अब देशमा हतियारधारी दुई समूह मात्र बाँकी रहे– सरकारी वार्टा टोली  

विराटनगर । सशस्त्र गितिविधिमा रहेको अखिल जनतान्त्रिक तराई मुक्ती मोर्चा (विनोदसमूह)ले शान्तिपूर्ण राजनीतिक गतिविधिमा आवद्ध हुने भन्दै विहीवार सरकारी वार्ता टोलीसमक्ष हतियार बुझाएको छ । 

सरकारले गठन गरेको राजनीतिक वार्ता टोली र समूहबीच सहमति बनेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा उपस्थित भएर तीन थान हतियार औपचारिकरुपमा हस्तान्तरण भएको हो । वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले हतियार बुझ्दै थप हतियार पुस ७ गते बुझाउने प्रतिवद्धता अएको र यो समूहलाई राजनीतिक समूहको रुपमा व्यवहार गर्न सरकारलाई आग्रह गरे ।

सशस्त्र समूहका संयोजक विनोद यादव(विवेक), रामनन्दनकुमार कामेते, विनायक कुमार यादव र जयप्रकाश लिचपुरियाले सरकारी टोली समक्ष हतियार बुझाएका हन् । त्यस क्रममा संयोजक यादवले आफ्नो समूहका नेता तथा कार्यकर्ताहरुमाथि राजनीतिक गतिविधका क्रममा लगाइएका झुटामुद्दाहरु खारेज गर्न र निर्वाध राजनीतिक गतिविधि गर्ने वातावरण बनाउन आग्रह गरे ।

उनले राजनीतिक असन्तुष्टि व्यक्त गर्ने क्रममा विगतमा सशस्त्र संघर्षमा आवद्ध भएको तर आफु आवद्ध पार्टी राजनीतिक गतिविधि भन्दा मुलुक विखण्डन गर्ने अभियान तर्फ अघि बढेकोले अलग भएर निष्कृय बसेको बताए उनले आगामी दिनमा शान्तिपुर्ण राजनीतिमा मार्फत नेपालको संविधान भित्रबाट आफ्ना मतहरु व्यक्त गर्ने बताएका छन् । 

वार्ता टोली भन्छ अब दुई समूह मात्र अस्तित्वमा 
रकारी वार्ता टोलीले चार महिनाको अवधिमा मुलुकमा सशस्त्र हतियारधारी समूह बनाएर राजनीतिक गतिविधि गर्दै आएको तथा संविधानको दायरा भित्र नरहेर राजनीतिक गतिविधि गरिरहेका सबै दल तथा समूहको पहिचान गरेको छ । टोलीका संयोजक सोमप्रसाद पाण्डेका अनुसार त्यस प्रकारको २४ समूह अस्तित्वमा रहेको पहिचान भएको छ । 

त्यसमध्ये यस अघि सरकारले गठन गरेको आनन्द ढुंगानासंग वार्ता भएर बिचैमा छुटेका १८ समूहको माग सम्वोधन गरेपछि उनीहरुको पुर्णरुपमा शान्तिपूर्ण अवतरण हुने पाण्डेले बताए । ढुंगाना नेतृत्व टोलीले २२ समूहसंग वार्ता गरेको थियो । बाँकी चार समूहमध्ये दुई समूह अहिले हतियार बुझाएर शान्तिपूर्ण बाटोमा समाहित भएको र बाँकी दुई समूहसंग छलफल जारीरहेको पाण्डेले जानकारी दिए ।

सरकारी वार्ता टोलीले आफ्नो समय भित्रै सरकारलाई प्रतिवेदन बुझाउने तयारी पनि गरेको छ । प्रतिवेदनमा राजनीतिक र विखण्डनकारी दुई समुहको मात्र गतिविधि बाँकी रहेको विषय उल्लेख गर्ने बताइएको छ । वार्ता टोलीले विप्लप नेतृत्वको नेकपा माओवादी संवैधानिक दायरा बाहिर रहेको राजनीतिक दल भएको र त्यससंग राजनीतिक व्यवहार गर्दै मागका वारेमा छलफल गर्न सुझाव दिइने संयोजक पाण्डेले बताए । 

तराईमा विखण्डनको वकालत गर्दै विभिन्न गतिविधि गर्दै आएको अर्को समूहसंग भने वार्ता टोलीले कुनै छलफल नगरेको र छलफलको औचित्यसमेत नदेखेको प्रतिवेदन दिने तयारी भएको छ । त्यस बाहेक विगतमा अस्तित्वमा देखिएका सबै सशस्त्र पार्टी, समूह आदिको कुनै अस्तिव नभएको, उनीहरु अधिकांश राजनीतिक मुलधारमा समाहित भइसकेको र केहीले प्रतिवद्धता जनाइसकेको विवरणसमेतको प्रतिवेदन सरकारलाई बुझाउने तयारीमा रहेको पाण्डेले जानकारी दिए । 

सशस्त्र समूह ९७ बाट २४ मा सिमिति
नेकपा माओवादीसंग विस्तृत शान्ति प्रकृया अघि बढेपछि २०६५ सालमा नेपाल सरकारको शान्ति तथा पुनर्निमाण मन्त्रालयले देशका विभिन्न भागमा हिंसात्मक गतिविधि गर्ने समूहहरुको पहिचान गरी वार्ता गरेको थियो । त्यतिबेला ९७ समुह त्यस्ता गतिविधिमा रहेको पहिचान भएको थियो । पछि आनन्द ढुंगानाको नेतृत्वमा सरकारले त्यहि प्रयोजनकालागि सरकारले छुट्टै वार्ता टोली गठन गरेको थियो । त्यसले ४६ समूह त्यस्ता गतिविधिमा रहेको पहिचान गरेको थियो भने २२ समूहसंग वार्ता गरेको थियो । 

अहिले पाण्डे नेतृत्वको टोलीले अध्ययनबाट २४ समूह फेला परेको भएपनि १८ समूहका ६ सय ५० नेता कार्यकर्ता विभिन्न जेलहरुमा मात्र सिमित रहेको खुलेको छ । अखिल जनतान्त्रिक तराई मुक्ती मोर्चाका नेता जयकृष्ण गोइतसंग पुरानो पार्टीका चार केन्द्रीय सदस्य मात्र बाँकी रहेको र ज्वाला सिंहको पार्टीको कुनै अस्तित्व फेला नपरेकोले  टोलीको निष्कर्श छ । 

तर दुई संगठन बाहेक अरु कुनै पनि राजनीतिक तथा सशस्त्र गतिविधिमा सक्रिय नभएको, संगठन नभएको, कार्यालय आदि केही नभएको केवल विगतमा समूह बनाएर काम गरेपनि अहिले निष्कृयजस्तै रहेकोले उनीहरुलाई पनि राज्यले खोजेर मुलधारमा ल्याउने प्रयास गरेको पाण्डेले जानकारी दिए । उनले भने, ‘हामीले मसिनो गरेर अध्ययन गरेका छौं, सबै समूहको पहिचान तथा व्यक्ति व्यक्तिको अध्ययन गरेका छौं । सबैसंग वार्ता अघि बढाएका छौं । यि सबैको वास्तविक अवस्था प्रतिवेदनमा समावेश गछौं । त्यसपछि हुने हिंसात्मक गतिविधिलाई सरकारले राजनीतिक रुपमा होइन अपराधीक रुपमा लिने अवस्था आउँछ ।’

ज्वाला सिंहले रुप परिवर्तन गरेको सूचना
असन्तुष्ट समूह तथा दलसंग छलफल गर्न गठन भएको सरकारी टोलीले निकै प्रयास गरेपनि ज्वालासिंहसंग भेट गर्न नसकेको र उनको संगठनको कुनै अस्तित्व फेला नपरेको जनाएको छ ।

धेरै सुत्रहरु प्रयोग गर्दा पनि उनी सम्पर्कमा नआएको बरु उनले प्लाष्टिक सर्जरी गरेर मुहारको स्वरुपमा केही फेरबदल गरेको जानकारी प्राप्त भएको सरकारी टोलीका संयोजक पाण्डेले बताए । यद्यपी त्यस्तो जानकारी प्रमाणित गर्ने कुनै तस्वीर वा अन्य कुरा भने प्राप्त नभई सूचना मात्र आएको उनले बताए । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर