• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

 ‘कुर्चीको लागि राजनीति गरेको होइन !’ मन्त्री अधिकारी 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले कुर्चीको लागि राजनीति नगरेको दाबी गरेका छन् । 

मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले वाइडबडी विमान खरिदबारे पत्रकारले राखेका प्रश्नको जवाफ दिदैँ जनताको म्याण्डेट प्राप्त गरेर कुर्ची सम्हालेको बताए भन्दै कुर्चीको लागि राजनीति नगरेको दाबी गरेका हुन् । 

उनले निर्णय गर्न धेरै डराउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै नेपाल वायुसेवा निगमलाई अगाडी नबढाए धरासयी हुने धारणा राखे । मन्त्री अधिकारीले भने, ‘वाइडबडी विमान खरिद प्रक्रिया लामो छ, कसको कार्यकालमा के के भयो भन्ने कुरा खोज्नु होला , बाहिर सार्वजनिक भएको कुरा अलि फरक छ । जहाँ अनियमितता भएको छ , त्यसमा न्यायिक समिति पनि गठन गरिएको छ । हाम्रो निकायले अनुसन्धान गरेर सत्य तथ्य बाहिर ल्याउने छन् । त्यसमा म विश्वस्त छु ।’

मन्त्री अधिकारीले वाइडबडी विमान खरिदबारे अनुसन्धानलाई प्रभावित पार्न नखोजेको पनि दाबी गरे । उनले भने, ‘सबै घटनाक्रमले देखाउने छ, संसदमा विश्वास गर्छु, न्यायिक निकायमा विश्वास गर्छु । आगोमा खरिएर नै फलाम परिपक्व हुनेछ । नियत खराब भएकोमा भन्न सकिन्न । देशका लागि सहि ठाउँमा पुर्याउने मेरो विश्वास हो । निगमले डकुमेन्ट किन बुझाएन भन्ने कुरा म खोज्छु । यसमा मन्त्रालयले पनि सहयोग गर्नेछ ।’

उनले महालेखाले भुक्तानीका लागि रोक भनेको अवस्था नभई भुक्तानी गर्ने सन्दर्भमा सबै कहिले–कहिले पैसा बुझाउनु पर्ने भन्ने अगाडी नै तय भैसकेको हुने बताए । उनले आफ्नो  कार्यकालमा भएको जिम्मेवारीबाट नभाग्ने बताए । 

संसदमा बोल्दा आफुले आफ्नो कार्यकालमा भुक्तानी भएको छैन भनेको स्वीकार गर्दै बोलेर आएको एक-दुई दिनपछि टेक्निकल कुरा आफूलाई थाहा नभएको र पछि बुझेर स्पष्ट पारेको उनले बताए । उनले वाइडबडी बिमान खरिद प्रकरणमा कहिं पनि आफ्नो दस्तखत नभएको भन्दै आफ्नो बचाउ गरे । 

निगमलाई डुबाउने खेल भैरहेको दाबी गर्दै मन्त्री अधिकारीले गलतलाई गलत सावित गरेर यसमा देखिएको अनियमिततालाई अन्त्य गरेर अगाडी बढ्ने बताए । उनले भने,‘नेपाल वायुसेवा निगमको भविष्य उज्यालो छ । सरकार र मन्त्रालय यसमा विचलित छैन ।

वायु सेवा निगमको पनि म अभिभावक हु । वायु सेवा निगममा भएका कमि कमजोरीलाई हटाएर यसलाई अगाडी बढाउन प्रतिवद्ध छु ।’ वाइडबडी खरिदबारे छानबिन गर्न संसद्को सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले मन्त्री अधिकारीसहितका व्यक्तिहरुलाई दोषी देखाएको केही समयपछि सोमबार यसबारे जवाफ दिन पत्रकार सम्मेलन गरिएको हो । 

वाइडबडी विमान खरिद प्रकरणका विषयमा छानविनका लागि गठित उपसमितिले ४ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी रकम भ्रष्टाचार भएको ठहर गरेको छ । पर्यटनमन्त्री अधिकारी, पर्यटन सचिव कृष्णप्रसाद देवकोटासँगै महत्वपूर्ण मन्त्रालय मानिने गृहका सचिव प्रेमकुमार राईलाई समेत तत्कालै निलम्वन गरी कानुन अनुसारको हदैसम्म कारबाही गर्न समेत समितिले सिफारिस गरेको छ ।

यसबाहेक दुई जना पूर्व पर्यटनमन्त्रीलाई समेत कारबाही हुनु पर्ने प्रतिवेदनको निश्कर्ष छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर