• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

धर्म, मार्क्सवादी सिद्दान्त र नेपालका कम्युनिष्टहरु

नेपालमा भर्खरै एसिया प्यासेफिक समिट नामको भव्य कार्यक्रम भयो । यो कार्यक्रमको आयोजना युनिभर्सल पिस फाउण्डेशन नामक क्रिश्चियन धार्मिक एनजिओले गरेको भन्ने कुरा स्पष्ट देखियो । यस कार्यक्रममा दुई तिहाई बहुमतको सरकारको संलग्नता त देखियो नै

लेखक

अझ यस कार्यक्रममा दशकौं देखि नेपालका अब्बल माक्र्सवादी नेता भनेर चिनिएका नेपाली कम्युनिष्ट आन्दोलनका हस्तिहरु नै बडो गर्वका साथ उपस्थित भएका देखिए ।

आफूलाई परमात्माकि छोरी भनेर घोषणा नै गरेकी युनिफिकेशन चर्च कि प्रमुख हक जा हान मुनबाट क्रिश्चियन कर्म अनुरुप आशिर्वाद थापेर नेपालका कम्युनिष्टहरु र बिशेषः गरि प्रधानमन्त्री तथा नेकपाका अध्यक्षले समग्र कम्युनिष्ट आन्दोलनको दार्शनिक पक्षमाथि नै प्रहार गरेका छन् ।

यसै सन्दर्भमा नेपालका माक्र्सवादी र कम्युनिष्ट हस्तिहरु भनिएका नेतृत्व समक्ष कम्युनिष्ट आन्दोलन, माक्सवादी दर्शन र आध्यात्मिक आचरण सम्बन्धमा वहाँहरुकै बिद्यार्थीहरुबाट प्रश्न गर्नुपर्ने अवस्था सृजना भएकोछ ।

नेपाली कम्युनिष्ट नेता र आध्यात्मवाद 
माक्र्सवाद र धर्म एकअर्काका परस्पर विरोधी दर्शन हुन । संसारमा भौतिकवादका सम्बन्धमा धेरै दर्शनहरु प्रतिपादन भए तर ती ठोस तर्क, बैज्ञानिक आधार र सत्य दर्शनसंग मेल खाने खालका थिएनन् । कार्ल माक्र्स नै त्यस्ता व्यक्ति थिए जसले आध्यात्मवादको विकल्पमा द्वन्दात्मक भौतिकवाद जीवन र जगतको सत्य खोज्ने दर्शनका रुपमा स्थापित गरे । 

नेपालमा पनि २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएपछि राजनैतिक संघर्षसँगै साँस्कृतिक सँघर्षको पनि बिकास हुँदै आएकोछ । तथापी माक्र्सवादी राजनीति गर्नेहरु लुकेर आध्यात्मवादको सेवक बन्ने गरेको प्रशस्त उदाहरणहरु पनि देखिँदै आएको हो । 

कमरेड पुष्पलालले भन्नु भएको छ कि पाँच “प”ले नेपाली समाज पछि परेको छ – पुर्पुरो , परम्परा , परमेश्वर , पुनर्जन्म , परलोक । बास्तवमै नेपालीहरु प्ुाुर्पुरो अर्थात भाग्यमा भर पर्ने , परम्परा अर्थात रुढिग्रस्त सामन्ती चलनमा रम्ने, परमेश्वर अर्थात काल्पनिक शक्तिमा बिश्वास गर्ने , पुनर्जन्म अर्थात कथित धर्मकर्म अनुसार अर्को जन्म हुने गलत बिश्वासमा रमाउँने र परलोक अर्थात श्रमजीवीलाई झुक्याउने कथित अर्को लोकको कल्पनाका कारणले पछि परेका छन् ।

पुष्पलालले कम्युनिष्ट आन्दोलनलाई दिशाबोध गर्न कै लागि पाँच “प” को कुरा अघि सार्नुभएको थियो । आज झण्डै सत्तरी बर्षपछि त्यहि कम्युनिष्ट आन्दोलनका हस्तिहरु कहिले भैंसी पूजा गर्न, कहिले कालोबोको काटेर पदभार लिन, कहिले छठको आरती बोक्न, कहिले गलेश्वर महादेवको आरती गर्न र कहिले क्रिश्चियन धर्म गुरुको हातबाट आशिर्वाद थाप्न गर्व गर्न पुग्नु कदाचित सुखद कुरा हैन । त्यतिमात्र हैन कम्युनिष्ट दर्शनबाट उदाएकि राष्ट्रपतिले एउटा अर्को मानिसलाई दासलाई आशिर्वाद र टीका लगाईदिए जस्तो व्यवहार जब देखिन थाल्छ तब नेपाली कम्युनिष्ट सँस्कृतिभित्र डरलाग्दो बादल मडारिन थालेछ भन्न बाध्य हुनुपर्छ ।

कम्युनिष्टहरुले ईश्वर र धर्म मान्दैनन् । यो सार्वभौम सत्य हो । तर कम्युनिष्टहरुले जनतालाई धर्म नमान्न दबाव र दमन पनि गर्दैनन् । बरु बैज्ञानिक चेतनाको प्रचारप्रसार गर्दै जनतालाई द्वन्दात्मक भौतिकवादी बन्न प्रयत्न गर्छन ।

त्यति मात्र हैन कम्युनिष्टले अमूक धर्मलाई राज्य बनाउँने र सो राज्य मार्फत अरु धर्महरुलाई दमन गर्ने परिपाटीको विरोध गर्छन । नेपाल धर्म निरपेक्ष बन्नुको पछाडि यहि एक धर्मले अरुमाथि आन्तरिक अतिक्रमण नगरोस् भन्नका लागि हो । त्यसोभन्नुको अर्थ हिन्दू धर्मको अन्धविश्वासको ठाउँमा क्रिश्चियन धर्म वा अरु धर्मको अन्धविश्वासलाई समर्थन कम्युनिष्टहरुले गर्ने कुरै आउँदैन । यो त केवल धार्मिक स्वतन्त्रताको पक्षमा कम्युनिष्टहरुले आवाज उठाईदिएको हुन । यथार्थमा कम्युनिष्टहरु नस्तिक नै हुन्छन । नेपालका कम्युनिष्टहरुको ठूलो समूह र नेतृत्वले अब सत्तरी बर्ष पुगेपछि पूनः धर्म र ईश्वरकै प्रार्थनामा यतिसम्म गरेपछि माक्र्सवादको सृजनात्मक प्रयोग भन्ने बिषय कता हराउला ?

मेक्सिम गोर्किले भन्नु हुन्थ्यो, “ मानिसले जस्तो जीवन व्यतित गर्छ, उसको बिचार पनि त्यस्तै हुन्छ ।” बर्तमानमा राज्यसत्ता पूर्णरुपले हातमा नआई शासनसत्तामा मात्र पुगेको अवस्थामा पुराना धर्मले खडा गरेको समग्र जीवनशैलीसँग नाता तोड्न कठिन हुँदा हुँदै अन्ततः त्यहि जीवनमा भुलिएर बिचारको स्खलन हुन थालेको त हैन नेपाली कम्युनिष्ट आन्दोलनका यी नेताहरुलाई ? भन्ने प्रश्न जोडदाररुपले अगाडि आएकोछ । 

अब त यी कम्युनिष्ट नेताहरुलाई सम्झाउँनु पर्ने भएको छ कि एउटा कम्युनिष्ट कहिले पनि हिन्दू, क्रिश्चियन, बुद्धिष्ट हुन सक्तैन, ऊ बिल्कूल भौतिकवादी हुन्छ र उसको बिश्व दृष्टिकोण बेद,पुराण,मुन्धुम,बाइबलबाट हैन द्वन्दात्मक भौतिकवादी चेतनाबाट बनेको हुन्छ ।

साँस्कृतिक साम्राज्यवाद र क्रिश्चियन धर्म 
पुँजीवादले बजार बिस्तारका क्रममा आफ्नो उपनिवेश तयार गर्दै साम्राज्यवादमा फड्को हान्ने गर्छ । साना, गरीब, पिछडिएका देशहरुमा साम्राज्यवादीहरु जोडतोडका साथ बजारबिस्तारमा लाग्छन । यसरी बजार बिस्तार गर्ने क्रममा पहिले पहिले साम्राज्यवादीहरुले साना र कमजोर देशहरुलाई युद्धबाट जितेर आफ्नो अधिनमा पार्थे । बेलायती साम्राज्यवादले इष्ट इण्डिया कम्पनी मार्फत सूर्य नअस्ताउँने साम्राज्य खडा गर्दै भारतसम्म आएको इतिहास छ ।

पहिले व्यापारको सिलसिलामा कमजोर देशमा छिर्ने र त्यहाँ ब्यापारिक प्रभुत्व कायम गरेर कब्जामा लिने र ब्यापारिक प्रभुत्व कायम गर्न नसके युद्ध गरेर जित्ने र उपनिवेश बनाउँने साम्राज्यवादको पुरानो बिशेषता हो । साम्राज्यवादी देशहरुको यस्तो साम्राज्यविस्तारको क्रममा कमजोर देशहरुलाई उपनिवेश बनाउँने होडबाजी चल्न थाल्यो जसले उनीहरुबीच आफैंमा अन्तर्बिरोध पैदा ग¥यो र प्रथम बिश्वयुद्ध हुन पुग्यो ।

प्रथम बिश्व बिश्वयुद्ध पछि समाजवादी क्रान्ति लहर बिश्वभर चल्न थाल्यो तर दोस्रो बिश्वयुद्धमा समाजवादी देशहरु पनि हिटलरी साम्राज्यवादका विरुद्ध हार्दै गएका अर्का साम्राज्यवादीहरुसँग मिलेर लड्नुपर्ने अवस्था आयो । बिश्वयुद्ध पछि  साम्राज्यवादलाई धक्का लाग्न थाल्यो र समाजवादको झिल्को जताततै उठ्न थाल्यो । त्यसपछि साम्राज्यवादीहरुले प्रत्यक्ष हस्तक्षेपबाट हैन सूचना, प्रविधि मार्फत सँस्कृतिमाथि हमला गरेर जाने रणनीति बनाएको स्पष्ट देखिन्छ ।

हाल आएर नेपाल जस्ता गरीब तर राजनैतिक महत्वका देशहरु भित्र पसेर त्यहाँको रैथाने धर्मका विकल्पमा क्रिश्चियन धर्मलाई स्थापित गर्न मिसनका रुपमा अस्पताल र शैक्षिक सँस्थामा पस्ने र रैथाने धर्मलाई तहसनहस गरेर क्रिश्चियनवाद लागु गर्ने भयंकर ठूलो योजना अगाडि सारेका छन् साम्राज्यवादीहरुले । 

हाम्रो जस्तो देशमा इस्लाम र बौद्ध धर्मले हिन्दू धर्ममाथि त्यति हस्तक्षेप गरेका देखिन्न तर ईसाई (क्रिश्चियन) धर्म भने बडो मिहिन प्रकारले आक्रमक भएर आएको छ । बिदेशको लगानीमा अस्पताल, स्कूल खोलेर समाजसेवा गरेजस्तो गर्दै दुर्गम क्षेत्रमा छिर्ने, अस्पतालका बिरामीहरु र बिद्यालयका छात्रछात्राहरुमा ईसा मसिह (जिसस क्राइष्ट) का चमत्कारहरु ब्याख्या गराउँने र साना पुस्तिकाहरु निशुल्क बाँडेर उनीहरुको मनोबिज्ञान खिँच्ने ।

बिरामीहरुको रोग निदानमा र बिद्यार्थीहरुको अध्ययन क्षमतामा जिसस क्राइष्टको आशिर्वाद छ भन्ने मनोबिज्ञान छर्ने । क्रिश्चियनहरु यसरी मनोबैज्ञानिकरुपले गरीब, उत्पिडित जनताको बीचमा पुगेका छन् । यो अभियान नेपालमा मात्र हैन अरु गरीब र अविकशित देशहरुमा पनि उत्तिकै प्रभावकारीरुपमा हुने गरेको छ ।

त्यस्तै कोट पाइण्ट, टाई लगाएर सामान्यभन्दा समृद्ध बनेर गाउँ पस्ने । उत्पिडित समूदायकाबीचमा गई उनीहरुको मन जित्ने । हिन्दू धर्मले गरेको छुवाछुतको बिकल्पमा समानता ल्याउँने ढंगको व्यवहार गर्ने अनि बिस्तारै साह्रै मैत्रीपूर्ण व्यवहारबाट मन जित्ने र क्रमशःयेशुको प्रचार गर्दै क्रिश्चियन बनाउँने । 

केहि पढेलेखेकाहरुका बीचमा वातावरण प्रदुषणले बिश्व भयावह बनेको ठूला तर्कहरु दिने । वातावरण प्रदुषण कसरी घट्ला भनेर साना पुस्तिकाहरु मार्फत बिस्तारै बिस्तारै त्यो समूदायमा छिर्ने , त्यसपछि विभिन्न एनजिओ, आइएनजिओमा उनीहरुलाई आबद्ध गर्ने र आर्थिक भरथेगमा जोडेर क्रमशः क्रिश्चियन धर्म र सँस्कृतिमा नजानिँदो गरी संलग्न गराउँदै उनीहरुको मगजमा साँस्कृतिक हस्तक्षेप गर्ने । 

त्यस्तै आदिवासी, जनजातिहरुका बीचमा पुग्ने । उनीहरुलाई विभिन्न इथनिक संस्थाहरुका निम्ति भन्दै डोनेशन उपलब्ध गराउँने कार्य गर्ने र त्यस मार्फत मनोबिज्ञान खरिद गर्दै आफ्ना योजनाहरु लागु गराउँने । 

यस्ता प्रकारले नेपालमा जातीय, लैङ्गिक, भाषिक विभेदका विरुद्ध हुने संघर्षमा साम्राज्यवाद मिहिन ढंगले प्रवेश हुन खोजिरहेको छ । हिन्दू एकाधिकारवादका विरुद्ध केन्द्रिकृत जनजाति, दलित, महिलाहरुको संघर्षमा नजानिँदो किसिमले क्रिश्चियनवाद घुसाउन प्रयत्नशील छ साम्राज्यवाद । 

क्रिश्चियन धर्मका धार्मिक पद ग्रहण गरेका अधिकाँश नेपाली मानिसहरुलाई आफू विशुद्ध धार्मिक काममा छु जस्तो लाग्छ तर उनीहरु आफैंलाई यो कसबाट किन परिचालित भईरहेको छ भन्ने ज्ञान हुदैन । किनकि ती धार्मिक पद ग्रहण गरेका नेपालीहरुलाई  साम्राज्यवादीहरुले न त प्रत्यक्ष निर्देशन दिन्छन् न त उनीहरुलाई यो योजनाको कुनै जानकारी नै हुन्छ ।

केन्याका राष्ट्रपति जाेमाेकेन्याटाले भनेका थिए,“ क्रिशियन धर्म प्रचारकहरू अफ्रिका प्रवेश गरेकाे वखत अफ्रिकन संग जमिन थियाे धर्म प्रचारक संग बाइवल । अाँखा  चिम्लिएर कसरी प्रार्थना गर्ने भनि धर्म प्रचारकले हामीलार्इ सिकाय । जब हामिले अाँखा खाेल्याै उनिहरूसंग जमिन थियाे, हाम्राे हातमा बाइवल ।” क्रिश्चियन अभियानले खेलेको साँस्कृतिक साम्राज्यवादको सटीक उदाहरण हो यो भनाई ।

नेपालमा भर्खर भएको युनिभर्सल पिस फाउण्डेशनको कार्यक्रम यहि भयानक अभियानको एक कडि हो र यस कडिभित्र नेपालका शिर्ष कम्युनिष्ट नेताहरु शिखण्डि बनेर अघि सरे । यो साँस्कृतिक विचलनको असभ्य र घिनलाग्दो अभ्यास हो । 

क्रिश्चियनहरु निश्चितरुपमा नेपालको रैथाने हिन्दू धर्मलाई विस्थापित गर्न चाहन्छन् । हिन्दू धर्म यहि माटोबाट उब्जिएको हुँदा र पशुपति, गुहेश्वरी,मनकामना,मुक्तिनाथ जस्ता धर्मस्थलसँग गाँसिएको हुँदा सापेक्षितरुपले यो देशको राष्ट्रियतासँग जोडिएर जान खोज्छ ।

भारतीय हिन्दूवादको गिद्धेदृष्टिसँग बेलाबखत लोलोपोतो गाँसेको देखिए पनि अन्ततः नेपाली हिन्दूहरु यहाँका रैथाने हुन । साम्राज्यवादी शक्तिहरु रैथाने धर्मलाई नामेट पार्न सकियो भने क्रिश्चियन धर्म मार्फत नेपालभित्र साँस्कृतिक हस्तक्षेप मार्फत साम्राज्यवादी नंग्रा गाड्न पाइन्छ भन्ने योजनामा छन् । भौतिकवादी भए पनि कम्युनिष्टहरु द्वन्दवादी हुने भएकाले यस्ता साँस्कृतिक साम्राज्यवादी हस्तक्षेपका विरुद्धमा उभिने गर्छन । 

यनिफिकेशन चर्चकि प्रमुख हक जा हान मुनबाट नेपालका प्रधानमन्त्री केपी ओलीले एकलाख डलर राशिको “लिडरसिप एण्ड गभर्नेन्स अवार्ड” थाप्न पुग्नु नेपाली सर्वाहारावादी आन्दोलनका लागि ठूलो अपमान भएको छ । कमरेड माओले कुनै सन्दर्भमा भन्नुभएको छ “जब विरोधीले अति प्रशंसा गर्छ, तब आफू गलत ठाउँमा पुगेछु भन्ने ठान्नुपर्छ ।” आज एसिया प्यासेफिक समिटको पुरस्कार र सम्मानको रहस्यलाई बेलैमा नबुझ्ने हो भने यी कम्युनिष्ट नेतृत्व र कम्युनिष्ट आन्दोलन त समाप्त हुन्छ हुन्छ साथमा देशको बागडोर नै साम्राज्यवादीको हातमा पुग्ने निश्चित छ ।

धर्म निरपेक्षताको अपमान
नेपाललाई धर्म निरपेक्ष बनाएर क्रिश्चियन धर्म फैलाउँन लागेका छन् भन्दै हिन्दू धर्मका साधुसन्तहरु बारम्बर चिच्याईरहेका छन् । यहि मेसोमा कम्युनिष्ट नेताहरुले यति तामझामका साथ क्रिश्चियन सँस्था युनिभर्सल पिस फाउण्डेशनको प्रचारमा उभिनु र आशिर्वाद थाप्न जानुले उनीहरुको आरोपलाई मजबुत बनाईदिएको छ ।

कम्युनिष्टहरुको सरकार बनेको भनिएको यसबेला धार्मिक गतिविधि गर्नैहुन्न भन्ने हैन । जसरी हिन्दूहरुले लाखौंलाख मानिसलाई बोलाएर कोटीहोम गर्छन्, त्यसरी नै क्रिश्चियनले पनि हजारौं हजार मानिस भेला गरेर आफ्नो धार्मिक काम गर्न पाउँछन् ।

धर्म परिवर्तन पो गराउँन पाइन्न, कार्यक्रम त गर्न पाइन्छ नि ! तर जब धार्मिक कार्यमा सरकारको लोगो प्रयोग हुन्छ, जब धार्मिक कार्यमा प्रधानमन्त्री र कम्युनिष्ट नेताहरु निगुरमुण्टी हुँदै आशिर्वाद थाप्न जान्छन अनि त्यसबेला धर्म निरपेक्षताका बारेमा गम्भिर प्रश्न उठ्छ । 

अब माक्र्सवादीहरुले के गर्ने ?
हिन्दू धर्मभित्रको जातीय विभेदको फाइदा उठाई क्रिश्चियनहरु गरीब, दलित, जनजातिहरुका घरदैलोमा पुगेर बाइबल बाँडिरहेका छन् । हरेक देशमा क्रिश्चियनहरु वातावरण शुद्धिकरण, स्वास्थ्य, शिक्षा जस्ता जनमूखी कार्यक्रम बोकेर छिर्छन अनि त्यहाँ मिहिनरुपले धर्म परिवर्तनको मार्गमा लाग्छन् । यसकार्यका लागि साम्राज्यवादी देशहरुले अरबौं अरब डलर खर्चेको छ । 

चिनियाँ चिन्तक चेन याओ क्वाङले एसिया र अफ्रिकामा याङ्की साम्राज्यवादी साँस्कृतिक अतिक्रमण नामको लेखमा भन्नुभएको छ “ अमेरिकी मिसनरीहरुले राष्ट्रिय स्वधीनता आन्दोलन र सामाजिक प्रगतिप्रति सहानुभूति राखेको जस्तो गर्छन, जसबाट उनीहरु जनआन्दोलनहरुमा घुस्न सकून र आम जनतालाई क्रान्तिको बाटोबाट र अमेरिकी साम्राज्यवादको विरोधको बाटोबाट सुधारको बाटोतिर लैजान सफल होउन् ।....उनीहरु चर्चहरुलाई आदिवासीहरुको संस्थाको चरित्र दिएर धार्मिक र राष्ट्रिय स्वरुपमा प्रस्तुत गर्छन् । भित्री रुपमा अमेरिकी मिसिनरीले काम गरे पनि बाहिर उभ्याउने पात्रचाहिँ अर्कै हुन्छ ।”( विकल्प, असोज २०७२)

नेपालका कम्युनिष्टहरुले चेन याओ क्वाङको यो कुराबाट शिक्षा लिनै पर्छ । कम्युनिष्ट नेताहरु कुनै पनि धर्मको धार्मिक यज्ञ, धार्मिक प्रवचन, धार्मिक गतिविधिमा किन संलग्न हुने ? के यो कम्युनिष्टहरुको आदर्शभित्र पर्छ ? 

यस्ता धार्मिक कार्य गर्न कम्युनिष्ट नेताहरुको रहर हो भने माक्र्सवादको किताब च्यातेर हिँड्नुप¥यो । बाध्यता हो भने माक्र्सवादी शब्दकोष भित्र बाध्यता भन्ने शब्दावली नै हुँदैन भन्ने हेक्का यी कम्युनिष्ट अर्थात माक्र्सवादी हुँ भन्ने नेताहरुले राख्नुप¥यो । 

जनतालाई द्वन्दात्मक भौतिकवादी बनाउँन हिंड्नुपर्ने नेतृत्व धार्मिक पूजापाठ गर्ने, पादरीको आशिर्वाद ग्रहण गर्न जाने जस्ता कार्यले दुनियाँ हँसाएकोछ । 

सरकारमा रहेका कम्युनिष्टहरुले द्वन्दात्मक भौतिकवादको सृजनात्मक ढंगले प्रचारप्रसार गर्ने, साँस्कृतिक रुपान्तरणका खाकाहरु ल्याउँने, चाँडपर्वहरुमध्ये कस्ता चाँडपर्व प्रतिगामी छन् र कस्ता चाँडपर्व रुपान्तरण गरि मनाउँन सकिने छन भनी बिश्लेषण बहस चलाउनुपर्छ । क्रिश्चियन मिसनलाई निस्तेज पार्न कस्ता कार्यक्रमहरु अघि सार्ने भन्नेबारेमा पनि कम्युनिष्ट नेताहरु गम्भिर हुन आवश्यक छ । 

अबका दिनमा सरकार टिकाउँने लोभमा, चुनावमा रकम जोहो गराउँने लोभमा द्वन्दात्मक भौतिकवादलाई नाङ्गो बनाएर प्रदर्शन गर्न कुनै पनि कम्युनिष्ट नेताले पाउँने छैनन् । यसो हुँदै जाने हो भने नेपालमा माक्र्सवादको झण्डा बोकेर शसस्त्र संघर्षको नारा लिएका अरु कम्युनिष्ट समूहहरु पनि क्रियाशील छन् र उनीहरु माक्र्सवादी चिन्तन र दर्शनलाई आध्यात्मवादको पाउमा चढाएको कुरालाई सहन सक्तैनन् र माक्र्सवादी चेतना बोक्ने अभियान मर्दैन भन्ने पनि बुझ्न जरुरी छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर