• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

जाडोमा देखिने ८ गम्भिर स्वास्थ्य समस्या यस्ता छन्

काठमाडौं । सामान्यतया जाडोमा सबै जसो उमेर समूहकालाई प्रभावित गर्छ ।  विशेषगरी बुढाबुढी र बालबालिका बढी प्रभावित हुन्छन् । बालबालिकामा पनि शिशुहरूमा धेरै समस्या देखिने सम्भावना रहन्छ ।

श्वासप्रश्वास समस्या – विशेषगरी यो समस्या ६५ वर्षमाथिका वृद्धवृद्धामा देखिन्छ । श्वासप्रश्वासको समस्या भएका वृद्धवृद्धाका लागि जाडोयाम निकै कष्टकर समय हो । चिसोका कारण थोरै मात्र काम गर्दा पनि दम बढ्छ भने यसले अन्य धेरै समस्या निम्त्याउँछन् । धेरै दम बढेमा त्यसले मुटुमा पनि असर गर्छ र मुटुको समस्या पनि थपिन सक्छ। त्यसैले जाडो याममा बूढाबूढीलाई चिसोबाट जोगाउनु नै उत्तम हुन्छ ।

रुघाखोकी – जाडो यामको अर्को मुख्य समस्या भनेको रुघाखोकी हो । रुघाखोकी लाग्नुको मुख्य कारण भाइरल संक्रमण नै हो । भाइरल संक्रमणबाट बच्ने उपाय भनेको रुघाखोकी लागेको मानिससँग दुरी कायम गर्ने र उनीहरूले प्रयोग गरेको सामान सकेसम्म प्रयोग नगर्नु नै हो । शरीरलाई न्यानो राख्न सक्यो भने पनि भाइरल संक्रमणबाट बच्न सकिन्छ । त्यसैले समय समयमा तातो तरल पदार्थको सेवन निकै हितकर हुन्छ । 
 
निमोनिया – यो धेरैजसो दुई वर्ष भन्दा कम उमेरका बच्चाहरू र बूढाबूढीमा देखिने रोग हो । यो एक प्रकारको छातीमा हुने संक्रमण हो । यो रोग पनि भाइरस, ब्याक्टेरिया, फंगसकै संक्रमणका कारण हुन्छ । यो अन्य मौसममा पनि देखा पर्न सक्छ । तर, जाडोयाममा भने यसले अलिक धेरै उग्र रुप लिन्छ । किनभने यो स्वासप्रस्वास, रुघाखोकी सबैलाई साथै लिएर आउँछ र उपचारलाई झन् जटिल बनाइ दिन्छ ।

हाइपोथर्मिया – जाडोयाममा बाहिरको मौसमलाई बेवास्ता गरेर मनलागि गरे हाइपोथर्मिया हुने सम्भावना धेरै रहन्छ । हाइपोथर्मिया आफैँमा रोग भने होइन । तर, यसले विभिन्न प्रकारको स्वस्थ्य समस्या भने निम्त्याउन सक्छ । हाइपोथर्मिया भनेको आफ्नो शरीरले उत्पादन गर्न सक्ने तापभन्दा छिटो त्यो ताप शरीरबाट बाहिरिनु हो । धेरै चिसो ठाउँमा पातलो लुगा लगाएर काम गर्दा वा चिसोको सम्पर्कमा धेरै समय रहँदा यो आपतकालिन समस्या उत्पन्न हुन सक्छ । यदि यसको समयमा नै उपचार वा रोक थाम गरिएन भने ज्यान जाने खतरासम्म रहन्छ ।

फ्रस्टबाइट – यो समस्या विशेषगरी हिउँ पर्ने ठाउँमा देखिन्छ । शरीरको कुनै पनि अंग धेरै लामो समयसम्म हिँउ वा चिसो पानीको सम्पर्कमा रहिरहे यो समस्या हुन सक्छ । त्यसैले शरिरलाई हिउँ वा चिसो वस्तुबाट जोगाउँनु नै राम्रो हुन्छ । यदि धेरै नै नराम्रोसँग फ्रस्टबाइट भएमा उक्त ठाउँलाई चिरेर नै फाल्नुपर्ने अवस्था पनि आउन सक्छ । यो खासगरी हिमाली क्षेत्रमा बस्ने मानिसको हात–गोडामा देखिन्छ ।

कार्बनमोनोअक्साइड पोइजनिङ – यो जाडोयाममा मानिसको लापरवाहीले गर्दा देखिने समस्या हो । चिसोको कारण झ्यालढोका सबै बन्द पारेर आगो ताप्ने चलन छ । तर, कतैबाट हावा नै नछिर्ने गरि बन्द गरेर आगो वा हिटर ताप्दा कोठामा कार्बनडाइअक्साइड वा कार्बनमोनोअक्साइडको मात्रा बढ्न जान्छ र उक्त ग्याँस धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारको समस्या देखिन सक्छ वा मृत्यु नै पनि हुन सक्छ । जाडो याममा ग्याँस गिजरका कारण मृत्यु हुने घटना पनि यसैले गर्दा हो । त्यसैले आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र गर्नु राम्रो हुन्छ ।

हृदयाघात – चिकित्सकका अनुसार चिसोका कारण रगत जम्ने समस्या बढ्छ। मनमोहन कार्डियोथोरासिक ट्रान्सप्लान्ट एवं भास्कुलर सेन्टरका मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलका अनुसार यो मौसममा उच्च कोलेस्टोरल, उच्चरक्तचाप बढ्ने हुन्छ । चिकित्सकका अनुसार सामान्य रक्तचाप भएकामा पनि यो मौसममा रक्तचाप तलमाथि  भइरहेको हुन्छ । केही छैन भनेर बस्नुभन्दा रक्तचाप नियमित जाँचाउनु पुर्छ ।

फोक्सोको संक्रमण – जाडो महिनामा फोक्सोको संक्रमण पनि बढ्छ। वायुमण्डलमा चिसो हुनाले बढी दिनसम्म किटाणु बच्ने हुँदा दमका रोग र श्वासप्रश्वासको समस्या निको हुन गाह्रो हुन्छ। वृद्धवृद्धामा प्राकृतिक रुपमै जाडो सहने क्षमता कमजोर हुनाले पनि चिसोसम्बन्धी रोग बढ्छ। वृद्ध, उच्च रक्तचाप भएका र कोलेस्टोरल भएकालाई बिहान चिसोमा हिड्नुहुँदैन र हिँडे पनि चिसोको पूरै प्रोटेक्सन गरेर हिँड्नुपर्छ । स्वास्थ्य खबर

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर