• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

सडक विस्तारका लागि संरचना भत्काउन सुरु

भक्तपुर । सडक विस्तारकार्यलाई महाअभियानको रूपमा लिएको सूर्यविनायक नगरपालिकाले सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको छ । 

आइतबार भक्तपुरको सिर्जनानगर चोकबाट नगरपालिका जाने सडकको दायाँबायाँ रहेका सडक अतिक्रमण गरी बनाएका घरका पर्खाल एवं टहरा हटाउन सुरु गरेको हो । 

नगरपालिकाका प्रमुख वासुदेव थापा, वडा नं ५ का वडाध्यक्ष राजकुमार जोशी, सदस्य दीपक बिसुङ्खेलगायतको प्रत्यक्ष अनुगमनपछि सडक सिमाङ्कन गर्दै डोजर लगाएर सडकको संरचना हटाउन थालिएको हो । 

स्थानीय पूर्वाधार लागत साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सांसद महेश बस्नेतको सांसद् कोषको २० लाख रुपैयाँ र नगरपालिकाको ३० लाख रुपैयाँ गरी कूल ५० लाख रुपैयाँको लागतमा सडक विस्तार कार्य शुरु भएको नगरप्रमुख थापाले बताए । 

सडकलाई आठ मिटरको चौडा बनाउने र त्यसमा ढल, खानेपानीको पाइप, फुटपाथ र कालोपत्र गर्ने गरी विस्तारकार्य शुरु गरिएको र आगामी दुई महीनाभित्र सबै निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य लिएको उनले बताए । 

वडाअध्यक्ष जोशीले यसअघि नै पटक–पटक घरटहरा भत्काउन सूचना जारी गरे पनि नहटाउनेको नगरपालिकाले डोजर लगाएर भत्काउन शुरु गरेको बताए । अहिले घर नभत्काउने तर मापदण्डभित्र परेको पर्खाल, पेटी र टहरा भने भत्काउने योजना अनुरूप डोजर लगाउन थालिएको उनको भनाइ छ । 

नगरपालिकाका इञ्जिनीयर जनक न्यौपानेका अनुसार सडक विस्तारका क्रममा गुणस्तरीयता कायम राख्न दैनिक इञ्जिनीयरसहितको टोलीले अनुगमन एवं निरीक्षण गर्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर