सुधार गृहमा क्षमता भन्दा बढी बालक, होमो सेक्सको खतरा बढ्दै

कास्की । कास्कीको बाल सुधार गृहमा क्षमता भन्दा बढी बालकहरु राखेको पाइएको छ । विभिन्न अपराधमा संलग्न बालकहरु राख्ने गरिएको कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २६ सराङकोटमा रहेको बाल सुधार गृहमा क्षमता भन्दा बढी बालकहरु राखेको पाइएको हो ।

सराङकोटको बाल सुधार गृहको क्षमता ५० जनाको भएपनि हाल ६२ जना बालकहरु रहेको बाल सुधार गृह कास्कीकी ईञ्चार्ज रमा शर्माले जानकारी दिईन् । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको नेतृत्वमा गएको एक टोलीलाई इञ्चार्ज शर्माले क्षमता भन्दा बढी बालक भएकाले उनीहरुलाई सुत्ने कोठा र पलङको अभाव भएको जानकारी दिएकी हुन् । 

कोठा र पलङ भएपछि उनीहरु होस्टेलमा विद्यार्थी राख्दाझैं गरेर एउटै पलङको तल र माथी गरेर सुत्न बाध्य भएको इञ्चार्ज शर्माको भनाई छ । एउटै पलङको तल र माथी सुत्दा होमो सेक्सको खतरा रहने उनले औंल्याईन् ।

यसरी एउटै पलङको तलमाथी सुत्दासुत्दै उनीहरु एउटै बेडमा पनि आउने गरेको र एकपटक होमो सेक्सको समस्या आएको उल्लेख गर्दै उनले भनिन्,‘त्यो समस्या फेरीपनि नआउला भन्न सकिन्न, किनकि सँधै एकै ठाउँमा रहँदा यो सम्भावना अधिक हुन्छ ।’

सुधारगृहमा पानीको समेत अभाव रहेको इञ्चार्ज शर्माले जानकारी दिईन् । उनका अनुसार हप्ताको एकपटक बोरिङको पानी पाइपमार्फत आउने गरेको छ । पानी अभाव हुँदा नुहाउन र सरसफाइमा समस्या भएको उनले बताइन् । 

सुधार गृहभन्दा केहि माथि पानीको मुहान भएको तर त्यो टाढा र जंगलको बीचमा भएकाले ल्याउन समस्या भएको उनको भनाई छ । त्यसमाथी केहि व्यक्तिहरुले त्यहाँको पाइप काटेर पानी उघाउनै समस्या पारिदिदा त्यहाँबाट पनि पानी ल्याउन नसकिएको उनले जानकारी दिईन् ।

बाल सुधार गृहमा रहेका बालकहरु राती विरामी भएमा उपचारका लागि अस्पताल लैजान सवारी साधन नहुँदा समस्या झेल्नुपरेको पनि इञ्चार्ज शर्माले बताइन् ।  उनले भनिन्, ‘दिउँसो त ठिकै छ, गाडी भाडामा बोलाएपनि आउँछ, तर राती कोहि बिरामी भयो भने गाडीपनि एकान्त भएकाले आउँदैन, त्यसैले गाडी अभावमा विरामीलाई आकस्मिक उपचारमा समस्या भएको छ ।’ 

नियमित स्वास्थ्य परिक्षण नगरिएपनि विरामी भएको बेला भने जिल्ला जनस्वास्थ्य कार्यालय अन्तर्गतको स्वास्थ्यचौकीबाट उपचार सुविधा लिइने गरिएको उनले बताईन् ।

६२ जनाका लागि ३ जना शिक्षक
कास्कीको बाल सुधार गृह विद्यालयमा ६२ जना बालकका लागि जम्मा ३ जनामात्र शिक्षक रहेका छन् । त्यो पनि २ जना सरकारी दरबन्दीका र १ जना आन्तरिक दरबन्दीका । बालगृहमा कक्षा ६ देखी १० सम्म पढाई हुने सो बालगृहमा ३ जना शिक्षकहरुले नै पालैपालो अध्यापन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक विष्णुहरी तिमिल्सिनाले जानकारी दिए । 

कक्षा ६ देखी १० सम्मको औपचारिक कक्षा भएपनि कोहि पढ्दै नपढेकाहरुपनि भएकाले उनीहरुलाई क, ख देखिनै पढाउनुपर्ने बाध्यता हुँदा झनै समस्या हुने गरेको उनले बताए । 
शिक्षक अभाव भएपछि कक्षा १० पास गरि कक्षा ११ र १२ मा पढ्दै गरेका बाल सुधार केन्द्रकै बालकहरुले छात्र शिक्षकको रुपमा अध्यापन गराउने गरेको उनले बताए । 

कक्षा १० पास गरेपछि भने कक्षा ११ र १२ मा बाल सुधार केन्द्रका विद्यार्थीले प्राइभेट रुपमा स्वःअध्ययन गरेर परिक्षा दिने गरेको प्र.अ.तिमिल्सिनाले जानकारी दिए । उनले शिक्षकको दरबन्दी बढाउन आवश्यक रहेको भन्दै त्यसको पहल गरिदिन अनुगमन टोलीलाई आग्रह गरे ।

सुधार गृहमा पूर्वाधार अभाव रहेको इञ्चार्ज रमा शर्माले बताइन् । उनका अनुसार सुत्ने कोठा र पलङको अभाव त छ नै, विद्यार्थीलाई पढ्नका लागि पनि डेस्क, बेञ्च लगायतको अभाव पनि छ । 

उनले सुधार गृहमा रहेका बालकहरुलाई भनेर राखिएको कम्प्युटर पुरानो भएर चल्न नसक्ने अवस्थामा रहेकाले कम्प्युटरको पनि अभाव रहेको बताइन् । त्यस्तै, भवनसमेत पुरानो भएर चुहिने भएकाले बर्खामा समस्या रहेको उनको भनाई छ ।

कास्की बाल सुधार गृहमा २२ जिल्लाका विभिन्न मुद्धा लागेका बालकहरु मात्र छन् । कर्तव्य ज्यानका १५ जना बालकहरु रहेका छन् । जसमध्ये ११ जनाको फैसला भइसकेको छ भने ४ जना पुर्पक्षका छन् ।

जबरजस्ती करणीका ३५ जनामध्ये १८ जनाको फैसला भइसकेको र १७ जना पुर्पक्षका रहेका छन् भने २ जना जबरजस्ती करणी उद्योग अन्तर्गत पुर्पक्षका छन् । चोरीका ३ जना बालक रहेको र तीनै जनाको फैसला भइसकेको छ भने लागू औषधका ६ जना मध्ये २ जनाको फैसला भइसकेको र बाँकी ४ जना पुर्पक्षका छन् ।

यसैगरी सवारी ज्यान अन्तर्गत १ जना पुर्पक्षका बालक रहेको बाल सुधार गृह कास्कीकी ईञ्चार्ज रमा शर्माले जानकारी दिइन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर