• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

जङ्गली जन्तु बस्ती पसेपछि सर्वसाधारण त्रसित

गोपालप्रसाद बराल/महोत्तरी । वनक्षेत्रबाट सरदर ४० किलोमिटर दुरी छिचोल्दै जङ्गली जन्तु बस्ती पसेपछि जिल्लाको सुदुर दक्षिण क्षेत्रका बासिन्दा आजित भएका छन् । भारतसँग सीमा जोडिएका खैरबनी, सम्सी, गैढाभेटपुर, पोखरभिण्डा, भोलही र सग्रामपुरसहितका बस्तीमा जङ्गली जनावर पसेर बालीनाली सखाप पारेपछि सर्वसाधारण किसान हैरान भएका हुन् । 

उखु खेती गरिएका खेतबारीमा बँदेल र दुम्सी बाक्लै पसेका र नीलगाई त हुलमै बस्तीभित्रै देखिने गरेको भारतीय सीमाक्षेत्र नजिकका जिल्लावासीको भनाइ छ । अहिले उखुघारीभित्र बँदेल बसेपछि खेतबारी डुल्न पनि डरमर्दो भएको सम्सी गाउँपालिकाको पर्सादेवाड गाउँका बासिन्दा शेख मन्सुरले बताउनुभयो । बँदेलले प्रत्येक रातजसो फुलकोबी, बन्दाकोबी, भान्टा र मुलासहितका तरकारी सखाप पार्ने गरेको किसानको भनाइ छ । राति बाली सखाप पार्ने र दिउँसो उखुघारी पस्ने बँदेलको डरले खेतबारी डुल्न, ससाना नानीहरू विद्यालय पठाउन डरलाग्ने गरेको रामगोपालपुर नगरपालिकाको सहसौला बस्तीका चैनकिशोर यादव बताउँछन् । 

गत वर्षहरूमा नीलगाईको हुल तलैसम्म (भारतीय सीमाक्षेत्र) पुगे पनि सो भेगमा बँदेल र दुम्सी भने यसपालि पहिलोपटक देखिएका हुन् । ‘नीलगाई त पछिल्ला पाँच÷सात वर्षयता हिउँदमा बाक्लै देखिन्थे,’ भारतीय सीमावर्ती गाउँ गैढाभेटपुरका सामाजिक, राजनीतिक कार्यकर्ता सौखीलालले भने, ‘बँदेल र दुम्सी चाहिँ यसैपालि देखिएका हुन् ।’ 

नीलगाई चर्दै हिँड्ने हुँदा धेरै बाली नोक्सान नहुने बताउने तर बँदेलले भने तरकारी बाली सखाप नै पार्ने गरेको किसानले गुनासो गरेका छन् । दक्षिणी क्षेत्रमा यसपालि मात्र देखिएको भएपनि जिल्लाको उत्तरी क्षेत्रको बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरक्षेत्रमा तीन÷चार बर्षयता बँदेल बाक्लै देखिँदै आएका छन् । उत्तरी क्षेत्रका बर्दिवास, हाथीलेट, बेलगाछी, गौरीडाँडा, लक्ष्मीनियाँ र खयरमारासहितका बस्तीमा त घरघरै बाँदर पसेर थाङ्रामा राखेको मकैसमेत उधिन्ने गरेको गृहिणीहरू बताउँछन् । 

अहिले जिल्लाको भङ्गाहा नगरपालिका–४ को रामनगर, पलार, टोकाटोल र प्रेमनगरमा जङ्गली बँदेल पसेर बालीनाली नोक्सान पारिरहेको छ । त्यसैगरी भङ्गाहाकै वडा नम्वर–५ को धतियाटोल, भूचक्रपुर, कर्पुरगञ्ज र राजपुरसहितका बस्तीमा जङ्गली बँदेल पसेर उधुम मच्चाएको सो वडाका वडाअध्यक्ष शिव महतोले बताए । बँदेलले तरकारीबाली नोक्सान गर्दै घरकरेसामै केराका थाम उखेलेर नोक्सान गरिरहँदा पनि घरभित्रबाट कराउनुबाहेक धपाउन अन्य उपाय गर्न नसकिएको किसान बताउँछन् । 

बँदेल खासगरी मध्यरातपछि समूहमा बस्ती पस्ने गरेका छन् । बिहान साढेचार बजेसम्म बालीनाली सखाप पारेपछि बँदेल लुक्न उखुघारी पस्ने गरेको किसानको भनाइ छ । नजिकै बाली नोक्सान गरिरहेको थाहा पाइए पनि आक्रमण गर्ला भन्ने डरले धपाउन नसकिएको बर्दिवास–९ पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहा बताउँछन् । बँदेलले बस्ती नजिकका उखुघारीलाई बासस्थल बनाएको किसानको भनाइ छ । बिहानीपख दिसापिसाब गर्न निस्कने महिलालाई बँदेलले लघार्न थालेपछि सर्वसाधारण त्रसित भएका छन् । 

वनक्षेत्रमा पतझर भएर नाङ्गो देखिन थालेसँगै सिकारीहरूको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती÷बस्ती पसेको वन्यजन्तुको आनीबानी बुझेकाहरूको भनाइ छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर