हस्तकला व्यापार मेलामा ९ करोडको कारोवार

काठमाडौं । नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको १६औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला आज सम्पन्न भएको छ । कात्तिक २८ गतेदेखि शुरु भएको मेलामा करीब नौ करोड रुपैयाँको कारोवार भएको छ । 

महासङ्घका सदस्य प्रचण्ड शाक्यका अनुसार उक्त मेलाको एक लाख ३५ हजार दर्शकले अवलोकन गरेका थिए । मेलामा धातुकला, सुनचाँदी, ऊनी तथा सुती, ढाकाका सामान, पस्मिना, हाते कागज, छालाजन्य सामग्री, प्राकृतिक रेशा र बाँसका सामान, जडीबुटीलगायतका स्वदेशी तथा विदेशी व्यवसायीका सामग्री प्रवद्र्धन तथा बिक्री गर्न १७० कक्ष राखिएका थिए । 

यस्तै १४औँ हस्तकला प्रतियोगिताअन्तर्गत ‘ढाका बुनाई’ विधातर्फ चुना बाँस्तोला प्रथम, देउमाया लिम्बू दोस्रो र ज्ञानीमाया तामाङ तेस्रो भएका छन् । सो प्रतियोगितामा विभिन्न जिल्लाका १३ जनाले प्रतिस्पर्धा गरेका थिए । ‘मैनको मूर्ति’ विधातर्फ मनोज शाक्य प्रथम, उदीप शाक्य दोस्रो र निशेष शाक्य तेस्रो हुनुभयो । दुवै प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएका कलाकार र कालिगढलाई क्रमशः ५० हजार रुपैयाँ, ३० हजार रुपैयाँ र २० हजार रुपैयाँ नगद, प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर