एक अर्बको लगानीमा पोखरामा खुल्यो हेरीटेज होटल

कास्की  । पोखरामा एक अर्ब बढीको लगानीमा चारतारे (फोर स्टार) होटल खुलेको छ । गण्डकी प्रदेशको राजधानी समेत रहेको पर्यटकीय नगरी पोखरामा चारतारे होटल सञ्चालनमा आएको हो । 

काठमाडौंमा ट्राभल एजेन्सी र होटल सञ्चालन गर्दै आएका सफल व्यवसायी रविचन्द्र हमालले पोखराको मुख्य केन्द्र लेकसाइडमा ‘हेरीटेज होटल सुईट एण्ड स्पाः’ खोलेका हुन् ।

दशैं अघिदेखी आंशिक रुपमा सञ्चालनमा आएको यो होटल तिहार पछि भने पूर्ण रुपमा सञ्चालनमा आएको सञ्चालक हमालले जानकारी दिए । हमालका अनुसार यो चारतारे स्तरको होटल हो । करीब ५ रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा ३ वटा भवनहरु छन् । 

तीनवटै भवन टिपिकल नेपाली कलाले कुदिएको छ । होटलमा प्रयोग गरिएका ईटाहरु भक्तपुरबाट ल्याइएको हो भने त्यहाँ राखिएका झ्यालहरु ऐतिहासिक रुपमा महत्व राख्ने खालका छन् ।

होटलको गेटदेखी झ्याल, ढोका, सिंडीदेखी बार्दलीसम्मका सामान टिपिकल नेपाली हुन् भने त्यो कलाकारले कुदेर बनाइएको छ जसका कारण हेर्दा राम्रो र कलात्मक देखिन्छ ।

होटल निर्माण गर्न करीब ८ वर्ष लागेको सञ्चालक हमालले बताए । आर्थिक वा अन्य कुनै सामानको अभावले भन्दापनि टिपिकल सामानको प्रयोग र कलात्मक बनाउँदा समय लागेको उनले प्रस्ट्याए । 

पुरानो कला, कौशलको प्रयोग गरी नेपाली संस्कृति झल्काउन आफूले समय र पैसा लगानी गरेको बताए । उनले आफ्नो होटल संस्कृतिको पर्याय भएको बताउँदै यसले विश्वमै फरक अनुभूति गराउने दाबी गरे ।

होटलमा कुल ६८ कोठा भएपनि ५० वटा कोठा पाहुनाका लागि प्रयोग गरिने सञ्चालक हमालले जानकारी दिए । उनका अनुसार हाल २४ वटा कोठा सञ्चालनमा आएका छन् ।

तीन भवन मध्ये सबैभन्दा अगाडिको भवन अन्नपूर्ण ब्लकमा रहेका कोठाहरु दशैं अघिदेखी सञ्चालनमा आएको उनले बताए । अन्नपूर्ण हिमालको नामबाट राखिएको यो ब्लक ५ तले छ ।

भुईंतलामा लबी र कोठाहरु छन् भने अन्य तलामा सबै कोठाहरु छन् । लाङटाङ हिमालको नाममा रहेको लाङटाङ ब्लक बिचमा छ । यसमा पनि भुईंतलामा ज्याकोजीलगायतका सेवाहरु छन् भने अन्य तलामा कोठाहरु छन् ।

सबैभन्दा पुछारको ब्लवक सगरमाथा हिमालको नाममा एभरेष्ट व्लक भनेर राखिएको छ । यसमा हेल्थ क्लव, स्टिम, साउना, ज्याकुजी, स्पाः थेरापी, पुलवार, रेष्टुरेण्ट, बारलगायत छन् ।

उनका अनुसार हेरीटेज होटलमा रहेको स्पाः नेपालकै सबैभन्दा ठूलो हो । होटलमा यसका अलावा ५ सय क्षमताको दुई वटा सभाहल, पार्किङको पर्याप्त सुविधा छ भने तीन वटै भवनको बिचमा स्विमिङ पुल छ ।

होटलमा स्विट रुम १८ वटा रहेका छन् । अन्य सबै डिलक्स रुम रहेको सञ्चालक हमालले बताए । होटलमा एक सय दश डलरदेखि एक सय पचास डलरसम्मका रुमहरु उपलब्ध रहेको सञ्चालक हमालले जानकारी दिए । 

होटलबाट माछापुच्छ्रे, अन्नपुर्ण हिम श्रृंखला देखिन्छ भने फेवाताल पनि नजिकै देखिन्छ । उनले कलासँगै संस्कृति हेर्नका लागि पर्यटक आउने भन्दै त्यसका लागि राज्यले पनि प्रोमोट गर्नुपर्ने बताए ।

उनले लोपोन्मुख अवस्थामा रहेको कला र संस्कृति बचाउँदै अर्को पुस्तालाई हस्तान्तरण गर्नपनि आफूले होटल खोलेको बताए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर