• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कवि तथा कलाकार गाम्चामा  

भक्तपुर । मासिक रुपमा सञ्चालन हुँदै आएको ‘जेसुम स्रष्टा यात्रा’ सूर्यविनायक नगरपालिकाको गाम्चा एवं अनन्तलिङ्गेश्वरको डाँडामा सम्पन्न भएको छ । यात्राको तेस्रो शृङ्खलाअन्तर्गत भक्तपुरको गाम्चामा कविले कविता र कलाकारले चित्रका माध्यमबाट कला सिर्जना गरे । 

उक्त कार्यक्रममा पूर्वउद्योगमन्त्री तथा भक्तपुर क्षेत्र २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतको कविता र अभिनय विशेष आकर्षक बनेको थियो । साहित्य यात्रालाई सम्बोधन गर्दै बस्नेतले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने सरकारको अभियानमा भक्तपुर तीव्ररूपमा नमूना बन्ने गरी लागेको बताउँदै जेसमले यसमा थप टेवा पु¥याउने विश्वास व्यक्त गरे ।  

कार्यक्रममा कवि फुलमान बल, अनन्त वाग्ले, सुरेश हाँचेकाली, पुष्करराज बुढाथोकी ‘साउँतेली’, बालकृष्ण बस्नेत, रमेश कँडेल, अगिब बनेपाली, सजनी नौवागे लगायतले गाम्चामै तत्काल कविता सिर्जना गरी वाचन गरे । आधा दर्जनभन्दा बढी कलाकारले क्यानभासमा गाम्चा, यस आसपास र यहाँबाट देखिने प्राकृतिक छटाको चित्र उतारेका थिए । कलाकार लालकाजी लामा, दीपेन्द्र बनेपाली, झलक केसी, कान्छाकाजी भासिमा, प्रकाश मानन्धर, विक्रम प्रजापति, राजेन्द्र याकामी, सजनी नौबागे लगायतले क्यानभास विभिन्न प्राकृति दृश्यलाई उतारेका थिए । 

कार्यक्रम संयोजक तथा कवयित्री अनिता लामाले जेसुम साहित्य यात्रा सिर्जना, सौन्दर्य, सामथ्र्य, पहिचान र समृद्धिको एकमुष्ट यात्रा भएको बताउँदै मौलिक कला, संस्कृति, साहित्य र सुन्दर स्थानलाई उर्वर बनाउन यो यात्रा थालिएको चर्चा गरिन् । उनले धुलिखेलबाट सुरु भएको साहित्य यात्रा नगरकोट हुँदै गाम्चा आइपुगेको र आगामी दिनमा देशका विभिन्न भागमा पुग्ने बताउँदै जेसममा सहभागी हुन स्रष्टा र शुभचिन्तकलाई आग्रह गरिन् । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्षसमेत रहेका स्रष्टा बुढाथोकीले साहित्य र पत्रकारिता दुवै समाजको ऐना भएको बताउँदै दुवैको उद्देश्य समाज विकास, सुधार र लोकको हित नै भएको बताए । यात्राका अभियन्ता पत्रकार, कवि बालकृष्ण बस्नेतले यात्राका माध्यमबाट सर्जकका सिर्जनाहरुलाई एकै ठाउँमा प्रस्तुत गर्नु आफैँमा सकारात्मक सन्देश भएको बताए । स्थानीयवासी सहदेव न्यौपानेको व्यवस्थापनमा भएको कार्यक्रममा युवा कलाकार, पत्रकार, साहित्यकार एवं सर्जकले तीन महीना अघि सिर्जनात्मक यात्राको स्वतःस्फूर्तरूपमा इच्छुक सहभागी सबै यसको सदस्य रहने गरी शुभारम्भ गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर