• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

विद्युत चुहावट नियन्त्रण गर्न ऊर्जामन्त्री पुनको निर्देशन

बारा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले विद्युत चुहावट नियन्त्रणमा जुट्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । उनले नेपाल विद्युत प्राधिकरण र त्यसको हेटौंडा क्षेत्रीय कार्यालयबीच सिमरामा भएको कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा विद्युत चुहावटमा नियन्त्रण, राजस्व संकलन र गुणस्तर सुधारमा नतिजामुखी काम गर्न समेत कर्मचारीलाई निर्देशन दिए । 

विद्युत प्राधिकरण छिट्टै प्रादेशिक संरचना जाने बताउँदै उनले भने, ‘राष्ट्रिय जलस्रोत नीतिको मुख्य काम सकिएको छ । विद्युत विकासका निम्ति केही जोखिमहरु उठाउन जरुरी छ । यसमा मन्त्रालयले ‘टेक अर पे’ को निर्णयसमेत गरिसकेको छ ।’ 

उक्त कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र क्षेत्रीय कार्यालय  हेटौंडाका प्रमुख नवराज सुवेदीबीच कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर भएको थियो ।

कार्यक्रममा हेटौंडा क्षेत्रीय कार्यालयले अहिलेसम्मको कार्यप्रगति विवरण प्रस्तुत गरेको थियो । सो केन्द्र अन्तर्गत चार लाख ३० हजार ४ सय ६७ ग्राहक रहेका छन् । उक्त केन्द्रले हुकिङमार्फत भएको विद्युत चोरीको जरिवानावापत् ७७ लाख, मिटर बाइपासमार्फत चुहावट भएको विद्युतको जरिवाना ५२ लाख र छुट बिलिङबाट २ करोड ८३ लाख रुपैयाँ संकलन गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर