• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

संरक्षणको पर्खाइमा कुमाल जातिको हेम्फै नाच

सुवास गौतम/बागलुङ । चिटिक्क सजिएकी युवती, सानो टाउको तर ठूलो शरीर । होचो तर छमछमि नाच्ने । पछि पछि लाहुरेले पछ्याइरहेको । झट्ट हेर्दा अनौठो लाग्ने । दर्शकमाझ खासखुस । अनि बीचैमा प्रश्न सोधिन्छ – कहाँबाट ल्याएको ? कस्ती डल्ली ? के काम गर्ली ? हामीकहाँ काम आउँला कि नआउँला ? यस्ता सबै प्रश्नको गीतबाट उत्तर दिँदै काम गरी देखाउने कुमाल जातिको नाच हो ‘हेम्फै’ । 

बागलुङको पश्चिम क्षेत्र तथा गुल्मीको मुसिकोट नगरपालिकामा परापूर्वकालदेखि कुमाल जातिमा देखाइँदै र नाचिइँदै आइएको लोपोन्मुख हेम्फै नाच हिजोआज फेरि देखाउन थालिएको छ । हेम्फैको खास अर्थ पत्ता नलागे पनि केटा र केटीबीचको सम्बन्ध हो भन्ने नाचबाट बुझ्न् सकिन्छ । विशेष गरी पहिले रोदी बस्ने चलनसँग यसको सम्बन्ध देखिन्छ । रोदी घरमा मलायाको लाहुरेले उतैबाट विवाह गरी घरमा ल्याएको प्रेमिकालाई रोदीमा पु¥याउने र रोदीमा जम्मा भएका सबैले प्रश्न सोध्ने गरिन्छ । नयाँ नानीलाई कसरी ? किन ? कहाँबाट ? लिएर आएका भनी सोध्ने र आफ्नो समाजमा हुने सबै काम जाने नजानेको परीक्षा लिने विषयसँग यो नाच जोडिएको छ ।

लाहुरेले प्रेमिकाका सकारात्मक कुरा गर्ने, आफूले जीवनभर धोका नदिने वाचा गर्ने, रोदीमा उपस्थित सबैसँग रमाइलो गरी आफूले मलायाबाट ल्याएको कोसेली बाँड्ने र सबैसँग नाच्ने कथाका रुपमा हेम्फै नाचलाई लिन सकिन्छ । गाउँघरका यस्ता सांस्कृतिक नाचहरु नेपाली सामाजिक परिवेशसँग जोडिएका छन् । तत्कालीन सामाजिक परिवेशमा उनीहरु त्यसैमा रम्थे । आजभोलि आधुनिकता र प्रविधिको विकाससँगै त्यस्ता मौलिक संस्कृति सङ्कटमा पर्दैगएको छ । ‘बडिगाड गाउँपालिकाले हेम्फै नाचको संरक्षणका लागि आगामी दिन बजेट विनियोजनै गरेर काम थाल्नेछ,’ बडिगाड गाउँपालिकाका अध्यक्ष मेयर सिंह पाइजाले भने, ‘केही वर्षमा हेम्फै नाचलाई सबैले चिन्ने र बुझ्ने गरी अगाडि बढाउने छु ।’ यो नाच भाद्र कृष्ण पक्षको औंसीका दिन सुरु गरिन्छ र शुक्ल पक्षको पूर्णिमाका दिन विशेष पूजा आराधनासहित सम्पन्न गरिन्छ । 

एकातिर रोदीको समाजले रोदी गाइरहने र अर्कातर्फ कमेरो र माटोको प्रयोग गरेर बनाइएका चन्द्रमा र सूर्यको प्रतीकमा उपस्थित सबैले फूलले पूजा गर्ने चलन छ । भाद्र कृष्ण पक्षको औंसीमै फूल टिप्न दुई कन्याको छनोट गरिन्छ र उनीहरुले टिपेको फूलबाट मात्रै पूर्णिमाका दिन पूजा गर्ने गरिन्छ । तर ती फूल भने सबैले चढाउन सक्ने यसको विधि छ । रातभर हेम्फै र लाहुरेलाई नचाई बिहान तिनै उपवास बसेका दुई कन्याले चढाइएका ती सबै फूलहरुको डोली बनाउँछन् र सबैजना नाच्दै गाउँदै नदी किनारमा लगी सेलाउने काम हुन्छ । मानिसहरु रोदी घरमा जम्मा भई घरभित्र रहेकी हेम्फैलाई बोलाउने, हेम्फै लिएर सँगै लाहुरे आउने क्रमसँगै  गाइने सुरुको टुक्का यस्तो हुन्छ – 
हा हा हो ... 
माला र मुग्लानै बाट, आयो मेरो हेम्फै 
माला र मुग्लानै बाट, आयो मेरो हेम्फै 
माला र मुग्लानै बाट, ढोका खोल हेम्फै 
माला र मुग्लानै बाट, बाटोे खोल हेम्फै 
बीचबीचमा गीत रोकी लाहुरेसँग कहाँबाट ? 
किन ? 

लिएर आएको हो यस्ती डल्ली नराम्रीलाई भनेर ठट्टा गर्ने गरिन्छ । 
बीचमा

हा हा हो ......... 
माला र मुग्लानै बाट, नाच मेरो हेम्फै 
माला र मुग्लानै बाट, दैलो लिप हेम्फै 
माला र मुग्लानै बाट, जाँतो पिस हेम्फै 
माला र मुग्लानै बाट, ढिकी कुट हेम्फै 

यसरी सबै कामको परीक्षा लिने काम हुन्छ । सबै परीक्षा सकिएपछि यसरी गाइन्छ – 
माला र मुग्लानै बाट, भित्र पस हेम्फै 
माला र मुग्लानै बाट, भित्र पस हेम्फै 

(कतै बर्मा र मधेसैबाट भन्ने पनि छ । ) 

यसरी हेम्फैभित्र पसे पनि लाहुरे चाहीँ बाहिरै रहने र लाहुरेसँग सबै संगीहरुले रमाइलो गरी नाच्ने र कोसेली माग्ने गरिन्छ । लाहुरेले सबैजनासामु कोसेली पु¥याउने र निकै रमाइलो गरी हेम्फैमा नाच्ने गरिन्छ । गीतका भाव र कर्म हेर्दा यो पहाडी भूगोलमा नाचिने नाच हो भन्न सकिन्छ । खासगरी बागलुङ, गुल्मी, गोरखा, तनहुँ र लमजुङमा हेम्फै नाच्ने गरिन्छ ।

यद्यपि, हाल यो नाचको अवस्था लुप्त प्रायः छ । नयाँ पुस्ता यसप्रति आकर्षित नभएकाले पुस्तान्तरण नभए लोप हुने खतरा बढेको छ । मंसिर १ देखि ९ गतेसम्म सञ्चालित प्रथम बडिगाड महोत्सवमा हेम्फै नाच प्रदर्शन गरिएको थियो । हेम्फै नाच महोत्सवको प्रमुख आर्कषणको रुपमा रहेको थियो । महोत्सव हेर्न आउने दर्शक हेमबहादुर क्षेत्रीले हेम्फै नाच आफूले पहिलोपटक हेर्न पाएको प्रतिक्रिया दिए । खासगरी बडिगाड गाउँपालिका र गुल्मीको मुसिकोट नगरपालिकामा रहेका कुमाल समुदायको यो नाच अति लोपोन्मुख अवस्थामा छ । गुल्मी मुसिकोट नगरपालिकाका टेकबहादुर कुमालले भने, ‘हेम्फै नाचलार्ई प्रवद्र्धन गर्न सकियोस् भनेर मेला तथा उत्सवहरुमा प्रदर्शन गर्न थालेका छौं ।’ 

‘हेम्फै नाचका बारेमा धेरैलाई थाहा छैन,’ बागलुङ जिल्ला बडिगाड गाउँपालिका–३ हाँडिखोलाका झलक कुमालले भने, ‘अचम्म खालको यो नाचको उचित व्यवस्थापन गर्न सकिए निश्चित रुपमा पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ ।’ हेम्फै नाच हेर्ने जो कोही अचम्ममा पर्छन् र मन्त्रमुग्ध हुन्छन् । मनै लोभ्याउने यस्तो नाचलाई स्थानीय स्तरमा घरबास (होमस्टे) सञ्चालनसँगै पाहुनासामु पस्किन सकिने बडिगाडका स्थानीयवासी मुना कुमाल बताउँछिन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर