• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नृत्यकलाको अन्य कलासँग सम्बन्ध 

सक्रिय जीवन जिउनका लागि नृत्यको आवश्यकता

नृत्यकला विभिन्न किसिमका कलामध्ये निकै पुरानो कलाको रुपमा चिनिन्छ । यसको चर्चा परिचर्चा विभिन्न कालखण्डमा व्यापक रुपमा गरिँदै आएको पाइन्छ । प्राचीन समयमा भाषा साहित्य तथा वाद्ययन्त्रको सिर्जना हुनुभन्दा पहिले नृत्यकलाको विकास भएको र यसको माध्यमबाट नै मानिस आफ्ना भावना अभिव्यक्त गर्दथे । सर्वप्रथम मानिसले आफूलाई मनोरञ्जन लिनको लागि मनभित्रका भाव जसरी कला पूर्णरुपमा अभिव्यक्त गरिन्छ त्यो नै नृत्य हो ।

लेखक

वर्तमान समयमा सङ्गीत र तालको माध्यमको सहयोग लिई आफ्ना शरीरका अङ्ग प्रत्यङ्गको परिचालनद्घारा अभिव्यक्त गरिने कलालाई नृत्य भनिन्छ । प्रकृतिमा रहेका प्रत्येक जीवहरु आफ्नो प्रकृति (स्वभाव) अनुसार नृत्य गर्ने गर्दछन् । कोही ईश्वर प्राप्तिको लागि त कोही प्रसन्नता व्यक्त गर्न त कोही विलासिता प्राप्त गर्नको लागि नृत्य गर्दछन् । नृत्यमा गीत र वाद्यधुनको महत्वपूर्ण भूमिका हुन्छ । वास्तवमा सङ्गीतको तालमा भाव र मुद्रासहित अभिनय गर्नु नै नृत्य हो ।

सर्वप्राचीन कलाको रुपमा परिचित नृत्यकलाको कलाका अन्य विधासँग निकै गहन सम्बन्ध रहेको हुन्छ । हुनतः सिर्जनाका माध्यमबाट सौन्दर्य प्रदान गर्ने कलालाई ललितकला भन्ने गरिन्छ । जुन कलामा लालित्य गुण प्रधान हुन्छ, त्यसलाई ललितकला भन्दछन् । 

अरुलाई आकर्षण गर्न सक्ने कला जसले आनन्दको सिर्जना गर्छ भने त्यसलाई ललितकला मानिन्छ । कलाको मानव जीवनसँग अति नै गहिरो सम्बन्ध रहिआएको छ । कलाविनाको मानवजीवन निरस र दुःखमय हुन्छ । साहित्य र कलाका विशिष्ट विद्वानले ललितकलालाई ५ भागमा विभाजन गरेका छन् । 

१. काव्यकला
२. सङ्गीत कला    
३. मूर्तिकला    
४. चित्रकला     
५. वास्तुकला

मानिसहरु यिनै पाँचवटा कलाको माध्यमबाट आफ्ना मनका भावनालाई कलात्मक रुपमा प्रस्तुत गर्ने गर्दछन् । ललितकलाका यी विधासँग नृत्यकलाको अन्तरसम्बन्ध गहिरो हुन्छ । 

क. नृत्यकलाको काव्यकलासँग सम्बन्ध :

कविद्वारा सम्पन्न भएका कार्य अर्थात् तिनका सृजनात्मक कृतिलाई सामान्यतया काव्य भनिन्छ । कवि काव्यको रचना आफ्नो कल्पनाशक्तिले शब्दद्वारा गर्दछन् । आफ्नो कल्पनाशक्तिद्वारा जसले सुन्दर शब्दले आफ्नो मनका भाव व्यक्त गर्नसक्छ, त्यो नै सफल कवि मानिन्छ । काव्यकलाको रचना, छन्द, अलङ्कार, नायक, नायिका, भेद, रस, भाव आदिमा आधारित हुन्छ नृत्यकला पनि बोलहरुको रचना, छन्द, अलङ्कार आदिमा आधारित हुन्छ । भाव वा अभिव्यक्तिका लागि नृत्यकलामा रस, नायक, नायिका, भेद आदिको आश्रय लिन्छन्, जब काव्यकला नृत्यकलामा परिणत हुन्छ तब त्यो सजीव भएर आउँछ । 

कविले लेखेको काव्यमा जब नृत्यकार वेशभूषा, रुपसज्जा, चरित्र आदिको भाव प्रदर्शन गर्दा कविले त्यसलाई हेरेमा उसको काल्पनिक नायक, नायिका त्यही खडा हुन्छ र कवि आनन्दले विभोर हुन्छ । यसप्रकार हामी देख्न सक्छौँ कि नृत्यकलाको गहिरो सम्बन्ध काव्यकलासँग रहेको छ ।

ख. नृत्यको सङ्गीतकलासँग सम्बन्धः

गायन, वादन र नृत्यको सम्मिश्रण नै सङ्गीत हो । नृत्यकलाको सङ्गीतकलासँग सम्बन्ध मात्र भएको होइन कि अरु यो उसको अभिन्न अङ्ग पनि हो । यी दुई नङ र मासुजस्तै मिलेका हुन्छन् । शास्त्रीय नृत्य होस् वा लोकनृत्य, सबैमा सङ्गीतकलाको ठूलो महत्व छ । विनासङ्गीतकला नृत्यकला शून्य छ । नृत्यकला तालमा अडिएको हुन्छ । ताल वाद्यहरु जस्तै ः तवला, मृदङ्ग, मादल, तिन्छु आदि सबैले नृत्यकला र सङ्गीतकलालाई ताल दिएर प्राण भर्ने काम गर्दछन् । नृत्यकारहरु सङ्गीतको प्रमुख अंग लय र तालमा आधार लिएर नाच्दछन् । त्यसैगरी स्वरको माध्यमबाट कुनै पनि नृत्यकार कुशलतापूर्वक रसभाव आदिको प्रदर्शन गर्न सक्दछ । पृष्ठ सङ्गीतले नृत्यका भावमा ज्यान भरिदिन्छ । त्यसैले नृत्यको सङ्गीतकला एक अभिन्न अङ्ग हो । 

ग. नृत्यको मूर्तिकलासँग सम्बन्ध ः

कुनै एक मूर्तिकार पत्थरलाई छिना, घन, हतौडा आदिको प्रयोग गरी कलात्मक मूर्ति बनाउँछ र त्यसबाट उसले प्रत्येक युगको इतिहास दर्शाउँछ । मूर्तिकला प्राचीनकालदेखि चल्दै आएको कला हो । प्राचीन गुफाहरु तथा खण्डहरबाट प्राप्त मूर्तिको अध्ययन गर्दा हामी त्यस युगको कला संस्कृतिको ज्ञान लिन सक्छौँ । मूर्तिकारले आफ्नो युगमा प्रचलित नृत्यलाई पत्थरका मूर्तिमा ढालिदिन्छ र यिनै मूर्तिले आउने युगलाई शिक्षा दिन्छन् । आज पनि प्राचीन मूर्तिबाट त्यस समयमा प्रचलित नृत्यका मुद्राहरु सिक्न सकिन्छ ।

यसरी प्राचीनकालका नृत्यकलाको अध्ययन गर्न सकिन्छ । आजभोलि त मूर्तिकार नृत्यका विभिन्न मुद्राहरु प्रयोग गरी मूर्ति बनाएर विदेशी पर्यटनहरुलाई बेची आम्दानीको राम्रो स्रोत बनाउन सफल भएका छन् । यसले गर्दा आफ्नो देशको कला र संस्कृतिमाथि उठाउन सजिलो भएको छ । यस प्रकार नृत्यकलाको सम्बन्ध मूर्तिकलासँग अलग रहन सक्दैन । 

घ. नृत्यकलाको चित्रकलासँग सम्बन्ध ः

एक चित्रकार आफ्नो कुची र रङद्वारा क्यानभास, कागज, कपडा, काठ तथा भित्तामा चित्र बनाउँछ अनि आफ्ना मनभित्र भएका भावनाहरु अभिव्यक्ति गर्दछन् । प्राचीनकालका भित्तेचित्रलाई देख्दा चित्रकला र नृत्यकलाको सम्बन्ध पहिलेदेखि नै गाढा रहँदै आएको पाइन्छ । मल्लकाल र किराँतकालका चित्रद्वारा हामीलाई त्यस युगको नृत्यकलाको ज्ञान हुन्छ । एक चित्रकारले नृत्यका विभिन्न मुद्राहरु चित्रमा उतारी कोसौँ टाढासम्म नृत्यको शिक्षा दिन सक्छ । 

नृत्यका पुस्तकमा यसका चित्रहरु दिँदा अध्ययनको लागि अति नै उपयोगी हुन्छ । अन्ततः चित्रकला नृत्यकलाको लागि एक वरदान सिद्ध भइसकेको छ । एक नृत्यकारलाई रुपसज्जा, भेषाभूषा आदिले अलंकृत गर्नु एक चित्रकारकै कार्य हो । 

आजभोलि चलचित्रको विकासले गर्दा चित्रकला र नृत्यकला झन् नजिक भएका छन् । सामान्य व्यक्तिलाई चित्रकारले पर्दामा नायक नायिकाका रुपमा ल्याइदिने कार्य गर्दछन् । त्यसैले हामी चित्रकलाको पनि नृत्यकलासँग गहिरो सम्बन्ध छ भन्न सक्छौँ ।

ङ. नृत्यकलाको वास्तुकलासँग सम्बन्ध :

वास्तुकलाको छत्रछायाँमा अन्य कलाहरु हुर्कन्छन् र जिउँदो रहिरहन्छन् । कवि, सङ्गीतज्ञ, मूर्तिकार तथा चित्रकार आदि सबै एक वास्तुकलाद्वारा निर्मित भवनमा सुरक्षित र सुशोभित रहन्छन् । 

त्यसकारण वास्तुकलालाई अन्य कलाको संरक्षक मानेमा पनि कुनै अतियुक्ति हुँदैन । वास्तुकलाले सयौँ दर्शक अट्ने हल (रङ्गशाला) निर्माण गर्न आफ्नो बुद्धिविवेक प्रयोग गरी कलात्मक भवन तयार पार्दछ, जहाँ नृत्यकार आफ्नो कला प्रस्तुत गर्न सक्छन् । अतः वास्तुकलाबाट नृत्यकलालाई अलग गर्न सकिदैंन ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर