• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

भाइबहिनीबीचको अगाध स्नेह दर्शाउने भरदुतिया पर्व

जनकपुरधाम । भाइबहिनीको पवित्र पर्वहरुमध्ये भातृद्वितया पर्वको अल्लगै महत्व रहेको छ । भातृद्वितया पर्व कार्तिक महिनाको शुक्ल पक्षको द्वितीया तिथिका दिन हिन्दू धमावलम्बीले मनाउने गर्छन् । भातृद्वितयालाई यम द्वितीयाको नामले समेत बुझिन्छ । भातृद्वितया पर्वले भाइबहिनीबीचको प्रेमलाई अझै प्रगाढ बनाउँछ । 

मिथिलाञ्चलमा यो पर्वका दिन बहिनीले भाइको निधारमा पिठार (चामललाई पानीसँगै पिँधेर बनाइएको लेदो) र सिन्दुरको टिका लगाएर उज्ज्वल भविष्यको कामना गर्ने गर्छिन् । भातृद्वितयाका दिन बहिनीहरुले भाइ आफूभन्दा ठूलो होस् वा कान्छो पूजा गरी निमन्त्रणा दिने गर्छिन् । बहिनीले सिन्दुर, पिठार, लगाएर कुभिन्डोको फूल, पानको पात, सुपारी र जल भाइको हत्केलामा राखी ‘गंगा नौतैत छथि यमुना के, हम नौतैत छी (भाइ के नाम) भाइ के, जहिना जहिना गंगा–यमुनाक धार बहए, हमर भाई सभक औरदा बढ़ए’ अर्थात् गंगाले यमुनालाई निमन्त्रणा दिइन् मैले आफ्नो भाइलाई भन्दै हात पखाल्छिन् । बहिनीले पूजा गरेपछि भाइले बहिनीलाई यथाशक्ति उपहार दिन्छन् र उनको घरको अन्न खाए्र बहिनीलाई सन्तुष्टि प्रदान गर्छन् । 

भातृद्वितयामा अरिपनको विशेष महत्व
भातृद्वितया पर्वको क्रममा बनाइने अरिपन यो पर्वलाई विशेष र पृथक बनाउँछ । यो अरिपन षटदल कमल आकृतिको हुन्छ । पिँडीको अगाडि कमलको फूल कोरिएको अरिपनमाथि कटोरा राखिएको हुन्छ । लोटामा जल राखिएको हुन्छ जसमा पान, सुपारी, कुभिन्डो लगायतका फूल राखिएको हुन्छ । सोही अरिपनमाथि भाइलाई बसाएर पूजा गरिन्छ । दीपावली र छठ पर्वको बीचमै पर्ने यो पर्वले मिथिलाञ्चलवासीको हर्षलाई अझै बढाउँछ । दीपावली पर्वलाई लिएर घरआँगन लिपपोत गरिएकै हुन्छ । यद्यपि बहिनी आफ्नो भाइको स्वागतका लागि घरआँगन गाईको गोबरबाट लिपपोत गर्छिन । 

भातृद्वितयाको कथा
यो पर्वलाई लिएर एउटा कथा प्रचलित छ । भगवान सूर्य नारायणको पत्नीको नाउँ छाया हो । छायाकै गर्भबाट यमराज तथा यमुनाको जन्म भएको थियो । यमुना आफ्नो भाइ यमराजलाई अगाध स्नेह गर्थिन् । भनिन्छ, यमुनाले पटक पटक आफ्नो भाई यमसँग निवेदन गर्थिन् आफ्ना इष्टमित्रका साथ घर आउनका लागि । तर आफ्नो कार्यमा व्यस्त यमराजले उनको यो निवेदनलाई टार्दै आउँथे । यसै क्रममा कार्तिक शुक्ल पक्षको द्वितीया तिथि आयो । यमुनाले सोही दिन भाइ यमराजलाई भोजनका लागि निमन्त्रण दिएर घर आउन वचनबद्ध गरिन् । 

यमराजले सोचे म सबैको प्राण लिन्छु । मलाई कोही घर बोलाउन चाहँदैनन् । बहिनीले यति स्नेहपूर्वक बोलाई रहेकी छिन् भने, उसको स्नेहको मान राख्नु मेरो धर्म हो । यमराजलाई आफ्नो घर आएको देखेर यमुना औँधी खुसी भइन । यमुना  स्नान र पूजा गरी विभिन्न प्रकारको व्यंजन भाइ यमलाई खानका लागि दिइन् । यमुनाद्वारा गरिएको आतिथ्यबाट  यमराज प्रसन्न भएर आफ्नो बहिनीलाई वरदान माग्नलाई भने । 

यमुनाले भाइ यमराजलाई प्रत्येक वर्ष यो तिथिमा आफ्नो घर आउनका लागि भनिन् । मजस्तै बहिनीले यो दिनमा आफ्नो भाइलाई आदर सत्कार गरी टीका लगाउने गर्छिन भने उसलाई तपाईको भय रहँदैन । यमराजले तथास्तु भनेर  यमुनालाई अमूल्य वस्त्राभूषण दिएर यमलोक फर्के । सोही दिनबाट भातृद्वितीया पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर