आमाको याचनाः कुवेतमा छोरी यातना भोग्दैछिन् फर्काइदिनुपर्यो !

विराटनगर । अवैध रुपमा वैदेशिक रोजगारकालागि कुवेत पुगेकी छोरीलाई स्वदेश फर्काउन माग गर्दै मोरङकी बिष्णुमाया तामाङले सरकारसँग सहयोगको याचना गरेकी छिन् ।

वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेकी २४ बर्षीया छोरी विदेश पुगेर विभिन्न प्रताडना सहन वाध्य भएको खवर पाएपछि सहयोग खोज्दै बिष्णुमाया सरकारका विभिन्न निकाय चाहार्दै छिन् । 

मोरङ सुन्दरहरैचा नगरपालिका–७ गछिया बजारकी ५२ वर्षकी विष्णु तामाङकी छोरी पूजालाई गत साउनमा स्थानीय सेरे भन्ने सरोज राईले कुवेत पठाएका थिए । छोरीले कुवेतमा दुःख पाएको खवरपछि राईलाई पक्राउ गरेर कारवाही गर्न उनले सरकारको सहयोग मागेकी हुन् । 

मासिक ९० केडी पारिश्रमिक दिने भन्दै कुवेत लगेपनि छोरीले त्यति नपाएको बिष्णुले बताइन् । सुरुमा छोरी हेर्ने काम लगाएपनि समस्यामा परेपछि उनले काम छोडेर अन्तै सरेको तर घर फर्किन खोज्दा नदिएको तामाङले बताइन् । दुई महिनाअघि सारेको ठाउँमा छोरीलाई यातना दिएको जानकारी आफुले पाएको पनि उनले बताइन् । काम गर्ने ठाउँमा आफूमाथि पटक पटक कुटपिट र यातना दिने गरेको खवरपछि आफु आधामासु भएर छोरी फर्काउने बाटो खोज्दै हिडेको भन्दै उनले सहयोगको अपिल गरेकी हुन् । 

छिमेकीसमेत रहेका सम्धी रामबहादुर राईलाई लिएर विष्णु आइतबार छोरी खोज्न भन्दै श्रम तथा रोजगार कार्यालय विराटनगर पुगेकी थिइन् । राम्रो काम छ भनेर विदेश पठाउने व्यक्तिलाई पक्राउ गर्न सके छोरी सकुशल घर आउने विश्वास रहेको उनले बताइन् । 

श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै तत्काल अबैध बाटो हुदै विदेश पठाउने सन्तोषलाई पक्राउ गरी कारवाही गर्न आग्रह गरिन् । सानै उमेरमा विवाह गरेकी पुजाले छोरीको लालनपालनकालागि वैदेशिक रोजगारीको बाटो रोजेकी हुन् । श्रीमानसँग सम्वन्ध विच्छेद भएपछि ७ वर्षिया छोरीको भविष्यकालागि जोखिम उठाउँदै उनी अवैध मार्ग भएर कुवेत पुगेकी हुन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर