• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

बाँडिएका आकाश

सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा कलाकार सुनिता महर्जनले तयार पारेका कलाकृतिको ५ हप्ते प्रदर्शनी चलिरहेको छ । डिसेम्बर २ देखि जारी प्रदर्शनी जनवरी १०, २०१९ सम्म रहने छ । प्रदर्शनीमा राखिएका कलाकृति तयारी गर्नेक्रममा कलाकार महर्जनले गरेको अनुभूति उनकै शब्दमा

मेरो उत्सुकताको विषय– मानिसले आफ्नो वातावरण र आवश्यकता अनुसार कसरी आफूलाई सुहाउँदो ठाउँको सिर्जना गर्दछ ? ती ठाउँलाई उसको दैनिक जीवन र क्रियाकलापले कसरी एकअर्काबाट भिन्न बनाउँछ ? ती ठाउँमा अनेकौं क्रियाकलाप निरन्तर चलिरहन्छन् जहाँ हरेक क्षण अद्धितीय हुन्छन् र हरेक गतिविधि पृथक हुन्छन् । मलाई प्रकृति, जीवन र कला पनि यसरी नै पृथक र निरन्तर हुन्छ जस्तो लाग्छ । 

मार्फा सिरिज
२०१२ मा सुरु गरेको ‘मार्फा सिरिज’ मार्फा गाउँको वास्तुकलासँग सम्बन्धित छ । यो गाउँ नेपालको मुस्ताङ जिल्लाको उत्तरी भेगमा पर्दछ । यो एकदम हावा लाग्ने ठाँउ हो र हावाबाट बच्नको लागि र आफ्नो घरलाई न्यानो बनाउन यहाँका बासिन्दाले ढुङ्गाको पर्खालले घेरेर साना साना चोक बनाउने गर्दछन् । यी चोकमा सूर्यको उज्यालो र न्यानो ताप पर्दछ । सूर्यको प्रकाश र न्यानोपनको लागि घरको बीचमा, माथि सिसाको छाना हालिएको पाइन्छ । यस्ता ठाउँमा घरका सबै सदस्य भेला भई लुगा धुने, सुकाउने, भाँडाहरु सुकाउने, कुरा गर्ने, घाम तापी आराम गर्र्नेे गर्दछन् ।

उनीहरुले आफ्ना गाईवस्तुको लागि पनि गाउँको माथि पहाडमा पर्खालले घेरेर खुला गोठहरु बनाउँछन्, जहाँ घाम लाग्छ र चिसो हावालाई पर्खालले छेक्दछ । पहाडमाथि गएर गाउँलाई हेर्दा ती पर्खालबाट घेरिएका ठाउँहरु साना–साना खाल्डाजस्ता देखिन्छन् र त्यहाँ मानिसका विभिन्न दैनिक क्रियाकलाप भइरहेको देख्न सकिन्छ । यी दृश्यलाई नै मैले आफ्नो काममा अति सूक्ष्म तरिकाले वस्तुगत आकार र धागोकोे रेखामार्फत प्रस्तुत गरेकी छु । 

कौसी सिरिज
यही कामलाई काठमाडौं फर्केपछि पनि निरन्तरता दिएँ । यी काम गर्ने क्रममा यही विषय र सोचलाई मैले काठमाडांैका घरमाथिका कौसीमा जोड्न पुगें । ती ठाउँहरु पनि काठमाडौंका बासिन्दाले आफ्नो आवश्यकता र परिवेश अनुसार बनाएको देखिन्छ । यी कौसीहरु व्यक्तिगत स्थल भएता पनि खुला हावा, पानी र घामसँग नजिक छन् । अहिलेको बढ्दो सहरीकरणको परिप्रेक्ष्यमा यी स्थलको महत्व अझ बढेको देखिन्छ । 

बाल्यकालदेखि नै मलाई कौसीप्रति एक किसिमको आकर्षण थियो । म सानो छँदा मेरो घरमा कौसी थिएन । झिङ्गटीको छाना थियो । हामी लुगा धुने, भाँडा माझ्ने, नुहाउनेजस्ता दैनिक कार्यहरु घर बाहिर नै गर्ने गथ्र्यौ । समुदायका सबै मानिसहरु एकै ठाउँमा मिलेर आ–आफ्ना काम गर्थे । 

एकजना बाजेले भन्नुभएको थियो, ‘घर भनेको खान र सुत्नलाई मात्र हो ।’ साँच्चै त्यस्तै थियो । मलाई थाहा भए अनुसार, दिनभरी मेरा आमा बुवा घर बाहिरैै रहनुहुन्थ्यो । स्वच्छ हावा र घामका लागि बाहिर नै आउनुपथ्र्यो । बिस्तारै कौसी बन्न थाल्यो । मेरो घरमा पनि बन्यो र घर बाहिर गर्ने गरेका काम आफ्नो घरमाथिकोे कौसीमा हुनथाल्यो । एउटा कौसीबाट अर्को कौसीमा जान पनि मिल्थ्यो । सामानहरु पनि कौसीबाट नै साटासाट हुने गथ्र्यो । सबै आ–आफ्नो पर्खालले घेरिएता पनि ती कौसी खुला थिए । कौसीको चहलपहल आकाश नजिक बनेको छुट्टै समुदाय जस्तो लाग्थ्यो ।  

घर बाहिर बाटो बन्न थाले, गाडी गुड्न थाले, विभिन्न पसल बढ्दै गए । चोक पनि मोटरसाइकल तथा गाडी पार्किङ गर्ने र ठूल–ठूला पसलको गोदामका लागि प्रयोग हुन थाले । खाली ठाउँ मान्छे र उनीहरुका सरसामानले भरिंदै गए । मानिसको आवश्यकता अनुसार घरका तल्लाहरु थपिंदै गए । तल्ला अनुसार मानिसको स्तर पनि छुट्टिन थाल्यो । प्रायः माथिको तल्लामा घरधनीले बसोबास गर्ने र तल्लो तल्ला भाडामा दिन थालियो । जसमा अधिकांश काठमाडौं बाहिरबाट आएका मानिस हुन्थे । 

हामीसँग भएको जमीनलाई हाम्रो आवश्यकता अनुसार बढाउन सकिंंदैन । त्यसकारण हामी या त ठाडो रुपमा तल्ला थप्दै जान्छौं या भएको जमिनलाई नै टुक्रा–टुक्रामा बाँड्छौ । 

कीर्तिपुर सिरिज
यसै सन्दर्भमा त्रिभुवन विश्वविद्यालय रहेको ठाउँ कीर्तिपुरलाई हेर्न सकिन्छ । विश्वविद्यालय बन्नु अगाडि कीर्तिपुरको आफ्नै पहिचान र अस्तित्व थियो । विश्वविद्यालय बनेपछि यसको स्वरुप फेरिंदै गयो । पहिले प्रायः किसानको बसोबास भएको ठाउँ अहिले विद्यार्थीको गन्तव्य स्थल बनेको छ । यहाँका घर, कोठा, गल्ली र बाटोघाटो विद्यार्थीले भरिएका छन् । बाहिरबाट देखिने यहाँका सिङ्गो घरभित्र चाँहि सानोभन्दा सानो टुक्रामा विभाजन गरिएको हुन्छ । हरेक विद्यार्थीको लागि मानौं, घरको एउटा झ्याल जतिको ठाउँ भए पुग्छ ।

ती झ्यालहरु रङ्गीचङ्गी पर्दाले ढाकेका हुन्छन् । जुन घरमा पर्दा विनाको झ्याल देखिन्छ, त्यो कोठा खाली छ र नयाँ विद्यार्थीको पर्खाइमा छ भनेर बुझे हुन्छ । यसरी एउटै कोठामा अनगिन्ती नयाँ बासिन्दा आउँछन् र पुराना भएर फर्किन्छन् । बाहिरबाट हेर्दा, जति थरीका विद्यार्थी फेरिए पनि कोठा र वातावरणमा केवल झ्यालको पर्दा मात्र फेरिएको देखिन्छ । तर, भित्र नियालेर हेर्ने हो भने ती कोठाका दलिन, भित्ता र कुना–कुनामा कति विद्यार्थीको अनुभव र सपनाहरु लुकेका होलान् । छोडेर जाने विद्यार्थीले आफ्नो सबै सामानहरु बटुलेर, कोठा रित्तो पारेर जीवनको एक अंशको अन्त गरेर गएका हुन्छन् । कोठाहरु त्यहीं रहन्छन् र नयाँ विद्यार्थी आएपछि फेरि त्यसको रुप फेरिन्छ । यसरी आउने जाने क्रम चलिरहन्छ । 

भूकम्प सिरिज 
भूकम्प पछिको मेरो भान्छाकोठा
सन् २०१५ मा आएको भूकम्पपश्चात् मेरो विषय अझ फराकिलो बन्दै गयो । समय र परिस्थिति अनुसार मानिसले कसरी आफ्नो बासस्थान को सिर्जना गर्छ, त्यो प्रक्रियालाई प्रत्यक्ष रुपमा अनुभव गर्न पाएँ । एक क्षणको भूकम्पले सबैको जनजीवनमा प्रभाव पारेको थियो । मान्छेहरु वर्षाैंदेखि बस्दै आएका घरहरु भत्किए । त्यहाँ भएका सामानहरु छरपष्ट भए । आफूलाई एकदम सुरक्षित, न्यानो लाग्ने घरबाट एक्कासी बाहिर निस्केर खुला आकाशमुनि बस्न बाध्य भए । एकातर्फ भूकम्पले मनमा डर जन्माइरहेको थियो भने अर्कोतर्फ ठाउँ सरिरहनुपर्ने हुन्थ्यो । कुनै कुरा स्थिर थिएन । आफूलाई चाहिने सरसामान, ओछ्यान, खानेकुरा बोकेर ठाउँ खोज्दै हिंड्नु पथ्र्यो । त्यस समयमा आफ्नो शरीर मात्र ओगट्ने ठाउँ पाउन पनि गाह्रो थियो । 

भूकम्प गएको करिब एक महिनापछि मानिसहरु बिस्तारै आफ्नो घर फर्किए । ज–जसका घरहरु भत्किएका थिए, तिनीहरु टहरा बनाएर सुरक्षित स्थानमा बस्न थाले । छरिएका सामानहरु बटुलेर पुनः व्यवस्थित गर्न थाले । यस भूकम्पले मेरो घरलाई पनि छोडेन । छाना पूरा भत्किसकेको थियो । त्यसकारण घरको दोस्रो तल्ला, जहाँ हामी सुत्ने गथ्र्यौ, त्यहाँ खाना पकाएर खान थाल्यौं र बेलुकी टहरामा सुत्न जान्थ्यौं । एक रात वर्षाको कारण दोस्रो तल्लाको पर्खाल पनि भाँसियो र पुनः भान्छाका सामानहरु भुईं तल्लामा सार्नुपर्यो । माटोको घर भएको हुनाले भुइँतल्ला बस्नयोग्य थिएन । जमिन चिसो र ओसिलो हुन्थ्यो । खाना पकाउन र खानको लागि मात्रै घर आउने र अरु समय टहरामै बित्थ्यो । कुन समय जमिन  हल्लिन्छ थाहै हुदैनथ्यो र डरले खाना पनि छिटो–छिटो पकाई, खाई बाहिर निस्किन्थ्यौं । घरमा कौसी हँुदा सबै काम घरभित्रै गथ्र्यौ भने यस समयमा फेरि पहिलाजस्तै सबै बाहिरै गर्नुपर्ने भएको थियो । आफ्नो व्यक्तिगत ठाउँ नै थिएन ।  

घर झन् झन् असुरक्षित हुँदै गएपछि घर नजिकैे छुट्टै टहरा बनायौं र त्यहाँ खान र सुत्न मिल्ने गरी ठाउँ मिलायौं । त्यस टहरामा हामी दुई वर्षजति बस्यौं । यस अनुभवबाट मलाई लाग्यो की मानिस समय र परिस्थिति अनुसार जस्तो अवस्थामा पनि आफ्नो जीवन गुजारा गर्न सक्ने रहेछ । यही बुझाइलाई आत्मसात गर्दै केही समयपछि म गत्लाङ्ग गएकी थिएँ ।

गत्लाङ्ग सिरिज
गत्लाङ्ग नेपालको रसुवा जिल्लामा रहेको एक तामाङबस्ती हो । रसुवा भूकम्पबाट सबैभन्दा प्रभावित जिल्लाहरु मध्येमा पर्दछ । त्यहाँ जानुअघि गाउँका फोटोहरुमार्फत यहाँको वास्तुकलाको विशेषताबारे केही बुझेकी थिएँ । त्यस ठाउँका पाँच सय घरको वास्तुकला प्रायः एकैनासको देखिन्थ्यो । मेरो मनमा उठेको प्रश्न थियो– यी घरहरु बाहिरबाट उस्तै देखिएता पनि हरेक घर कुन किसिमले पृथक होला ?

मानिसका जीवनका अनुभवले कसरी हरेक घरलाई भिन्न बनाएको होला ? तर घरहरु सबै खाली थिए । पूरै गाउँ नै खाली थियो । सबैजना आफ्नो खेतमा त्रिपाल टाँगेर बसेका थिए । मैले खोजेको पृथकता ती घरमा पाउनै सकिन । मानिसको उपस्थिति र दैनिक जीवनविना सबै घरहरु एउटै लाग्यो । घरलाई बाहिरबाट हेर्दा सँधैभित्र के के छ र के भइराखेको बुझ्ने इच्छा हुन्थ्यो । तर त्यहाँ घरको फसाद मात्र उभेको भान भयो । त्यसकारण गत्लाङ्ग सिरिजको काममा घरको फसाद मात्र देख्न सकिन्छ । 

गाउँको खुला र सुन्दर वातावरणविपरीत उनीहरु बसेका टहराहरु पूरा सामानले भरिएका थिए । ती टहराहरु जीवित स्थल बनेका थिए । हरेक सामान र त्यसलाई मिलाएको तरिकामा उनीहरुको जीवनशैली झल्किन्थ्यो ।

मार्फाको कामदेखि कौसीको काम र भूकम्पपछिका सबै काममा मेरो खोजीको विषय एउटै थियो– मानिसले आफ्नो परिस्थिति, समय, र परिवेश अनुुसार कसरी आफूलाई सुहाउँदो ठाउँको सिर्जना गर्दछ र हरेक व्यक्ति फरक भएजस्तै हरेक ठाउँ पनि कसरी एकअर्कादेखि भिन्न हुन्छ ? 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर