्टीको सल्लाहकार भए । उनले आफ्नो सम्पति छोरी, छोरा र पार्टीलाई दिए । भरतपुरको ६ नं र १२ नं वडामा रहेको जमिन जेठो छोरीलाई बेच्ने । 

उनको घर केशरबागमा थियो जुन घर कम्युनिस्टहरुकोलागि चर्चित थियो । सबै कम्युनिस्ट आउने बस्ने उनको घर सेल्टर सरह थियो । उनी प्रचण्डको राजनीति गुरु हुन । कास्कीबाट चितवन झरेका प्रचण्डलाई कुँवरले नै राजनीति सिकाएका थिए । 

उनी एकता केन्द्र हुदै माओवादीको केन्द्रीय सल्लाहकार बनेका थिए । जनयुद्ध सुरु भएपछि पनि उनले धेरै दुःख पाएको लोहनी बताउछन् । उनले भने ‘माओवादीले जनयुद्ध सुरु ग¥यो । कुँवर सल्लाहकार हुनुहुथ्यो । उहाँलाई सुरक्षाकर्मीले सतायो । दुख दियो । तर पनि उहाँ कहिल्यै पनि विचारबाट विचलित हुनु भएन । सतिसाल झै उभिनु भयो ।’

माओवादी जनयुद्धबाट शान्तिप्रक्रियामा आएपछि पार्टीले उनकोलागि दुई कोठे घर भाडामा लिइ दिएको थियो । खाने बस्ने व्यवस्था गरेको थियो । उनी सल्लाहकार रहेको पार्टी विभाजन भएपछि खुलेर कसैसंग लागेनन् । समर्थन प्रचण्डलाई गरे । 

२०३१ सालमा चौथो महाधिवेशनको पोलिटव्युरो सदस्य भएका थिए । उनले दिएको प्रशिक्षणबाट प्रभावित भएर प्रचण्डले शिक्षक पेशा छोडेर पूर्णकालिन कम्युनिष्ट कार्यकर्ता बनेको बताइन्छ । प्रचण्ड २०३५ सालमा पूर्ण कालिन बनेका थिए । तीनै प्रचण्डले दश बर्ष जनयुद्धको नेतृ्त्व गरे । दुई पटक प्रधानमन्त्री बने । अहिले पनि नेकपाको अध्यक्ष छन् । 

उनलाई २०६८ सालमा चितवनमा नागरिक समाज र तत्कालीन माओवादी पार्टीले नागरिक अभिनन्दनसहित  रथारोहण गराएको थियो । २०६९ सालमा नेपाल सरकारले उनलाई सप्रबल जनसेवाश्री पदकबाट सम्मानित गरेको थियो । काजी बाको नामले पनि उनी चर्चित थिए । पुुराना कम्युनिस्टहरुले उनलाई काजी बा भनेर पनि बोलाउने गरेका थिए । 

हो, उनी भारतीय सेनामा पनि भर्ति भएका थिए । तर त्यो जागिर छोडेर जनताकोलागि लडेका थिए । उनले गरिब, सर्वहारा श्रमजीवीको पक्षमा आफ्नो सम्पूर्ण जीवन लगाए । उनी विचार दर्शन र राजनीतिमा सधै कटिबद्ध भएर लागे । निजी जीवनलाई भन्दा सामुहिकता चाहने कम्युनिस्ट विचारको पक्षमा उनी सधै एक्लै भएपनि लागिरहे । 

उनको जीवनसाथी धीरा कुँवरको निधन १० असार २०७४ मा भएको थियो । हिजो ९४ बर्षको उमेरमा कम्युनिस्ट आर्दशका सतिसाल कुँवरको निधन भएको हो । 

सबै कुरा भएर पनि पार्टीकोलागि त्याग गर्ने कुँवर र निजी जीवनकालागि जम्मा गर्ने अहिलेका कम्युनिस्टबीच धेरै फरक छ । 

अहिलेपनि जनताको जनमत पाएका कम्युनिस्टहरु सामुहिकता, गरीब किसान र श्रमजीवीकोलागि भन्दा पनि व्यक्तिगत जीवनकालागि बढी सक्रिय रहने गरेका छन् । नेपालको कम्युनिस्ट आन्दोलनमा उपभोक्तावादको हालीमुहाली भएको समयमा कुँवरले बाँचेको जीवन आर्दश जीवन हो । उनको जीवन दर्शन सबैकोलागि प्रेरणा हुने छ । 

उहाँको निधनमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल अध्यक्ष रहेको पार्टीले विज्ञप्ती निकालेको छ । प्रचण्डले हिजै चितवन पुगेर उहाँलाई श्रद्धाञ्जली दिएका छन् । 
 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर