मिथिलाञ्चलमा अन्नकुट पूजा  

नेहा झा/जनकपुरधाम । लक्ष्मी पूजा सम्पन्न भएको भोलीपल्ट मिथिलाञ्चलका मन्दिरहरुमा अन्नकुट पर्वको तयारी शुरु भएको छ । 

कार्तिक महिनाको शुक्ल पक्षको प्रतिपदा  तिथिक दिन मिथिलाञ्चलमा गोवर्धन पूजा गर्ने परम्परा रहेको छ । गोवद्र्धन पूजा संग संगै आजको दिन मिथिलाञ्चलका मन्दिरहरुमा अन्नकुट पर्व समेत धूमधामका साथ मनाइने गरिन्छ ।  

कार्तिक महिनाको प्रतिपदाका दिन बलि पूजा, अन्नकुट, मार्गपाली आदि उत्सव समेत हुने गर्छ । अन्नकूटको पवित्र दिवसमा चन्द्र दर्शन अशुभ मानिएको छ । त्यसैले यदि प्रतिपदा तिथिका दिन द्वितीया तिथि परेमा लक्ष्मी पूजाकै दिन यो पर्व मनाउने परम्परा रहेको छ । 

अन्नकुटमा भगवानको विशेष पूजा अर्चना गरी विशिष्ट भोजनको भोग लगाइने गरिन्छ । भगवानका लागि अन्नकुट पर्वका दिन छप्पन भोग व्यञ्जन अर्पण गर्ने परम्परा रहेको छ । 
यस अवसरमा जानकी मन्दिरमा श्रद्धालु भक्तजनहरु भीड लागेको हुन्छ । हुनत यो पर्वको प्रारम्भ ब्रजबाट शुरु भएको मानिन्छ तर कलान्तरमा गएर यो पर्व मिथिलाञ्चलमा समेत मनाउन थालिएको हो । 

अन्नकुट र गोवर्धन पूजाबिचको सम्बन्ध 
अन्नकुट र गोवर्धन पूजा द्वापर युगमा भगवान कृष्णको अवतारकै समयमा प्रारम्भ भएको धर्मग्रन्थहरुमा उल्लेख रहेको पाइन्छ । गाई गोरु आदि जो वर्षभरि मानव सेवा गर्छन् आजको दिन उनीहरुलाई स्नान गराएर फूल माला, धूप, चानन आदिले पूजा गरिन्छ । 

गोबरले गोवर्धन पर्वत बनाएर पूजा अर्चना समेत गरिन्छ । कातिक शुक्ल पक्षको प्रतिपदाका दिन भगवानका लागि भोग नैवेद्यमा नियमित प्रसादका   अतिरिक्त सामथ्र्य अनुसार अन्नबाट बनेको काँचो वा पकाएको भोग, फलफूल आदि अनेक प्रकारका पदार्थ अर्पण गर्ने गरिन्छ जसलाई छप्पन भोग भनिन्छ । 

सोही चढाइएको भोगबाट प्रसादको रुपमा भक्तजनहरुमा बाँड्ने गरिन्छ । यो पर्वका दिन नयाँ अन्नबाट बनेको भोग भगवानलाई अर्पण गरिन्छ त्यसैले यो पर्वको नाउँ अन्नकुट परेको संस्कृतिविद रेवतीरमण लाल बताउँछन् । 

हुनत यो पर्व सही अर्थमा अन्नकूट गोवर्धन पूजाको समारोह हो । प्राचीन कालमा व्रजवासी बर्षाका स्वामी ईन्द्रलाई प्रसन्न राख्नका लागि यो पर्व मनाउने गर्थे । व्रजवासीले सोही दिन भगवान ईन्द्रको पूजा गरी षडरसपूर्ण छप्पन भोग, छत्तीस व्यञ्जन भोग लगाउने गर्थे । 

सोही दिन द्वापर युगमा भगवान श्री कृष्णले ईन्द्रको बन्द गराएर गोवर्धन पर्वतको पूजा आरम्भ गराएका थिए । यो देखेर भगवान ईन्द्र कुपित भएर मूसलाधार बर्षा गराए जसबाट पूरै ब्रज डूब्न लाग्यो ।

त्यसपछि भगवान श्री कुष्णले गोप र  गोपीहरुलाई बचाउनका लागि आफ्नो हातको कान्छी औलामा गोवर्धन पर्वतलाई उठाएर ईन्द्रको मानमर्दन गरेका थिए । सोही दिनबाट  ब्रजवासीलाई सुरक्षा प्रदान गर्ने पर्वत गोवर्धनलाई पूजा अर्चना आरम्भ गराएर अन्नकुट पूजाको समेत आरम्भ गराए । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर