• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सामुदायिक वनमा आम्दानीको स्रोत बन्दै पार्क 

चितवन । पर्यटकीय क्षेत्रको रुपमा प्रशस्त सम्भावना बोकेको उदयपुर सामुदायिक वन आन्तरिक पर्यटकको रोजाइएमा पर्न सफल भएको छ । पार्क सञ्चालनमा आएसँगै सामुदायिक वनको स्वरुप नै फेरिएको छ । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ७ सगुनटोलमा अवस्थित उदयपुर सामुदायिक वन उपभोक्ता समूहले पार्क सञ्चालनमा ल्याएको हो । 

वन संरक्षण र विकासका कार्यक्रमका साथै आन्तरिक पर्यटकको रोजाईमा पार्क रहेको सामुदायिक वनका अध्यक्ष केशव लामा बताउँछन् । सबै ठाउँको अध्ययन पश्चात केहि फरक गर्ने उद्देश्यले पार्क निर्माण गरिएको उनको भनाई छ । 

सामुदायिक वनले मुख्य आम्दानीको रुपमा काठ दाउरा बिक्री बितरण गर्दै आएको थियो । वनमा खेर गएका ठाउँलाई सुन्दर रमणीय बनाउने र वनको आम्दानी पनि बढाउने उदेश्यका साथ फन–पार्क निर्माण गरिएको वनका अध्यक्ष लामाको भनाई छ । 

करीब ३० विगाहा क्षेत्रफलमा फैलिएको पार्कभित्र मुख्य आकर्षणको रुपमा पिकनिक स्पोट, फनपार्क, युथपार्क, गार्डेन र मिनि–जु समावेश गरिएको छ । यस पार्कको मुख्य विशेषताको रुपमा खुल्ला चौरमा घुम्ने व्यवस्था रहेको छ । भ्यू–टावर मार्फत जंगल र जंगली जनावरको दृश्यावलोकन गर्न सकिने हुँदा पर्यटकको रोजाईमा पार्क रहेको वनका उपाध्यक्ष सुर्दशन अधिकारी बताउँछन् । 

चितवनकै नमुना पार्कको रुपमा बिकास गर्ने योजनाका साथ सामुदायिक वनले काम गरीरहेको उनको भनाई छ । 

सामुदायिक वनको करिव दुई करोड रुपैयाँ खर्चमा निर्माण भैरहेको यस पार्कभित्र मिनी रेल र ढुंगा सहितको पोखरी बनाउने योजना वनको रहेको उहाँको भनाई रहेको छ । विभिन्न निकायमा पैसाको माग भईरहेको र पैसा आउने निश्चित भएसँगै योजनाले गति लिने सामुदायिक वनका उपाध्यक्ष अधिकारी बताउनु हुन्छ । 

वनको संरक्षण सँगसँगै आम्दानीको स्रोत पनि बढाउने उदेश्यले नमुना पार्कको निर्माण गरिएको वनले बताएको छ । बढ्दो शहरीकरण सँगै बालबालिका महिला वृद्ध युुवा सबैको रोजाईमा घुम्ने र मनोरञ्जन लिने स्थानको रुपमा पार्कलाई बिकास गरिएको उपाध्यक्ष अधिकारी बताउनु हुन्छ । 

गर्मीमा रुखको छहारीमा खेल्दै चिसो हावा लिन मिल्ने र जाडोमा चौरमा बसेर घामको आनन्द लिन मिल्ने व्यवस्था रहेको छ । पार्क घुम्न आउनु भएका स्थानीय हरिप्रसाद भण्डारी आफ्नै गाउँ ठाउँमा पार्क बनेपछि ज्यादै खुसी लागेको बताउनु हुन्छ ।

सञ्चालन भएको केही समयमा नै कोभिड–१९ को प्रभाव यस फन पार्कका पनि परेको छ । जसको फलस्वरुप निर्माण कार्यहरु भैरहेका छन्  । सञ्चालन सँगै निर्माण गर्दै जाने सोचका साथ निर्माण कार्य भैरहेको वनले जनाएको छ । चितवन नवलपरासी मकवानपुर जिल्लाबाट पिकनीक र अवलोकनका लागि सर्वसाधरण आउने गरेका छन् । पिकनीक खानाका लागि सुविधा सम्पन्न टहरा, शौचालय, र पानीको व्यवस्था रहेको छ । त्यसैगरी बालबालिकाको लागि खेल्ने बाल उद्यानहरु पार्कमा रहेका छन् । खेल्दै र नाच्दै खाना पाईने भएका कारण पनि यस फन पार्कमा पिकनीक खाना आउनेको भिड लाग्ने गर्दछ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर