• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अरिङ्गालको ‘फ्राई’ बेचेर मनग्य आम्दानी

पाल्पा । रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका गम्भीर आलेले अरिङ्गालको व्यापार गर्छन् भन्दा अनौठो मान्नु पर्दैन । विगत ६ वर्षदेखि उनले होटल रुपटपमा अरिङ्गालको ‘फ्राई’ बेच्दै आएका छन् । अरिङ्गालको व्यापार गरेरै आलेले यस याममा ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गरे । 

अरिङ्गालको परिकार निकै स्वादिलो हुन्छ । होटलमा अरिङ्गालको परिकार चाख्नका लागि ग्राहकको भीड लाग्छ । यही व्यापारबाट उनले मनग्य आम्दानी गरिरहेका छन् । ‘यस वर्ष अरिङ्गालले गोलो कम लगाएपछि आम्दानीमा कमी आयो,’ उनले भने । गत वर्ष एक लाख ५० हजार रुपैयाँ भन्दा बढी आम्दानी भएको उनको भनाइ छ । अरिङ्गालको गोलोलाई निकै जोखिम मोलेर पोल्नुपर्ने हुन्छ । 

होटलमा ग्राहकले अरिङ्गालको परिकार बढी रुचाउने गरेका छन् । प्रतिकिलो अरिङ्गाल एक हजार २०० रुपैयाँमा खरीद हुन्छ । आलेले एक प्लेट अरिङ्गालको परिकारलाई रु २५० मा बिक्री गर्छन् । ‘ग्राहकको माग पूरा गर्न सकेका छैनौँ,’ उनले भने । अरिङ्गालको परिकारले औषधिको काम गर्छ । सदरमुकाम तानसेन, पोखरा, काठमाडौँ, तम्घास, बुटवललगायत ठाउँबाट अरिङ्गालको माग हुँदै आएको छ । 

रिब्दीकोट गाउँपालिका–४, भारकोटका ज्ञानबहादुर आलेले हालसम्म १८÷१९ अरिङ्गालको गोला पोलेको बताए । भैरवस्थानमा प्रतिकिलो अरिङ्गाललाई एक हजार २०० रुपैयाँ र तानसेनमा एक हजार रुपैयाँ ५०० रुपैयाँमा बिक्री हुन्छ । अग्ला रुखमा अरिङगालले गोलो लगाउने भएकाले पोल्न समस्या हुन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर