पोखराका अव्यवस्थित आइल्यान्ड भत्काउन सुरु, सालिक पार्कमा राखिने

कास्की । पोखरामा अव्यवस्थित आइल्यान्डहरु भत्काउन सुरु भएको छ । एक वर्ष अघिदेखि नै भद्दा आइल्यान्ड भत्काउन सुरु गरे पनि केही विवादका कारण रोकिएको काम सोमबारबाट सुरु भएको हो ।

आइल्यान्डमा रहेका सालिक पार्कमा राख्ने व्यवस्था गरेपछि काम अघि बढेको हो । पोखरा–बाग्लुङ जिरो किलोमा योगेन्द्र शेरचनको सालिक रहेको आइल्यान्डबाट भत्काएर सुरु भएको अभियान बिरौटा चोक पुगेको छ । पोखरा महानगरपालिकाका अनुसार चिप्लेढुंगामा रहेको बिपीचोक, टुँडिखेलमा रहेको हरिचोक, एयरपोर्टनजिक मुस्ताङचोक र सहिदचोकलगायतका चोकका आइल्यान्ड भत्काइने भएको छ ।

मेयर मानबहादुर जिसीले पोखराका सबै चोकमा रहेका भद्दा आइल्यान्ड भत्काइने अभियान पुनः सुरु भएको जनाएका छन् । पोखरा महानगरका मेयर मानबहादुर जिसीले आइल्यान्डमा रहेका सालिक सार्नका लागि पार्क बनाउने काम अगाडि बढिसकेको बताए । पार्क बनाएर सार्ने भएपछि नै भद्दा आइल्यान्ड भत्काउन पुनः सुरु भएको उनले बताए । 

पोखरा महानगर वडा नम्बर १८ सराङकोटमा ४५ रोपनी जमिन पार्क निर्माणका लागि छुट्याएको र त्यसका लागि डिपिआरसमेत तयार भइसकेको उनले बताए । यसै आर्थिक वर्षमा पार्क निर्माण गर्ने गरी महानगरले एक करोड रुपैयाँ बजेट छुट्याएको छ । एउटा समिति गठन गरी सहिद र राष्ट्रिय विभूति छुट्याएर पार्क्भित्र छुट्टाछुट्टै स्थान तोकिने मेयर जिसीले बताए । 

सो पार्क पर्यटकका लागि एउटा थप आकर्षणको केन्द्र बनाउने लक्ष्य राखिएको उनको भनाइ छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर