• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

चिसो टोकियो तात्यो साहित्यिक खुराकले (फोटो फिचर)

जापान । बिस्तारै टोकियोमा मोमिजीका पहेला पातहरु झर्न थालेका छन् । तर झर्न लागेका पातहरु सुन्दर देखिन्छन् । चिसो बढ्दै छ । नयाँ नयाँ ज्याकेट र स्विटरहरु बजारमा आएका छन् यसपालीको जाडो कटाउन । आइतबार टोकियोमा साहित्यमय बसाइले चिसो समय न्यायो बन्यो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जयन्तीको अवसर पारेर गरिएको कार्यक्रममा स्रष्टाले आफ्ना रचना सुनाउन थालेपछि बसाइको पूरै माहोल सुन्दर बन्यो । यसपाली प्रेमिल र देश प्रेमका भन्दा बलात्कारका घटनामा केन्द्रित रहेका रचना वाचन गरियो ।

कविहरुका कविता साँच्चिकै मार्मिक र ह्दयस्पर्शी थिए । रचना वाचनकै सुरु प्रेमिल कविताबाट जिन्दगीकी  प्रेमिकालाई लेखेको गजलबाट बैकुण्ठ भट्टले गरे,

साथी त धेरै छन् तर प्रियजन खोजिरहेछु 

आफन्तकै भिडमा म आफ्नो पन खोजिरहेछु 

 साना सामा चोटले नै टुटाउँछ फुटाउँछ 

सबै पीडा खप्न सक्ने बेग्लै मन खोजिरहेछु 

सुरुवात् नै प्रेमिल गजलले माहोल तातिहाल्यो । रचना वाचन भइरहे देश, राजनीति, विकृति, विसंगति लगायतका विषयमाथि केन्द्रित रही रचना वाचन भइरहेका बेला कवि हेमन्त गिरीको विश्वास शीर्षको कविताले धेरैका आँखा रसाए । 

के हुन्छ ?

सँगै सुत्ने श्रीमतीले

‘म तपाइँबाट असुरक्षित छु’ भनिन् भने ?!

के हुन्छ ?

निधारमा टिका टाँसिदिँदा टाँसिदिँदै बैनीले 

दाजुको अनुहारमा कंश देखिन्

र अत्तालिएर गुहार मागिन् भने ?!

के हुन्छ ?

रातो गुलाबको फूलभित्र प्रेमिकाले 

वीर्यको गन्ध पाइन् भने ?!

के हुन्छ ?

दूध चुसाइरहेकी आमाले 

नाबालिकाको घाँटीमा हात पुर्याउँदै

भनिन भने–

‘आखिर..

टोकिएर, ठोक्किएर 

लुछिएर, कुल्चिएर 

च्यातिएर, च्याँपिएर

मक्किएर,भत्किएर 

शोषित भएर, बलात्कृत भएर...,

एक दिन तँलाई

तड्पी तड्पी मर्नु नै छ भने छोरी,

म किन नदबाउँ तेरो गला अहिले नै प्रेमपूर्वक’ ?!

के हुन्छ..?!

आमाहरूको गला

आमाहरूकै हात बाट दब्न थाल्यो भने ?!

प्रिय पुरुष मित्र,

तिम्रो अंगको उत्तेजना थोरै घटाइदेऊ न है !

जगतमा थोरै विश्वास बढाइदेऊ न है !

कविका कलमहरु व्यस्त सहरमा कसरी कोरिन्छन् । कसरी आउँछन् ? यति गहकिला शब्द । अनेसास जापानका अध्यक्ष दिप पाठकको गजलले पनि छोरीको न्याय चेलीको बेथा नै बोल्यो ...


सम्झी सम्झी मन रून्छ स्कुल जान्न आमा 

बलात्कार र हत्या हुन्छ स्कुल जान्न आमा ।।

त्यो बाटोमा एक्लै हिड्न डर लाग्छ मलाई 

बाटो भरी खुनैखुन् छ स्कुल जान्न आमा ।। 

खोलो तर्ने बहानामा, गौडा झर्ने बहनामा 

मर्दाङ्गीले शरीर छुन्छ स्कुल जान्न आमा ।।

मलाई लुट्छन मारिदिन्छन् तिमी हुन्छेऊ एक्लै 

तिम्रो चित्कार कसले सुन्छ स्कुल जान्न आमा ।।

अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) जापानले लक्ष्मीजयन्तीको अवसरमा रचना वाचन कार्यक्रम सम्पन्न गरेको थियो । ४८ औँ नियमित साहित्यिक शृंखला अन्तर्गत टोकियोको नेपाली मुरा हलमा आयोजित कार्यक्रममा लेखिका सरस्वती ज्ञवालीको पुस्तक ‘लालटिनको उज्यालोमा’ पनि जापानमा विमोचन गरिएको थियो । पु्स्तकका बारेमा लेखिका ज्ञवालीले पनि बोलेकी थिइन् । साथै टोकियोमा सम्पन्न हाइकु महोत्सवका प्रायोजकलाई सम्मान गरियो ।

कार्यक्रममा अनेसास केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल, अनेसास जापानका संस्थापक अध्यक्ष डा कुमार बस्नेत, पूर्व अध्यक्ष आलोक चालिसे लेखिका सरस्वती ज्ञवाली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सरिता ढकालको स्वागत मन्तव्य एवं दिप पाठकको सभापतित्वमा सम्पन्न भएको थियो । 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर