बैंकहरुमा लगानी गर्ने पैसा सकियो, राष्ट्र बैंकले सबा १० अर्ब दिने

काठमाडौं । वाणिज्य बैंकहरुमा लगानीयोग्य रकमको अभाव देखिएको छ । विगत केही समयदेखि नै लगानी योग्य रकमको अभाव भएको वित्तीय बजारमा थप चाप परेसँगै राष्ट्र बैंकले १० अर्ब १५ करोड रुपैयाँ निक्षेप दिने भएको छ । 

राष्ट्र बैंकले एक वर्ष समयावधिका लागि निक्षेप दिने भएको हो । निक्षेपका लागि मंसिर २३ गतेभित्र आवेदन दिनु पर्ने राष्ट बैंकले जनाएको छ । 

राष्ट्र बैंकले दिन लागेको कुल निक्षेप मध्ये ८ अर्ब १२ करोड ६९ लाख रुपैयाँ वाणिज्य बैंकहरुलाई निक्षेप दिने भएको छ । त्यस्तै विकास बैंकहरुलाई १ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरुलाई ५० करोड ७९ लाख रुपैयाँ निक्षेप दिन लागेको हो ।

राष्ट्र बैंकको पैसामा कति ब्याज दिने भनेर बैंक तथा वित्तीय संस्थाहरुले प्रस्ताव गर्नु पर्नेछ । 

राष्ट्र बैंकबाट पैसा लिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ बर्ष पुरा भएको हुनुपर्नेछ । त्यस्तै खराव कर्जा ५ प्रतिशत तल, तोकिएको पूँजी कोष अनुपात पुरा गरेका संस्थाहरुले निक्षेप पाउने छन् ।

लगानी योग्य रकमको अभाव भएसँगै निक्षेप तान्नमा बैंकहरुबीच प्रतिस्पर्धा नै देखिएको छ । बैंकर्स संघले व्यक्तिगत निक्षेपमा लगाएको सीमालाई खुल्ला गरेपछि बैंकहरुले ब्याजदर वृद्धि गरेका छन् । 

यसैबीच कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । त्यस्तै माछापुच्छ्रे बैंकले मुद्दति निक्षेपको ब्याजदर साढे १२ प्रतिशत र जनता बैंकले १२ प्रतिशत पुर्याइसकेका छन् ।

यो पनि हेर्नुहोस्

बैंकहरुबीच ब्याजदर बढाउने होेडबाजी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर