• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कवि पौडेलको ‘उनी उर्मिला’ महाकाव्य सार्वजनिक

काठमाडौँ । साहित्यकार बाजुराम पौडेलको महाकाव्य ‘उनी उर्मिला’ सार्वजनिक भएको छ ।सुरभी साहित्य प्रतिष्ठानले प्रकाशन गरेको महाकाव्यमा १४ सर्ग छन् । ६६ वटा वार्णिक छन्दको प्रयोग गरिएको महाकाव्यमा साहित्यकारकी जीवन सङ्गिनी उर्मिलाका जीवनका घटनाको प्रस्तुति छ ।

महाकाव्यमा सामाजिक यथार्थवादी कथावस्तुलाई विभिन्न रस, अलङ्कारले सजीव बनाइएको छ । प्रतिष्ठानले आज आयोजना गरेको ९८औँ आख्यान वाचन कार्यक्रममा महाकाव्य लोकार्पण गर्नुहुँदै प्रा डा ऋषिराम पोखरेलले छन्दमा लेखिएका कृतिको अभाव भोगिरहेको नेपाली साहित्यलाई कवि पौडेलले गुण लगाउनुभएको बताए ।

वरिष्ठ पत्रकार विजय चालिसेले सामाजिक चेतनाका लागि कवि आफैँले गर्नुभएको विद्रोहको वर्णन महाकाव्यमा रहेको सुनाउनुभयो । कार्यक्रममा साहित्यकारहरु नरेन्द्रराज पौडेल, गङ्गा पौडेल, नेपाली उपन्यास सङ्घका अध्यक्ष शङ्कर भारती, महाकाव्यकार पौडेललगायत वक्ताले एउटी नारीले जीवनमा भोग्नुपर्ने विविध पक्षलाई जीवन्त रुपमा उतारिएको बताए ।

कवि पौडेलका यसअघि ‘शान्ताश्री’ र ‘जियालो’ गरी दुई महाकाव्य, ‘भञ्ज्याङ र चौतारी’ आत्मवृत्तान्त, ‘शीतस्वर्णा’ र ‘बाजुरामका कविताहरु’ गरी दुई कविता संग्रह, ‘सिर्जना फस्टाउनुपर्छ’ खण्डकाव्य, सम्पादित कृति सुरभी स्रष्टा परिचय गरी आठ वटा कृति प्रकाशित भइसकेका छन् ।

पञ्चचामर, पङ्क्ति, स्रग्वरी, अनुष्टुप्, प्रिया, भुजङ्गप्रयात, शादूलविक्रीडित, रथोद्धता, स्वागता, मन्दाक्रान्ता, स्रग्विणी, युवती, चुडामणि, द्रुतविलम्बित, मालिनी, सृष्टि, विभूति, दोधक, तूणक, दिक्पाल, शिखरिणीलगायत छन्दमा लेखिएको महाकाव्यमा २४६ पृष्ठ छ । पुस्तकको मूल्य ३०० रुपैयाँ तोकिएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर