• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

‘टोकोपेडीया’ले जुटायो एक अर्ब १० करोड डलर लगानी

जकार्ता । इन्डोनेसियाको इ–कमर्स साइट टोकोपेडीयाले जापानको सफ्टबैंक र चीनको अलिबाबा समेतका लगानीकर्ताबाट एक अर्ब १० करोड अमेरिकी डलर लगानी जुटाएको बुधबार घोषणा गरेको छ । 

नयाँ लगानी भित्रिएसँगै टोकोपेडीयाले अनलाइन व्यापार र रकमको कारोबारलाई इन्डोनेसियामा अझ विस्तार गर्नेछ । कम्पनीले दक्षिणपूर्वी एसियाली देशहरुमा मौलाएको विद्युतीय कारोबारमा आफूलाई सर्वोत्कृष्ट बनाउने लक्ष्य लिएको जनाएको छ । 

एक्सपेडीया र चीनको टेन्सेन्ट समेतका ठूला लगानीकर्ताहरुले फस्टाउँदो इन्डोनेसियाली प्रविधि कम्पनीहरुमा अर्बौं डलर लगानी गर्दैछन् । 

एक दशकअघि मात्र स्थापना भएको टोकोपेडीयाले तत्कालका लागि इन्डोनेसियामै केन्द्रित रहने जनाएको छ । करिब २६ करोड जनसंख्या रहेको इन्डोनेसियामा तिब्र गतिमा मध्यम वर्गीय समाजको उदय भइरहेको छ । 

‘कम्पनीले नयाँ लगानीबाट प्रविधि र पूर्वाधार निर्माण गर्नेछ । यसले लाखौं स्थानीय व्यवसायलाई प्रगतिका लागि थप मद्दत गर्नेछ, टोकोपेडीयाको वक्तव्यमा उल्लेख छ । 

विश्वको अन्य कुनै क्षेत्रकोभन्दा दक्षिण पूर्वी एसियामा इन्टरनेटको प्रयोग बढेको विभिन्न अनुसन्धानमा देखिएको छ । सन् २०२० सम्ममा यस क्षेत्रमा ४८ करोड मानिसमा इन्टरनेटको पहुँच पुग्नेछ । सन् २०१६ मा यो संख्या करिब २६ करोड थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर