मन्दिरको संरक्षक महन्थ नै भक्षक भएपछि

जनकपुरधाम । कुनै मठ मन्दिरको महन्थलाई त्यसको संरक्षकको रुपमा मानिन्छ । तर मन्दिरको संरक्षक नै भक्षक भएपछि प्रहरीको फन्दामा पर्नु परेको छ । 

संस्कृत विश्वविद्यालय अन्तर्गत रहेको जनक हजारी विद्यापीठको ३ विघा जग्गा किर्ते गरी बिक्री गरेपछि रत्नसागर मठका महन्थ बैकुण्ठ दासलाई प्रहरीको फन्दामा परेका छन् ।  किर्ते गरी मन्दिरको जग्गा बिक्री गरेको आरोपमा अदालतले पक्राउ पूर्जी जारी गरेपछि महन्थ बैकुण्ठ फरार भएका थिए । 

जनकपुरधामबाट फरार भएका महन्थ बैकुण्ठलाई अपराध महाशाखा काठमाडौँको सहयोगमा दुई साताको खोजी पछि काठमाडौँबाट पक्राउ गरिएको हो । उनलाई काठमाडौँस्थित बागबजार होटेल तिरुपतीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । 

पक्राउ परेका महन्थ बैकुण्ठ दासलाई बिहिबार नै काठमाडौँबाट जनकपुरधाम लगिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा महन्थ बैकुण्ठ दास केही बोलेका थिएनन् । 

जनक हजारी विद्यापीठको जग्गाको नक्कली लालपुर्जा बनाएर एक जनालाई सो जग्गाको धनी बनाएर बिक्री गरेको आरोप महन्थ बैकुण्ठ दास माथी लागेको छ । महन्थले आफ्नै सहयोगी अशोक कुमार शर्मालाई जग्गा धनी बनाएर जग्गा बिक्री गरेको पाइएको छ ।

शर्माले सो जग्गा आफ्नो रहेको दावी गर्दै मुद्दा दिएपछि जग्गा किर्ते प्रकरणको उजागर भएको थियो । नक्कली लालपुर्जा धनी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित बसहिया निवासी अशोककुमार शर्माकै बयानको आधारमा महन्थ बैकुण्ठ दासको नाउँमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका थिए । 

गुठी संस्थान जनकपुरधाम र जिल्ला मालपोत कार्यालयको तथ्यांक अनुसार सो जग्गाको धनीमा गुठी संस्थान धनुषा उल्लेख रहेको छ । महन्थ दासलाई किर्ते कागज बनाउन कुनै सरकारी कार्यालयले सहयोग नगरेको प्रहरी उपरीक्षक थपलियाले बताए । महन्थ बैकुण्ठ स्वयंले गुठी संस्थानको नक्कली लेटर पैड र छाप बनाउन लगाएर नक्कली कागज तयार पारेको थपलियाले बताए ।  
महन्थ बैकुण्ठको भूमाफिया अवतार 
महन्थ बैकुण्ठ दास जग्गा किर्ते भने पहिलो पटक गरेका होइनन् । यसअघि पनि उनले पटक पटक यस्ता कृयाकलाप गर्दै आएको जनक हजारी विद्यापीठका प्राचार्य विजय चौधरीले आरोप लगाए । विद्यापीठका पदाधिकारीहरुका अनुसार वि.सं. २०५० देखि क्याम्पसले भोगचलन गर्दै आएको जनकपुरधाम ८ स्थित सिट नम्बर १३५४-१४ को किता नम्बर ६२ को २ कठा ११ धुर,  सिट नम्बर १३५४-१५ को किता नम्बर १,२,२८ र ४९ को २ बिघा १४ धुर जग्गा किर्ते गरी महन्थ बैकुण्ठले बिक्री गरेका छन् । 

साबिक नापीमा गुठी संस्थान अधिनस्त वराही कुटीका नाममा रहेको जमिनसँगै सडक पश्चिमको समेत ६ बिघा ५ धुर जग्गा २०५० जेठ १३ को मन्त्रिपरिषदको निर्णयअनुसार केन्द्रीय गुठी संस्थानले विद्यापीठलाई भोगचलन गर्नलाई दिने निर्णय गरेको थियो । 

किर्ते गरिएको जग्गा बिक्री गर्नका लागि जनकपुरधामका दुई जना व्यवसायी श्याम डोकानिया र नवल मुरारकासंग बैना समेत लिई सकेको पुजारीहरु बताउँछन् । प्रहरीले किर्ते जालसाजीको थप अनुसन्धान भईरहेको जनाउँद दोषी देखिएका सबैमाथि मुद्दा चलाइने जनाएको छ । 

२०४२ र ०४३ को शहरी नापीमा गुठी संस्थान बराही कुटीका नाममा दर्ता रहेको त्यो जग्गालाई मालपोत कार्यालय धनुषाले फर्जी स्रेस्ता खडा गरी २०६८ मा मठको नाउँमा अर्को जग्गाधनी दर्ता स्रेस्ता बनाएका थियो । जसको संरक्षकमा महन्थ दासको नाउँ उल्लेख थियो ।

 दासले पछिल्लो समय जग्गाधनी महलमा रत्नसागर गुठीको नाम तथा मोही महलमा आफ्नै मठका पुजारी अशोक शर्माको नाउँ उल्लेख गरी अर्को लालपुर्जा बनाएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर