• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

विवाहपञ्चमीमा १० लाखभन्दा बढी दर्शनार्थी भित्राउने तयारी

जयन्त ठाकुर , जनकपुरधाम । जनकपुरधामको सबैभन्दा ठूलो पर्व विवाहपञ्चमी आउन एक साता मात्रै बाँकी रहदा जानकी मन्दिरदेखि प्रदेश सरकारले तयारी तीव्र बनाएका छन् । विवाहपञ्चमीमा १० लाखभन्दा बढी दर्शनार्थी भित्राउन जानकी मन्दिरदेखि प्रदेश सरकारले तयारी तीव्र बनाएका हुन् । 

प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मनाईने विवाहपञ्चमी पर्वको तयारी एक महिना पहिलेदेखि नै सुरु हुने गर्दछ । विवाहपञ्चमी पर्वले त्रेता युगको झल्को दिने गर्दछ । त्रेता युगमा जसरी राम र जानकीको विवाह भएको थियो ,  ठीक त्यसकै शैलिमा विवाह समारोहको आयोजना हुने गर्दछ । राम र जानकीको मिथिला परम्परा अनुसार प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन विवाह सम्पन्न हुने गर्दछ । 


विवाहपञ्चमी पर्वको सबैभन्दा ठूलो आकर्षण अयोध्याबाट आउने जन्ती नै हो । जसरी मिथिलामा विवाहको समयमा जन्तीहरुलाई आदर सत्कार गरिन्छ त्यसरी नै आदर सत्कार गर्नका लागि प्रदेश सरकारले बिशेष तयारी गरेको छ । विवाहपञ्चमीमा जन्तीको रुपमा साधु सन्तदेखि लाखौ श्रद्धालुहरुको जनकपुरधाममा आगमन हुन्छ । 


जन्तीमा आउने साधु सन्तलाई धोती र तौलीया दिएर स्वागत गर्ने तयारी प्रदेश सरकारले गरेको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।  स्वागत सत्कारका लागि प्रदेश सरकारले ५० लाख रुपैया खर्च गर्ने बताईएको छ । 


विवाहपञ्चमीलाई भव्य बनाउनका लागि प्रदेश सरकारले जानकी मन्दिर सौन्दर्यीकरण, रंगभूमि मैदान १२ विघाको सरसफाई, अस्थायी वासको व्यवस्था, अस्थायी शौचालयको व्यवस्था गर्न लागेको छ । विवाहपञ्चमीमा प्रत्येक वर्ष जनकपुरधाममा ठूलै भीड लाग्ने गर्छ । यस पटक विवाहपञ्चमीमा १० लाखभन्दा बढी श्रद्धालु जनकपुरधाम आउने अनुमान गरिएको छ । 


हिन्दु मत पक्षमा पार्न योगीको जनकपुरधाम भ्रमण

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले विवाहपञ्चमीमा आउने जन्तीको अगुवाई गर्ने भएपछि विवाहपञ्चमीको रौनकता अझ बढ्ने स्थानीयवासीहरुको ठम्याइ छ । मुख्यमन्त्री योगीको जनकपुरधाम भ्रमणलाई लिएर पत्र नआएपछि उनको जनकपुरधाम भ्रमण हुने नहुनेमा शंका रहेको थियो तर प्रदेश सरकार स्रोतका अनुसार नेपाल सरकारले योगी भ्रमणको सम्बन्धमा प्रदेश सरकार लाई पत्र पठाई सकेको छ । 


प्रधानमन्त्री केपी शर्मा ओलीले जन्तीको अगुवाई गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएका थिए । तर भारतको विभिन्न राज्यमा हुन लागेको निर्वाचनलाई दृष्टिगत गर्दै मोदीले आफ्नो दूतको रुपमा योगी आदित्यनाथलाई जनकपुरधाम पठाउन लागेका हुन् । 
हुनत राजनीतिक विश्लेषकहरुले योगीको जनकपुरधाम भ्रमण भारतमा सन २०१९ मा हुने लोकसभा निर्वाचनलाई जोडेर हेरिरहेका छन् । भारतमा राम मन्दिरको मुद्दा जोडतोडका साथ उठिरहेको समयमा उनको यो भ्रमणले हिन्दु मत आफ्नो पक्षमा पार्न कै लागि योगीको जनकपुरधामको भ्रमण हुन लागेको  राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभको को बुझाई छ । 


उता मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुरधामका संचारकर्मीहरुसंग लखनउमा कुराकानी गर्दै यो अडकलवाजीलाई अस्वीकार गरेका छन् । उनले आफ्नो जनकपुरधाम भ्रमण विशुद्ध रुपमा सांस्कृतिक भ्रमण हुने बताई सकेका छन् । 
जनकपुरधामको भ्रमणको क्रममा मुख्यमन्त्री योगी जानकी मन्दिरमा पूजाआजा गर्नुका साथै रामजानकी विवाहको स्वयम्वरमा सहभागी हुनेछन् । यसका साथै रंगभूमि मैदान १२ विघामा उनले छोटो मन्तव्य राख्ने कार्यक्रम समेत रहेको जानकी मन्दिरका महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए । 

विवाहपञ्चमी सुरक्षा व्यवस्थामा कडाई


मुख्यमन्त्री योगीको सुरक्षालाई लिएर आफुहरु गम्भिर रहेको प्रदेश सरकारले जनाएको छ , उनको भ्रमणको समयमा  ५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिएका छन् । 
यस्तै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले ३ हजार ५ सय नेपाल प्रहरी परिचालन गरिने बताए । २ हजार ५ सय सशस्त्र प्रहरी समेत परिचालन गरिने छ ।  


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर