• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

अपरिवर्तनीय परम्परा विवाहपञ्चमी महोत्सव

जनकपुरधाम । ‘दशरथ बरियात साजु आनन्द लागे मिथिलामे...’

यो गीत जनकपुरधाममा मात्रै नभई मिथिलाञ्चलको घरघरमा गुञ्जिरहेको छ । एकातर्फ विवाहपञ्चमीको अन्तिम तयारी जानकी मन्दिरमा चलिरहेको छ भने अर्कोतर्फ विवाहका गीत घरघरमा गुञ्जिरहेका छन् । विवाहपञ्चमी उत्सवलाई भव्य बनाउन मिथिलावासी आ–आफ्नो स्तरबाट सहयोग गर्न पछि परिरहेका छैनन् । 

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले छोरीको बिहे गरिरहेको जस्तै अनुभव भएको सुनाए । महन्थ दास बिहेमा माता सीताको पिता राजा जनकको भूमिका हुन्छन् । यता राम मन्दिरका महन्थ राम गिरी पनि राजा दशरथको भूमिका निर्वाह गर्न कुनै कसर बाँकी राखेका छैनन् । उनी भन्छन्, ‘सीताजस्तो बुहारी पाउने भएपछि हर्षविभोर छु ।’

मैथिलीका साहित्यकार अवधेश पोखरेलले विवाहपञ्चमी महोत्सवलाई अपरिवर्तनीय परम्पराको संज्ञा दिए । उनले भने, ‘रामजानकीको बिहे भएको ४ हजार वर्ष बितिसक्यो, मुगल आए, यमन आए, कति सभ्यतामा परिवर्तन आयो, कति नदिनालाले बाटो बदले, पहाड पर्वतको आकारमा परिवर्तन आयो तर मिथिलाको यो विवाहपञ्चमी महोत्सवको परम्परामा कुनै परिवर्तन आएन ।’

रामजानकी विवाहको स्वयम्बर तथा विवाह उत्सवलाई भव्य बनाउनका लागि व्यक्तिगत स्तरमा समेत कतिजनाले सहयोग गरिरहेका छन् । यसपटकको रामजानकीको स्वयम्बरमा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थितिले विवाहपञ्चमी महोत्सवको आकर्षणलाई थप बढाउने भएको छ ।  

विवाहपञ्चमीका सात विधि 
त्रेता युगमा अयोध्यानरेश दशरथका पुत्र मर्यादा पुरुषोत्तम भगवान् श्रीराम र मिथिलाका शिरध्वज राजर्षी जनककी पुत्री जानकीको विवाह भएको स्मरणमा साताव्यापी रुपमा मनाइने विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन विधि गरिन्छ । जसमा राम–लक्ष्मणको प्रतीक स्वरूप बनाइएको राम लक्ष्मणलाई जनकपुरधाम नगरदर्शन गराइन्छ ।

विवाहपञ्चमी महोत्सवको दोस्रो आकर्षण भनेको फूलबारी लिला हो । फूलबारी लिलामा रामजानकीको पहिलो भेट गराइन्छ । त्रेता युगमा भगवान रामको पहिलो भेट भारतको गिरिजा स्थानमा रहेको गिरिजा माई मन्दिरको प्राङ्गणमा रहेको फूलबारीमा भएको रामायणमा उल्लेख पाइन्छ । यो विधि जानकी मन्दिरको छेउमै रहेको रामजानकी विवाह मण्डपमा रहेको फूलबारीमा प्रत्येक वर्ष सम्पन्न गरिन्छ । 

तेस्रो दिन धनुष यज्ञ सम्पन्न हुन्छ । माता सीताले शिवजीको पिनाक धनुषलाई बायाँ हातले उठाएर लिपपोत गरेको देखेर राजा जनक यो धनुषमा प्रत्यंचा चढाउन सक्ने वीर पुरुषसँगै आफ्नो छोरीको बिहे गरिदिने वचन लिएर धनुष यज्ञको आयोजना गरिएको मानिन्छ । त्रेता युगमा सो धनुष यज्ञको आयोजन रंगभूमि मैदान १२ बिघामा भएको मानिन्छ । सोही स्मरणमा धनुष यज्ञ विधि सम्पन्न गरिन्छ । 

महोत्सवको चौथो दिन राम मन्दिरको प्राङ्गणमा हजारौं भक्तजनको बीच तिलकोत्सव विधि सम्पन्न हुन्छ । तिलकोत्सवमा जानकी मन्दिरबाट महन्थ राम तपेश्वर दास वैष्णवको नेतृत्वमा १ सय १ पाहुर राम मन्दिरमा आउँछ । जहाँ जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र राम मन्दिरका महन्थ राम गिरीबीच अंकमाल (समधि मिलान) हुन्छ । तिलकोत्सवमा सहभागी महिलाहरु रामजानकीको बिहेका गीत गाउँछन् भने हास्य परिहासको माहोलसमेत हुने पुजारी ऋषिकेश झा बताउँछन् । जसरी मिथिलामा समधिलाई विभिन्न किसिमको गाली गरिन्छ त्यसरी नै मन्दिरमा समेत दुवै पक्षबाट गालीसहित हाँसी ठट्टा गरिन्छ ।

राम मन्दिरका महन्थ राम गिरीका अनुसार समधि मिलान कार्यक्रममा जानकी मन्दिरका महन्थ, उत्तराधिकारी महन्थ, पुजारीहरु सहभागी हुने गर्दछन् भने राम मन्दिरबाट महन्थ स्वयं, गुठी संस्थानका प्रतिनिधि तथा स्थानीय युवा क्लबका प्रतिनिधिहरु सहभागी हुन्छन् । 

महोत्सवको पाँचौ दिन मटकोर विधि हुन्छ । मटकोर विधिमा माता जानकीको मटकोरका लागि मिथिलाका महिलाले जनकपुरधामकै पवित्र सरोवर रहेको गंगासागर पोखरीबाट साँझको समयमा मिथिलाको परम्परा अनुसार गीतनाद गाउँदै माटो खनेर ल्याउने गर्दछन् । सोही माटोबाट विवाहका लागि वेदी तयार गरिन्छ । 

छैठौं दिन ऐतिहासिक रंगभूमि मैदानमा स्वयंवर विधि सम्पन्न हुन्छ भने रातिमा वैदिक परम्परा अनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ । स्वयंवरका लागि राम मन्दिर तथा जानकी मन्दिरको डोला रंगभूमि मैदान १२ बिघा पुग्ने गर्छ । स्वयम्वरपछि दुवै मन्दिरको डोला शोभायात्रा गर्दै जानकी मन्दिर पुग्ने गर्छ जहाँ वैवाहिक कार्यक्रम हुन्छ र रातभरी चल्ने सो वैवाहिक कार्यक्रममा महिलाहरु गीतनाद गाउने गर्छन् । 

विवाहपञ्चमीको सातौं दिन भारतको अयोध्याबाट जन्तीको रुपमा आएका साधु–सन्तलाई भोजन गराउँदै बिदाई गरिन्छ । जसलाई रामकलेवा भनिन्छ । राम कलेवामा बेहुला पक्षबाट आएकालाई गालीगलौज गर्नेसमेत परम्परा रहेको छ । मन्दिरका पुजारी तथा मिथिलाका नारी गीतकै माध्यमले गाली गर्ने गर्छन् । जसले अद्भूत वातावरणको निर्मण गर्छ । 

विवाहपञ्चमीका दिन हजारौँको विवाह
संसारको सबैभन्दा आकर्षक जोडी राम जानकीलाई मानिन्छ । शास्त्रमा समेत राम जानकीको जोडीलाई आदर्श जोडीको रुपमा लिइन्छ । अहिले पनि मिथिलामा बेहुला तथा बेहुलीलाई आशिर्वाद दिंदा भन्ने गर्छन् यो जोडी राम सीताजस्तै होस् । त्यसैले पनि विवाहपञ्चमीका दिन विवाह गर्नेहरुको ठूलो भीड लाग्ने गर्छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव स्वीकार गर्छन् । प्रत्येक वर्ष विवाहपञ्चमीमा विवाह गर्नका लागि दर्जनौँ जोडी जानकी मन्दिर पुग्ने गर्छन् । शास्त्रका अनुसार विवाहका लागि विवाहपञ्चमीको दिन जति उत्तम कुनै साइत छैन । 

हुनत मिथिलाञ्चलमा कतिपयले यो साइतलाई विवाहका लागि अशुभ मान्ने गर्छन् । विवाहपञ्चमीका दिन विवाह भएकै माता सीताले धेरै कष्ट उठाउन परेको तर्क राख्नेहरु पनि छन् । सीतालाई विवाहपछि १४ बर्ष वनवासमा जानु पर्यो, अग्निपरीक्षा दिनुपर्यो, वनबासबाट फर्केपछि फेरी वनबासमै रहनुपर्यो । त्यसैले सबैले राम जानकीको जोडीलाई आदर्श जोडीको रुपमा स्वीकार गरे पनि त्यस दिन छोराछोरीको बिहे गर्नु अशुभ मान्छन् ।  
उपमहानगरले योगीलाई अभिनन्दन गर्ने 

जनकपुरधाममा प्रत्येक वर्ष हुने विवाहपञ्चमी महोत्सवको ठूलो आकर्षण अयोध्याबाट आउने जन्ती हो । यसपटक भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ स्वयं जन्तीको नेतृत्व गर्दै जनकपुरधाम आइरहेकाले आकर्षण थप बढेको छ । उनको जनकपुरधाम आगमनको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाले अभिनन्दन गर्ने कार्यक्रमसमेत राखेको छ । रंगभूमि मैदानमा हुने स्वयम्वर कार्यक्रममै उनलाई अभिनन्दन गरिने उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जानकारी दिएका छन् । मुख्यमन्त्री योगीलाई मैथिली भाषामा लेखिएको अभिनन्दन पत्रबाट अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर