• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

बिक्री केन्द्र नहुँदा किसानलाई समस्या

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडामा तरकारी बिक्री केन्द्र नहुँदा किसानलाई समस्या भएको छ । किसानले उत्पादन गरेको तरकारी घर घरमा पुगेर बिक्री गर्नुपर्ने बाध्यता छ । 

उपमहानगरपालिकाका १९ वडाका अधिकांश किसान कृषि पेशामा आबद्ध छन् । पछिल्लो समयमा धेरै किसानले व्यावसायिक रुपमा कृषि पेशा अपनाएका छन् । उनीहरुले उत्पादन गरेको तरकारी भने बिक्री गर्न धौधौ हुने गरेको छ । ‘सडकमा बसेर तरकारी बिक्री गर्नुपर्ने बाध्यता छ,’ स्थानीय किसान छोटीराम चौधरीले भने, ‘सडकमा बसेर तरकारी बिक्री गर्दा दुर्घटनाको जोखिम रहन्छ ।’

तरकारी बिक्री गर्नका लागि घरघरमा पुर्याउँदा उचित मूल्य नपाएको तुलसीपुर–११ का जागेश्वर भण्डारीको गुनासो छ । उनले सम्बन्धित निकायले समस्या समाधान गर्न पहल गर्नुपर्ने बताए । ‘तरकारी बिक्री गर्नका लागि निश्चत स्थान छैन, कहिले कुनै व्यक्तिको घरमा त कहिले सडकमा बसेर तरकारी बिक्री गर्नुपर्छ,’ उनले भने । किसान भाडा तिरेर अरुको पसल अगाडि तरकारी बिक्री गर्दै आएका छन् । 

मानपुरकी धनमति चौधरी बिक्री केन्द्र नहुँदा तरकारी बारीमै थन्किने गरेको बताउँछिन् । उनले तरकारी बिक्री केन्द्र स्थापनाका लागि स्थानीय तहसँग माग गरे । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले किसानको माग उचित भएको बताए । ‘तरकारी बिक्री केन्द्र निर्माणका लागि पहल भइरहेको छ,’ उनले भने । तुलसीपुरको सेन्टर माविको जग्गा भाडामा लिएर तरकारी बिक्री केन्द्र निर्माण गर्ने योजना रहेको पाण्डेको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर