• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अग्निपीडितलाई राहत बाँड्दै जनप्रतिनिधि

ओखलढुंगा । दुई दिनअघि आगलागीबाट पशु चौपायसहितको धनमाल गुमाएका वाक्साका अग्निपीडितलाई मानेभञ्ज्याङ गाउँपालिकाले राहत उपलब्ध गराएको छ । पीडितलाई जनप्रतिनिधिले घरैमा पुगेर राहत दिएका हुन् । सडकको पहुँच नभएकाले आवश्यक सामान बोकेर पु¥याइ वितरण गरिएको गाउँपालिका उपाध्यक्ष सविता राईले बताइन् ।

‘पीडितको पीडामा थोरै भए पनि मल्हम लगाउन प्रयास ग¥यौँ,’ उनले भनिन्, ‘सडकको सहज पहुँच नभएकाले काँधमै राहत सामग्री लिएर गयौँ र स्थानीय सरकारका तर्फबाट हुने सहयोग उपलब्ध गराएर फर्कियौँ ।’ राहत बोकेर गाउँपालिका अध्यक्ष मोतीराज राई, उपाध्यक्ष राईसहित अन्य जनप्रतिनिधि र स्थानीय सरोकारवाला वाक्सा पुगेका थिए । 

गाउँपालिकाको तर्फबाट त्रिपाल, ब्लाङ्केट, नुन, तेल, चामल र वडाको तर्फबाट नगद सहयोग गरिएको वडाध्यक्ष उमेश कार्कीले जानकारी दिए । उनले भने, ‘सबैतिर तिहारको रौनक हुँदा उनीहरुलाई पनि थप निराशा नहोस् भनेर तत्काल स्थानीय सरकारले अभिभावकत्व ग्रहण गरेको हो ’ उनका अनुसार वडाले प्रतिपरिवार पाँच हजारका दरले सहयोग गरेका छौँ । नेपाली कांग्रेसका स्थानीय नेता राममणि राईले पनि वाक्साका अग्निपीडितलाई चामल, नुन तेललगायत सामग्री सहयोग गरेका छन् । 

केही दिनअघि बच्चाले महुरीलाई आगो लगाउन खोज्दा सुरु भएको आगोले मानेभञ्ज्याङ गाउँपालिका–२, वाक्सामा आगलागी हुँदा चार घर जलेर नष्ट भएका थिए । आगोमा परेर चारवटै घरका पशु चौपाय र घरभित्र भएको धनमाल जलेर पूर्ण रूपमा नष्ट भएको थियो । आगोले नृपबहादुर कार्कीको घर तथा दुई भैँसी जलेका छन् । त्यस्तै जीतमाया राईको घर, गोठ र नौ बाख्रा जलेर मरेका छन्, धीरेन्द्र कार्की र अमृतबहादुर कार्कीको पनि घर जलेको छ । आगाले एक करोड हाराहारीमा क्षति भएको प्रहरीको अनुमान छ । आगलागी पीडित छिमेकी र आफन्तको सहारामा बसेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर