• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

विराटनगरको आमहड्ताल शान्तिपूर्ण,धरानमा तीन प्रदर्शनकारी पक्राउ

विराटनगर । नेकपाको प्रचण्ड-माधवपक्षले गरेको आमहड्तालको विराटनगरमा पनि प्रभाव देखिएको छ । बन्दकर्ताहरुले विहानैदेखि चोकचोकमा भेला भएर बसेका छन् । उनीहरुले सडकमा सार्वजनिक ठुला तथा साना सवारीका साधन सञ्चालन गर्न रोकेका छन् । बन्दकर्ताहरुले मोटरसाइकल र सिटी सफारी चलाउन भने छुट दिएका छन् । मजदुर वर्गको रोजगारीमा असर नगर्ने भन्दै सिटी सफारी र मोटरसाइकल सञ्चालन नरोकिएको प्रदेशसभाका सांसद कुलप्रसाद लिम्बुले बताए । विराटनगर बजारका अधिकांश पसल व्यवसाय बन्द भएका छन् । सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । बन्दकर्ताहरुले बिहान फाटफुट चलेका चार वटा ट्रकमा तोडफोड गरेका थिए । तोडफोडपछि  प्रहरीले बन्दकर्ताहरुलाई लखेटेको थियो भने बन्दकर्ताहरुले विभिन्न ठाउँमाा टायर बालेर प्रदर्शन गर्दा कतिपय स्थानमा प्रहरी र बन्दकर्ताबीच टायर बाल्ने र निभाउने दोहोरी चलेको थियो । यद्यपी विराटनगर मध्यान्हसम्म तुलनात्मकरुपमा शान्तिपूर्ण देखिएको छ । उता सुनसरीको धरानबाट प्रहरीले तीन जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । सवारी साधन तोडफोड गरेको भन्दै उनीहरुलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर