मन्त्री पुनको प्रतिबद्धता - लाल बकैया र बाग्मती नदीको तटबन्ध निमार्ण पुरा गर्छौं

रौतहट । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले लाल बकैया र बाग्मती नदीमा तटबन्ध निमार्ण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री पुनले लाल बकैया र बाग्मती नदीमा वर्षायाममा आउने बाढीले धनजनको क्षति पुर्याउँदै आएको भन्दै अब त्यसमा तटबन्ध बनाउने बताएका हुन् ।

शुक्रबार रौतहटमा आयोजित सभामा बोल्दै उनले लाल बकैया नदीको १९ स्थानमा भत्किएको र असाध्यै जोखिम रहेको साथै बाग्मती नदीको १८ गरी ३७ ठाउँमा असाध्यै जोखिम रहेको भन्दै यी स्थानको तटबन्ध पुरा गरिने बताए । उनले भने, 'लाल बकैया र बाग्मतीको तटबन्ध निमार्ण पुरा गर्छौं ।'

उनले वर्षायामको नदीमा आउने बाढीका त्रासले स्थानीय रातीमा निदाउन नसकेको भन्दै अब तटबन्ध निमार्ण नभएसम्म ननिदाउने पालो स्वयं आफूहरुको भएको मन्त्री पुनले बताए । 

कृषिका उर्बर भूमि भएका रौतहट, पर्सा, बारा लगायतका जिल्लामा सिचाईको पनि व्यवस्था गरिने बताए । सुनकोशी मरिन डाइभर्सनको निमार्ण अन्तिम चरणमा पुगेको भन्दै मन्त्री पुनले त्यसबाट १ लाख २२ हजार हेक्टर सिचाईं गर्न सकिने बताए । 

त्यस्तै अन्य ५/७ हजार हेक्टरमा सिचाई आयोजना पनि निमार्ण गरिने बताए । त्यसैगरी प्रदेश २ मा बाह्रै महिना सिचाई सुविधा पुर्याउनका लागि सुनकोशी कमला डाइभर्सनको पनि अध्ययन भएको मन्त्री पुनले जानकारी दिए । यो आयोजनाले सप्तरी, सिराहा लगायतका जिल्लामा १ लाख ७८ हेक्टर जमिनको सिचाई गर्न सकिने उनले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर