पोखरेलीले मन पराए ‘घेरो’ 

कास्की । अन्धविश्वासले नेपाली समाजमा पारेको प्रभावमा आधारित रहेर लेखिएको नाटक ‘घेरोे’ मञ्चन भइरहेको छ । पोखरा थिएटरमा मंसिर २१–२९ गतेसम्म मञ्चन भइरहेको यो नाटक पोखरेलीले निकै मन पराएको निर्देशक कपिल शर्माले बताए । घरको दैलामा चामलको घेरो देखियो भने अनिष्ट हुने नेपाली अन्धविश्वासलाई नाटकमा कलात्मक रुपमा उधिनिएको छ । ‘घेरो’ ले सामाजिक अन्धविश्वास र रुढीवादीपनलाई व्यंग्य गर्नुका साथै धार्मिक लोक परम्परालाई समेत आत्मसात गरेको छ । 

हिन्दू धार्मिक मान्यता, परम्परालाई समेटेको नाटकमा माइतीबाट फर्केका दम्पती घर पुगेर दैलो खोल्ने बित्तिकै चामलको घेरो देखिन्छ । त्यही चामलको घेरोमाथि समाजको रुढीवादी नजर र अन्धविश्वासलाई ‘घेरो’ले देखाउन खोजेको छ । युथ क्रियसन थिएटरको छैँटौँ प्रस्तुति यस नाटकको प्रारम्भमा नै बालनको शैलीमा भजनमार्फत गरिएको कथा वाचनले दर्शकलाई रोमाञ्चित बनाउँछ ।

नाटकमा कलाकार लक्ष्मण डुम्रे र अनिका सापकोटा प्रमुख दम्पत्तिको भूमिकामा छन् । त्यस्तै, ममता मञ्जुल, केदार पौडेल, सञ्जय न्यौपाने, अञ्जना पौडेल, प्रसुनलगायतले जीवन्त अभिनय गरेका छन् । नाटकमा मधुसुदन पौडेल, ताराखर पौडेल र विनोद पौडेल भजनमार्फत देखिएका छन् । केदार पौडेलले लेखेको नाटकमा पौडेल स्वयंले कहिले भैँसी त कहिले झाँक्रीको अभिनय गरेका छन् । नाटकको भजन मधुसुधन पौडेलले लेखेका हुन् । 

युथ क्रियसन थिएटरका अध्यक्ष समेत निर्देशक कपिलले नाटकले सामाजिक अन्धविश्वास र रुढीग्रस्त समाजलाई चिरफार गरेको बताए । उनले ‘घेरो’ युथ क्रियसनको छैँटौँ प्रस्तुति भएको जानकारी दिए । प्रत्येक साँझ ५.०० बजे मञ्चन भइरहेको नाटक शनिबार १.०० बजे पनि मञ्चन हुने व्यवस्थापक सौगात पोखरेलले जनाए । ‘घेरो’ थिएटरको अहिलेसम्मको प्रस्तुतिभन्दा भिन्न खालको रहेकोले नाट्यप्रेमी पोखरेलीको मन जित्न सफल भएको पोखरेलले बताए । उनले भने, ‘नाटकमा रुढीग्रस्त समाजलाई मात्रै देखाउन खोजिएको छैन । समाजका विभिन्न आयामलाई समेत प्रस्तुत गरिएको छ ।’ 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर