• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मध्यावधि चुनावमा राष्ट्रपति ट्रम्पलाई झट्का

पत्रकारदेखि आफ्नै पार्टीका नेतालाई समेत छोडेनन् गिज्याउन

एजेन्सी । अमेरिकाको मध्यावधि चुनावमा मिश्रित परिणाम आएको छ । मंगलबार भएको संसदीय चुनावमा डेमोक्रेटिक पार्टीले तल्लो सदन प्रतिनिधिसभामा आफ्नो पकड बलियो बनाएको छ । सिनेटमा भने राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत कायम छ । तर प्रतिनिधिसभामा डेमोक्रेटिकको पकड  बलियो हुँदा उसले राष्ट्रपति ट्रम्पका नीतिमाथि प्रश्न उठाउन तथा रोक्न सक्नेछन् ।

अर्कोतर्फ सिनेटमा रिपब्लिकनको बहुमत कायम हुँदा भने ट्रम्पले महत्वपूर्ण योजना पास गराउन सक्नेछन् । संसदीय चुनावको नतिजाबारे प्रतिक्रिया दिँदै ट्रम्पले इतिहास दोहोरिएको बताए । मध्यावधि चुनावमा सत्तारुढ पार्टीको विपक्षमा जनमत देखिनु स्वभाविक भएको र यो इतिहासको पुनरावृत्ति मात्र भएको ट्रम्पको भनाइ थियो । 

उनले डेमोक्रेटिक पार्टी समक्ष मिलेर अघि बढ्ने प्रस्ताव गरे । यदि आफ्ना योजानमा विरोध मात्र गरेको खण्डमा भने जस्तालाई तस्तै गर्ने समेत उनले जिकिर गरे । चुनावी परिणामपछि भएको पत्रकार सम्मेलनमा पत्रकारसँग चर्काचर्कीमा उत्रिएका ट्रम्पले सिएनएनका पत्रकारलाई छुद्र तथा खतरनाक व्यक्तिको संज्ञा दिए भने एनबिसीका पत्रकारलाई भने, ‘म तिम्रो प्रशंसक होइन ।’

पत्रकार सम्मेलनमा उनले आफ्नै पार्टीका पराजित उम्मेदवारलाई गिज्याउन समेत छोडेनन् । चुनावी अभियानमा आफूलाई सहयोग नगर्ने उम्मेदवारहरुले हार व्यहोरेको उनको तर्क थियो । उनले भने, ‘उनीहरुले निकै कमजोर ढंगले प्रचार गरे । मलाई थाहा छैन म उनीहरुको परिणाममा खुसी हुने कि दुखी हुने तर जे भयो त्यो ठिक भयो ।’

प्रतिनिधि सभामा बहुमत हासिल गरेको डेमोक्रेटिक पार्टीले अब ट्रम्प प्रशासनले गरेका निर्णयहरु चित्त नबुझे वा उनको प्रशासनले अनियमितता गरेको, कर छली वा कुनै निर्णयमा व्यक्तिगत स्वार्थ बाझिएको देखिए अनुसन्धान गर्न पाउनेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर