• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

दरबन्दी छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन

पाल्पा । पाल्पामै ठूलो सरकारी अस्पतालका रुपमा स्तरोन्नति हुँदै गरेको रामपुर अस्पतालमा दरबन्दी भएर पनि डाक्टर नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ । 

पचास शैयाको अस्पतालको रुपमा विकसित हुँदै गरेको यस अस्पतालमा दरबन्दीअनुसार डाक्टर त छैनन नै, भौगोलिक विकटतासँगै पर्याप्त सुविधा नहँुदा विशेषज्ञ डाक्टर यहाँ बसेर जनतालाई सेवा दिन चाहेको देखिँदैन । 

विशेषज्ञ डाक्टर छोटो समय बस्ने जाने क्रम यहाँको नियति नै बनेको छ । डेन्टल सर्जनसहित १४ जना डाक्टरको दरबन्दी रहेको अस्पतालमै नियमित बसेर सेवा दिने एकजना पनि विशेषज्ञ डाक्टर नहुने गरेको स्थानीयवासीको दुःखेसो छ । 

दुईजना मेडिकल अधिकृत र एकजना डेन्टल सर्जनको भरमा अस्पताल चलेको छ । अस्पतालमा नवाँै र दशौँ तहका विशेषज्ञ डाक्टरको दरबन्दी रिक्त छ । विशेषज्ञ तहका डाक्टर अस्पतालमा नहँुदा यहाँका बिरामीले औषधोपचारमा निकै समस्या झेल्दै आएका अस्पतालका पूर्वसञ्चालक समिति अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । 

‘डाक्टर देखिन आउँछन, एक–दुई महिना बित्न नपाउँदै अन्यत्र जान्छन, उनले भने,‘बिरामीलाई सेवा दिन भन्दा पनि सकेसम्म सुगम स्थानमा बसेर जागीर टिकाउने प्रवृत्ति डाक्टरहरूमा देखिएको छ ।’ अस्पतालमा ५९ मध्ये हाल ३२ जना कर्मचारी मात्रै कार्यरत छन् । भौगोलिक विकटताका हिसाबले रामपुर अझै पनि सुविधा सम्पन्न शहरका रुपमा स्थापित हुन सकेकोे छैन ।

माथिल्लो तहका डाक्टरले ग्रामीण भेगमा बसेर जनतालाई सेवा दिन चाहँदैनन् । घाँटी दुख्ने समस्याले रामपुर अस्पतालमा उपचार गराउन आउनुभएका तनहुँ बैडीका हुमबहादुर कुमालले यहाँ विशेषज्ञ डाक्टर नभएपछि अन्यत्र जानुपरेको दुःखेसो सुनाए । 

दबरन्दीअनुसार डाक्टर नहुँदा अस्पतालको भिडियो एक्सरे सेवा पनि ठप्प छ । अस्पतालमा भिडियो एक्सरे मेशिन प्रयोग गर्ने विशेषज्ञ नहुँदा बिरामी निजी मेडिकलमा पुगेर महङ्गो शुल्मा सेवा लिन बाध्य छन् । 
जिल्ला सदरमुकाम तानसेनदेखि करीब ६५ किलोमिटर पूर्वमा रहेको यस अस्पतालमा विशेषज्ञ डाक्टरकै अभावमा यहाँ आएका बिरामीलाई अन्यत्र पठाउने गरिन्छ । 

रामपुर अस्पतालमा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका जनता सेवा लिन आउने गर्छन । हिजोआज अस्पतालमै पुगेर सेवा लिनुपर्छ भन्ने मानसिकताको विकास भइरहेका बेला विशेषज्ञ डाक्टरबाट घर नजीक पायक ठाउँमा सेवा सुविधा नपाउँदा अन्यत्र भौँतारिनुपर्ने बाध्यता पूर्वी पाल्पावासीलाई छ । 

दरबन्दीअनुसारका विशेषज्ञ डाक्टर नहुँदा सेवा लिन उनीहरु जिल्ला सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, युनाइटेड मिसन अस्पताल, बुटवल, भैरहवा, पोखरा, काठमाडाँैं लगायतका विभिन्न अस्पताल पुगिरहेका छन् । 

आकस्मिक सेवाका लागि अस्पतालबाट अन्यत्र पठाइएका बिरामीलाई समयमा पु¥याउन नसक्दा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था पनि छ । वर्षायामका बेला सडक समस्याका कारण वर्षेनी नागरिकले उपचारमा कष्ट भोग्दै आएका छन । 

शहरी क्षेत्रको सेवा सुविधासँग तुलना गर्दै यहाँ आएका डाक्टर एक–दुई महिनापछि अन्यत्र जाने गरेको अस्पतालका मेसु डा बिनेश झाले बताए । विशेषज्ञ डाक्टरलाई अपस्तालमा बसेर नियमित बिरामीलाई सेवा दिन अनुरोध गरे पनि उनीहरु नै यहाँ बसेर सेवा दिन नचाहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए । 

यहाँ स्थानीय स्तरकै डाक्टर नहुँदा पनि अस्पतालमा नियमित विशेषज्ञ डाक्टर टिक्न नसकेको धेरैको ठम्याइ छ । कोही अध्ययन बिदा देखाएर, कोही भौगोलिक विकटताको बहाना गरेर त कोही शहरी क्षेत्रका अस्पतालमा कार्यरत डाक्टरको सेवा सुविधासँग तुलना गर्दै अन्यत्र जाने गरेका छन् । 

अस्पतालमा दिनहुँ बिरामीको चाप बढ्दो छ । दैनिक दुई सय पचास जना जति बिरामी उपचारका लागि आउने गर्छन । बीमाका कारण पनि दिनहुँ बिरामी सङ्ख्या बढ्दो छ । स्थानीय निकायले अस्पतालको सेवा प्रवाहमा चासो नदिँदा पनि अस्पतालमा नियमित डाक्टर नबस्ने समस्या उब्जिएको हो ।

डाक्टरहरू साँझ बिहान निजी मेडिकलमा सेवा दिन पाउने गरी आफूलाई पायक पर्ने स्थानमा सरुवा हुने प्रवृत्ति पनि समस्याको कारण रहेको सरोकारवाला बताउँछन । हाल पन्ध्र शैयाको क्षमतामा सञ्चालित यस अस्पतालबाट घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले क्षमता बढाएर पचास शैयाको सुविधा सम्पन्न भवन बनाउने काम धमाधम भइरहेको छ ।

अस्पताल स्तरोन्नति भइरहेकै अवस्थामा पनि दरबन्दी अनुसारका डाक्टर नबसेका कारण भोलिका दिनमा पनि यहाँ नियमित रुपमा विशेषज्ञ डाक्टर बस्छन र सेवा दिन्छन भन्नेमा यहाँका आमनागरिक ढुक्क बन्न सकेका छैनन । 

विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भई सेवा दिँदैआएको यस अस्पताल २०६७ सालमा पन्ध्र शय्यामा स्तरोन्नति भएको थियो । विसं २०७० मा पचास श्ययामा स्तरोन्नति गर्ने घोषणा गरिए पनि अहिलेसम्म पनि पन्ध्र शैयामै सीमित छ ।

नयाँ भवनको निर्माण कार्य सम्पन्न भएपछि हाडजोर्नी, फिजिसियन सर्भिस, रेडियोलोजिष्ट लगायतका अत्याधुनिक सेवा सञ्चालन हुने दाबी अस्पतालले गरेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर