• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

प्रधानमन्त्री ओलीलाई झलनाथको सुझाव: “युगले सुम्पिएको उत्तरदायित्व पूरा गर्न कामको गति बढाउनुहोस्”

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शिर्ष नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको चाहनालाई सम्बोधन गर्नको लागि पनि आफ्नो गति र वेग बढाउनुपर्ने सुझाव दिएका छन् । 

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले यस्तो बताएका हुन् । मुलुक अब विकास र समृद्धि हुने कुरामा शंका नगर्न खनालले आग्रह गरे । 

देउसी खेल्न पुगेको क्लबको टोलीसँग कुरा गर्दै उनले भने,“विकास र समृद्धि विल्कुलै सम्भव छ । देश अहिले ऐतिहाँसिक चरणमा प्रवेश गरेको छ । देशमा क्रान्तिको युगलाई, संघर्षको युगलाई, हड्तालहरुको युगलाई पारत गरेर यहाँसम्म आएका छौं । नयाँ संविधान बनायौं । संविधानबमोजिम निर्वाचन गर्यौं । अहिले तीन तहको सरकार निर्माण गरेका छौं । तीनै तहका सरकारका मुख्य काम भनेको नै यो मुलुकको विकास गर्ने हो । आर्थिक रुपान्तरण गर्ने र देशलाई समृद्धितर्फ अगाडि बढाउने नै हो ।”

समृद्धिका पाईलाहरु भर्खर भर्खरै चल्न थालेको र ती पाईलाहरुमा अझै बेग थप्न जरुरी रहेको उनको भनाई छ । उनले भने,“अझै गति थप्न जरुरी छ । अझै प्रभावकारिता थप्न जरुरी छ । तर, हामी त्यो दिशातर्फ अगाडि बढ्न थालिसक्यौं ।”

अहिले नेकपाभित्र अत्यन्तै नीतिनिष्ठ, सिद्धान्तनिष्ठ, विचारनिष्ठ, लक्ष्यनिष्ठ एकताको आवश्यकत्ता पनि उनले औंल्याए । उनले भने,“नेकपाभित्र मात्रै होइन, प्रतिपक्षी दल र सम्पूर्ण राजनीतिक शक्तिहरुकाबीचमा बृहत्त एकताको आवश्यकत्ता छ । सिँगो राष्ट्रमा एकताको आवश्यकत्ता छ । एकतावद्ध भएर गयौं भनेमात्रै यो देश विकास हुन्छ । समृद्ध हुन्छ । पहिलो आवश्यकत्तापनि एकता हो । दोस्रो आवश्यकत्ता पनि एकता हो । र, तेस्रो आवश्यकत्ता पनि एकता हो ।”

कम्युनिष्ट पार्टीको जीउ भनेको नै नीति र विधि भएको बताउँदै उनले यसलाई जसले तलमाथि गर्छ उसको ज्यान खतरामा पर्ने उनले बताए । खनालले नीति र विधिअनुसार पार्टी चल्नुपर्नेमा जोड दिए ।उनले अघि थपे,“एकता गर्ने कुराहरुमा ढिलाई भैरहेको छ । ६ महिनाअघि हामीले एकताको घोषणा गरेको हो । तर, ६ महिना पार हुँदापनि अझै एकताको प्रक्रिया टुँग्गिएको छैन् । यो ढिला भएको छ । चाँडोभन्दा चाँडो एकतावद्ध गरेर अघि बढ्नुपर्छ ।”

“नेकपाभित्र अध्यक्षद्धय ओली र प्रचण्डले जे भन्यो त्यही हुन्छ । तर, तपाईहरुको भूमिका त छैन अरे नि ?” भन्ने प्रश्नमा उनले भने,“हो, साँचो कुरा के हो भने कम्युनिष्ट पार्टी भनेको सामूहिक नेतृत्वको आधारमा मात्रै पार्टी चल्नसक्छ । सिँगो समाज नै सामूहिक नेतृत्व भयो भने अगाडि बढ्न सक्छ । सामूहिक नेतृत्वको अभ्यास गर्न सकेनौं भने समाज अगाडि बढ्न सक्दैन् । एउटा व्यक्तिमात्रै सर्वज्ञ हुनैसक्दैन् । यो ज्ञानको युग हो । यस्तो अवस्थामा कुनै एक व्यक्तिले ज्ञानको ठेक्का लिनैसक्दैन् । ज्ञान धेरैतिर छरिएको हुन्छ । हो, त्यो छरिएको ज्ञानलाई हामीले उपयोग गर्न सक्नुपर्छ ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर