हाइड्रोको लगानी बन्ला है बालुवामा पानी !

काठमाडौं । लगानीको आकर्षक क्षेत्रका रुपमा जलविद्युतलाई पनि लिने गरिन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा तथा सम्मेलन र भेटघाटमा समेत जलविद्युत विकासको विषयले प्राथमिकता पाउने गर्दछ ।

नेपाली पूँजी बजारमा पनि विगतको तुलनामा जलविद्युत कम्पनीको संख्या उल्लेख्य मात्रामा बढेर गएको छ । हालका दिनसम्म पनि बैंक तथा वित्तीय संस्थाको बर्चश्व रहेको पूँजी बजारमा जलविद्युत कम्पनीको संख्या बढ्दो क्रममा नै छ । तर, बजार घट्ने क्रममा रहेका कारण जलविद्युत् क्षेत्रको सेयरको अवस्था पनि खराब बन्न पुगेको छ ।

पछिल्लो समय जलविद्युत कम्पनीको प्राथमिक सेयर बिक्री हुन हम्मेहम्मे नै परेको छ भने दोस्रो बजारमा सूचीकृत कम्पनीको सेयर भाउ निरन्तर घट्दो अवस्थामा छ । 

सामान्य अवस्थामा पनि लगानीकर्ताको रोजाइमा खासै नपर्ने जलविद्युत कम्पनी बजारको लगातार घटाइसँगै थप मारमा परेका छन् । सेयरधनीलाई राम्रो लाभांश दिन नसक्ने भएपछि जलविद्युत कम्पनीहरुको सेयर मूल्य ओरालो लाग्न थप बल पुगेको देखिन्छ ।

बिहीबार दोहोरो अंकले बजार घटेसँगै तीन वर्षअघिको विन्दुमा आइपुगेको नेप्सेमा अधिकांश जलविद्युत कम्पनीको सेयर भाउ आइपिओको मूल्य बराबर छ । 
कुल २१ जलविद्युत कम्पनीको सेयरमध्ये तीनवटाको मात्रै तुलनात्मक रुपमा राम्रो भन्न सकिने देखिएको छ । 

बिहीबारको बजार मुल्य हेर्दा नेप्सेमा सूचीकृत २१ कम्पनीमध्ये १४ कम्पनीको सेयर भाउ एक सय रुपैयाँदेखि दुई सयको बीचमा कायम छ । त्यस्तै दिव्यश्वरी हाइड्रो, खानीखोला जलविद्युत, नेसनल हाइड्रोपावर कम्पनी र सिनर्जी पावर डेभलपमेन्टसहित चार कम्पनीको सेयर मुल्य आइपिओभन्दा तल अर्थात सय रुपैयाँभन्दा कम रहेको देखिन्छ । 

सबैभन्दा सेयर मुल्य कम भएको कम्पनी हो, नेसनल हाइडोपावर । जसको बिहीबार प्रतिकित्ता सेयर मूल्य ७० रुपैयाँ कायम छ । नेप्सेमा सूचीकृत कम्पनीमध्ये सम्भवतः सबैभन्दा पुरानो कम्पनी भए पनि जति सेयरधनीले सो कम्पनीको सेयर खरिद गर्दा लगानी गरेका थिए, त्योभन्दा खासैमाथि जान सकेको छैन । सञ्चालकबीचको द्वन्द्वका कारण सो कम्पनीको सेयर मुल्यमाथि जान नसकेको बताइन्छ । यद्यपी अहिले भने कम्पनीको विवाद साम्य भएको छ । नयाँ आयोजना निर्माण गर्न नसकेको र सञ्चालनमा आएको पुरानो आयोजनाको मर्मतसम्भार पनि गर्न नसकेका कारण लगानीकर्तालाई लाभांशसमेत वितरण गर्न नसकेको यो कम्पनीको सेयर भाउ करिब दुई वर्षयता फेस भ्यालु (१००) को वरिपरी नै घुमिरहेको छ ।

यसैगरी, सबैभन्दा सेयर मुल्य कम भएको दोस्रो कम्पनी हो, खानीखोला जलविद्युत । यसको सेयर मूल्य ९१ रुपैयाँ रहेको छ । सबैभन्दा कम सेयर मुल्य भएको तेस्रो कम्पनी हो, दिव्यश्वरी हाइड्रो । यसको बिहीबार बजार बन्द हुँदा सेयर मुल्य ९५ रुपैयाँ रहेको छ ।

यसैगरी, सबैभन्दा सेयर मुल्य कम भएको चौथो जलविद्युत कम्पनी हो, सिनर्जी पावर डेभलपमेन्ट । यस कम्पनीको सेयर मूल्य ९८ रुपैयाँ छ । 

नेप्सेमा सूचीकृत बुटवल पावर, चिलिमे जलविद्युत कम्पनी र सानिमा हाइड्रो पावरको भने केही बढी सेयर मुल्य देख्न सकिन्छ । यद्यपि कम्पनीहरुको यो मुल्यलाई पनि सहज मान्न सकिने अवस्था भने छैन । अघिल्लो वर्ष ५०१ रुपैयाँ प्रतिकित्तामा फर्दर पब्लिक अफरिङ एफपिओ जारी गरेको बुटवल पावरको बिहीबार बजार बन्द हुँदा सेयर भाउ ४३७ रुपैयाँ कायम छ । यसरी हेर्दा एफपिओका लगानीकर्ताले एक कित्तामा ६४ रुपैयाँ नोक्सानी रहेको देखिन्छ । जलविद्युतमा सबल कम्पनीका रुपमा स्थापित चिलिमेको सेयर भाउ ६ सय ३९ र सानिमा हाइड्रो पावरको सेयर भाउ २३० रुपैयाँ प्रतिकित्ता कायम छ  ।

हेरौं कुन कम्पनीको सेयर मुल्य कति  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर