वि.सं २०७७ चैत २८ शनिवार फोरेक्स युनिकोडमौसम

कोरोना महामारीले विश्व शक्ति सन्तुलनमै उथलपुथल, चीनले पाँच वर्षमा संसार जित्दै

कोरोना महामारीले विश्व शक्ति सन्तुलनमै उथलपुथल, चीनले पाँच वर्षमा संसार जित्दै

संसारलाई ठप्प पार्ने कोरोना महामारी सुरु भएको डेढ वर्ष भयो । विश्वलाई तिरिखिरी पार्ने महामारीका रुपमा फैलिएको कोरोनाले विश्वभरका ‘एलिट’ वर्गलाई समेत नमज्जाले घुँडा टेकायो । शक्ति सन्तुलनमा नै हेरफेर ल्यायो । कोरोनाले विश्वका शक्तिशाली देशको छवि र अर्थतन्त्रलाई अंगभंग बनायो । कोरोना महामारी अझै नामेठ भएको छैन । संसारमा कोरोना नयाँनयाँ प्रकृतिमा फैलिरहेको छ । तर विकाशोन्मुख तथा मध्यम आय भएका देशले भने कोरोनालाई सहजै पाखा लगाएका उदाहरणहरू थुप्रै छन् । कोरोना महामारी बारे देशले अपनाएको कार्यशैली र क्षमताका आधारमा कस्तो प्रभाव पार्यो/पार्छ भन्ने निर्धारण भएको छ ।

२५ करोड नागरिक चरम गरिबीको चपेटामा

कोरोना महामारीले संसारभर आर्थिक, सामाजिक, मानसिक वा स्वास्थ्य प्रणालीलगायतलाई नराम्रोसँग थला पा¥यो । कोरोनाले विश्वभरकै अर्थ व्यवस्थालाई धरासायी बनायो । एक अध्ययन अनुसार दोस्रो विश्वयुद्धपछि सन् ०२० मा विश्व अर्थतन्त्रमा सबैभन्दा धेरै गिरावट आएको छ । करोडौँ मानिसले रोजगार गुमाउँदा उनीहरूको आयस्रोतमासमेत कमी आएको छ । अर्थतन्त्र उकास्न अर्बौ डलर खर्च भएका छन् । अझै अर्थतन्त्र सुधार हुने छाँटकाँट देखिएको छैन ।

एक अध्ययन अनुसार चीनको अर्थव्यवस्थामा छलाङ मारिरहँदा विश्वका थुप्रै धनी राष्ट्रको अवस्था भने विजोग छ । सन् २०२२ सम्म पनि पूर्ववत् अवस्थामै अर्थतन्त्र फर्किन गाह्रो रहेको अर्थशास्त्रीको दाबी छ । विकाशोन्मुख देशका २५ करोडभन्दा बढी नागरिकले चरम गरिबीको सामना गर्नुपर्ने पनि अध्ययनहरूले बताइरहेका छन् ।

महामारीको फाइदा चीनलाई, पाँच वर्षमै संसार जित्दै

चीन र दक्षिण कोरियाको उचित व्यवस्थापनका कारण कोरोना महामारीलाई चाँडै नियन्त्रणमा लिन सफल भए । संसार कोरोनाले थिल्थिलो भएका बेलामा पनि चीनको अर्थतन्त्र भने सन् ०२१ मा ८ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । चीनको यस आर्थिक वृद्धिदर महामारीअघि पश्चिमी दैशको तुलनामा दुई गुणाभन्दा बढी हो । कोरोना नियन्त्रण गर्नका लागि पश्चिमा देशले लकडाउन गरेका कारण उनीहरूको अर्थतन्त्र डामाडोल भयो भने जसले चीनलाई फाइदा पुगेको हो ।

मनोरञ्जन तथा पर्यटन क्षेत्र पूर्णरुपमा बन्द भएपछि पश्चिमा देशको अर्थतन्त्र धरासयी बनेको हो । ति देशहरूमा घरेलु तथा मेडिकल सामाग्रीको मागमा ह्वात्तै वृद्धि पनि भयो । अमेरिकालाई ट्रम्प प्रशासनले लगाएको उच्च करले चीनबाट हुने निर्यात अर्को रेकर्ड राख्यो । सिंगो एसियामा चीनले गतिलोसँग आफ्नो प्रभाव जमायो ।

चीनले भने प्रशान्त क्षेत्रमा खुल्ला व्यापार र यूरोपदेखि अफ्रिकासम्म आफ्नो आधारभूत परियोजनाका साथ उपस्थित हुँदा दबदबा कायम राखेको हो । पश्चिमा देशबाट भइरहेको बहुमूल्य पदार्थको निर्यातलाई कम गर्नका लागि चीनले भने एडभान्स प्रविधिमा लगानी गर्यो । यस हिसावले हेर्दा चीनले अमेरिका, बेलायत जस्ता ठूला अर्थतन्त्र भएका देशलाई आगामी पाँच वर्षमै उछिनेर विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश बन्ने लण्डन विश्वविद्यालयका अर्थशास्त्री स्टिभ शिफेरेज बताउँछन् । यस्तै, कोरोना महामारीका बेला युरोपको तुलनामा रुसको अर्थतन्त्र पनि खस्किएको देखिँदैन । विश्वमा पहिलो कोरोनाविरुद्ध खोप बनाउन सफल भएको दाबी गरेको रुसले महामारी चाँडै नियन्त्रणमा लिएर अर्थतन्त्र धरासायी हुनबाट बचाएको थियो ।

हेलचेक्र्याइँले महाशक्ति राष्ट्र परे थला

अमेरिका, बेलायत र युरोपका देशमा कोरोनाको दोस्रो लहर पुनः सुरु भएको छ । उनीहरूले लकडाउनलाई निरन्तरता दिँदा ०२० को अर्थतन्त्रमा पनि गिरावट आउने देखिएको छ । कोरोना कहरका कारण अमेरिकामा थुप्रैको रोजगारी गुम्यो भने अर्थतन्त्र पनि नराम्रोसँग थला पर्यो । अमेरिकाको अर्थतन्त्र ०२२ सम्ममा ५ प्रतिशतले गिरावट हुने प्रक्षेपण गरिएको छ ।

सन् ०२१ मा विकाशोन्मुख देशले पनि सबैभन्दा धेरै नोक्सान बेहोर्नु पर्ने अध्ययनहरूले देखाएका छन् । यी देशसँग कोरोना खोप खरिद गर्न आर्थिक संकट हुने तथा संक्रमितको उपचार गर्न नसक्ने अवस्थाका कारण असर पर्ने देखिएको हो ।

यस्तै, ब्राजिल, भारत र दक्षिण अफ्रिकी जस्ता मुलुकहरूलाई पनि गिरेको अर्थतन्त्र उकास्न सहज नहुने देखिएको छ । महामारीअघि यी देशको अर्थतन्त्र भने राम्रै वृद्धि भइरहेको थियो, तर कोरोनाका कारण यी देशका नागरिकले चरम गरिबीको सामना गर्नुपर्ने भएको छ ।

सर्वाधिक हतियार निर्यात गर्ने अमेरिकाले भाइरससँग लड्न सकेन

कुन देशसँग कति हतियार छन् भन्ने आकडाले ति देशको शक्ति मापन हुँदै आएको छ । हातहतियारले भने अमेरिका अगाडि छ । स्विडेनस्थित एक रिसर्च इन्टिट्युटका अनुसार हतियार निर्यातमा पछिल्लो पाँच वर्षमा अमेरिकाको विश्व उपस्थिति ३७ प्रतिशत छ । फ्रान्स र जर्मनको पनि हतियार निर्यातमा बढोत्तरी हुँदा रुस र चीनको त्यति भूमिका देखिँदैन । हतियारको आयातको मामिलामा मध्यपूर्वमा सबैभन्दा बढी देखिन्छ ।

स्टकहोम इन्टरनेशल पिस रिसर्च इन्स्टिट्युट(सिपरी)का अनुसार सन् २०१६ देखि २०२० को पाँच वर्षमा विश्वमा हतियारको बिक्री स्थिर रह्यो । अमेरिकाबाट मात्रै हातहतियार करिब आधा निर्यात मध्यपूर्वमा हुन्छ । जसमा साउदी अरबले मात्रै २४ प्रतिशत अमेरिकी हतियार खरिद गर्छ । अमेरिकाले विश्वका ९६ देशमा हतियार निर्यात गर्छ ।

त्यस्तै, हतियार निर्यातमा फ्रान्सको ४४ प्रतिशत वृद्धि भएको छ भने जर्मनको २१ प्रतिशतसम्म बढेको छ । मध्यपूर्व हतियारको मनग्ये विक्रि हुने गरेको छ । सबैभन्दा बढी साउदी अरबमा ६१ प्रतिशत, इजिप्टमा १३६ प्रतिशत र कतारमा ३६१ प्रतिशले वृद्धि भएको छ । भने रुस र चीन दुवै देशको हतियार निर्यातमा गिरावट आएको भए पनि मध्य–सहारा अफ्रिकी देशका यी देश सबैभन्दा ठूला निर्यातकर्ता बनेका छन् । अध्ययन अनुसार रुसको हतियार निर्यातमा २२ प्रतिशतले गिरवाट आएको छ । हतियार निर्यातमा सम्पन्न देखिएका राष्ट्र भने कोरोना महामारीका बेलामा असफस सिद्ध भए । हतियार सम्पन्न हुँदैमा महामारीलाई राक्ने सकिँदैन भन्ने तथ्य स्पष्ट छ ।

कोरोनाले विश्वका दुई महाशक्ति राष्ट्रको छविमा ल्याएको उथल–पुथल

कोभिड–१९ महामारीले विश्वभरका प्रमुख अर्थतन्त्रको स्थिति र लोकप्रियतालाई प्रभावित तुल्यायो । अध्ययनअनुसार विश्वकै शक्तिशाली राष्ट्र मानिएको अमेरिका कोरोना महामारीका कारण विश्वमै नराम्रोसँग नोक्सान बेहो¥यो । जसले उसको अन्तर्राष्ट्रिय स्तरमा नराम्रोसँग विश्वसनियता गुमायो । महामारीको सामना गर्ने क्षमतालाई लिएर विश्वभर भएको रेटिङले पनि अमेरिका लगायतका देशलाई बदनाम बनाएको हो ।

त्यस्तै महामारीको दोस्रो केन्द्रविन्दू बनेको युरोपेली युनियन पनि आफ्नो सदस्य राष्ट्रलाई समेत सहयोग गर्नमा असफल बन्यो । भने महामारीको भयावह स्थिति बेहोरेको अमेरिकाले पनि कोरोना संकट थाम्नै सकेन । ‘थिङ्क ट्याङ्क’को पिउ रिसर्च सेन्टरले गरेको अध्ययनअनुसार अमेरिकी छवि विश्वभरका राजनीतिक विश्लेषकका लागि प्रमुख छलफलको विषय नै बन्यो ।

सन् २००३ मा इराकमाथि हमलापछि खुम्चिएको लोकप्रियतालाई कोरोना नियन्त्रणमा भएको असफलताले अमेरिका विरोधी नयाँ बहसलाई जन्मादियो । अमेरिकी विदेश नीतिनिर्माताले आफ्नो अन्तर्राष्ट्रिय सार्वजनकि स्थितिलाई राम्रो बनाउन हरसम्भव प्रयत्न भने गरिरहे । अध्ययनका अनुसार पछिल्लो दुई दशकमा अमेरिकाको छवि सबैभन्दा नराम्रो विन्दुमा झरेको छ । केही प्रमुख सहयोगी देशमा उत्माद उत्पन्न गराइदिने र विश्वभर सन्देहवादको स्तरमा वृद्धि गर्ने अमेरिकी विदेश नीतिका कारण मात्रै होइन, महामारी नियन्त्रणका लागि अपनाएको शैलीले पनि उसको छविमा तीब्र गिरावाट ल्याएको हो ।

कोभिड–१९ महामारी सुरु भएको केही समयपछि नै अमेरिका प्रकोपको केन्द्र बन्यो र अझै महामारीले गाँजिनै रहेको छ । महामारीका लागि तयारीमा कमी, केही प्रमुख सहरमा स्वास्थ्य हेरचाह प्रणाली संकट, मास्क प्रयोगप्रति नागरिकको विरोध र सामाजिक दूरी नियमको अवहेलनाले अमेरिकाको बिग्रिरहेको छविलाई झनै खराब बनाइदियो ।

ट्रम्प प्रशासनले महामारीलाई नियन्त्रण गर्न आफ्नो उपस्थिति देखाउनै मानेन । बेलायतमा अमेरिकी लोकप्रियता दुई दशकमा सबैभन्दा तल ४१ प्रतिशतले झरेको छ भने अन्य युरोपेली देशहरुका बीच झनै खराब बनेको छ । त्यस्तै फ्रान्समा ३१ प्रतिशत र जर्मनीमा २६ प्रतिशत लोकप्रियतामा कमी आएको छ ।

अमेरिका मात्रै त्यस्तो एक देश होइन जसले महामारीमा आफ्नो छविलाई धमिल्यायो । विश्व शक्तिको रुपमा उठ्दै गरेको अर्को देश चीनले पनि आफ्नो छविमा गिरवाट देखेको छ । महामारीको पहिलो केन्द्र बनेको चीनले अन्तर्राष्ट्रिय अधिकारीलाई प्रकोपका बारेमा समयमै सही जानकारी उपलब्ध गराउँन सकेन, संक्रमितको तथ्यांक लुकाउने प्रयास गर्यो। प्रकोपको नयाँ केन्द्र बनिरहेको भारतले पनि यहीँ चुनौतीको सामना गरिरहेको छ । युरोपेली संघ अन्तर्गतको स्पेन र इटाली जस्ता देशहरूलाई कोरोनाल थिल्थिलो बनायो ।

थिङ्क ट्याङ्कको अध्ययनले एक दशकअघि चीनप्रति अस्ट्रेलिया, बेलायत, जर्मनी, नेदरल्याण्ड, स्विडेन, अमेरिका, दक्षिण कोरिया, स्पेन र क्यानडाको नकारात्मक दृष्टिकोण उच्चतम विन्दुमा पुगेको थियो । तर, महामारीको सुरुवातपछि भने यस दृष्टिकोणमा अझ वृद्धि भएको छ । चीन सरकारले कोभिड प्रकोपलाई आफ्नो देशमा नियन्त्रण गर्नमा सफल भएको दावी गरे पनि यी देशका धेरैजसो नागरिकले चीनले प्रकोप नियन्त्रणमा फितलो भूमिका खेलेको विश्वास गर्छन् ।

१४ देशहरुमा गरिएको सर्वेक्षणले औसत ६१ प्रतिशत मानिसले चीनले प्रकोप नियन्त्रणमा एक असफल काम गरेको बताउँछन् । यद्यपि, अमेरिकाको तुलनामा यो स्तर धेरै राम्रो हो । यी सर्वेक्षणले अन्तर्राष्ट्रिय सम्बन्धमा एक गम्भीर नेतृत्व संकटलाई सतहमा ल्याएको छ । अमेरिका र चीन विश्वका सबैभन्दा ठूलो अर्थव्यवस्था भएका यी देशबीच भविष्यमा एक नेतृत्व संघर्ष रहनेछ, विशेषगरी अमेरिकाले महामारी नियन्त्रणमा जस्तो भूमिका खेल्यो त्यसले उसको शक्ति र सम्पन्नताको विश्वासमा संकट उत्पन्न गराएको छ ।

चीनको सुधारोन्मूख छवि

कोरोना संक्रमण अहिले संसारभर फैलिएको छ । चीनको वुहानबाट सुरु भएको कोरोनाका कारण यस देशलाई आफ्नो बिग्रिएको छविलाई सुधार्न चीनले कूटनीतिक पहल गरिरहेको छ । तर कोरोनालाई त्यति गम्भीररुपले नलिएका निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ध्यान महामारी नियन्त्रणमा भन्दा पनि चीनको आलोचना, उत्तर कोरिया र आफ्नो चुनावी अभियानप्रति बढी केन्द्रित रह्यो । श्वेत मोनोपोली मानसिकताका ट्रम्प मास्क प्रयोगको एसियाली संस्कारलाई मजाक बनाएर उडाए । अन्ततः उनी पनि मास्क लगाउन बाध्य भए । राष्ट्रपतिले नै मास्क र सामाजिक दूरीलाई मजाक बनाएपछि भाइरसले निकै तीव्रता पायो । आफू विश्व शक्ति राष्ट्र भएको अहम् बोक्ने अमेरिकाका राष्ट्रपति ट्रम्प आफ्ना देशका नागरिक प्रभावित छन् भन्नेतर्फ सोच्नुभन्दा पनि विश्वमा आफ्नो प्रभाव घटाउँन सक्ने देशहरुको निगरानी र आलोचनामा व्यस्त रहे । यसले अन्य देश र अमेरिका भित्रै पनि ट्रम्प प्रशासनप्रति असन्तुष्ट बढायो ।

महामारीअघि मास्क प्रयोग एसियाली महादेशमा बाहेक विश्वका अन्य देशमा खासै प्रचलनमा थिएन । मास्कको प्रयोगको सुरुवात चीनबाटै भएको इतिहास छ र त्यहाँ मास्क प्रयोग गर्नु एउटा संस्कार नै थियो, र छ । तर, चीनका प्रतिस्पिर्धी पश्चिमा देशहरु ब्राजिल, अमेरिकालगायतले मास्कको प्रयोगलाई वेवास्ता गरे । खिल्ली उडाउँदै मजाग गरिरहे । जबकि मास्कको प्रयोगले महामारी प्रसार हुनमा एक प्रमुख भूमिका खेल्ने विश्व स्वास्थ्य संगठनले नै प्रमाणित गरिसकेको छ ।

चीनमा कोरोना महामारी चाँडै नियन्त्रणमा आउनुको श्रेय त्यहाँको सरकारलाई नै जान्छ । समयमै भाइरसका बारेमा विश्वलाई जानकारी उपलब्ध गराउन चीन असफल रहे पनि उसले आफ्ना नागरिकलाई प्रभावित हुन नदिन रातारात हजारौं कोठाको क्वारेन्टाइन बनाउनु, धेरैभन्दा धेरै नागरिकको परीक्षण गराउनु र मास्क, पिपिई जस्ता स्वास्थ्य सामाग्री उत्पादन गर्नमा कुनै ढिला–सुस्ती गरेन । कारोना संक्रमण महामारी घोषणा भएपछि चीनले यसलाई एक गम्भिर संकटको रुपमा मात्रै लिएन, उसले सोही अनुसारको नियन्त्रण प्रणाली पनि अपनायो ।

आफ्नो देशभित्र महामारी नियन्त्रणमा आएको संकेत पाउनसाथ चीनले दक्षिण अफ्रिका, चिलीलगायत आफ्नो सहयोगी देशमा स्वास्थ्य सहायता पुर्याउँन र स्वास्थ्य विशेषज्ञको टोली पठाउन थाल्यो । उसले युरोपका सम्पन्न गणतान्त्रिक देशहरु जस्तै स्पेन र इटाली, फिलिपिन्स र मलेसियालगायत छिमेकी देशमा पनि मास्क र चिकित्सा टोली पठायो । उसले विकाशोन्मुख देशमा ऋणको आह्वान गर्यो। चीनले युरोप र अमेरिकामा प्रशस्तै स्वास्थ्य सामाग्री निर्यात गर्यो । चिनियाँ नेताहरुले यस नीतिलाई ‘हेल्थ सिल्क रोड’ नामले ब्रान्डिङ गरे, जो पहिलेदेखि नै जोड्ने प्रयास भइरहेको थियो, जसले उनीहरुलाई चिनियाँ विदेश नीतिको केन्द्रविन्दु मानिने ‘बेल्ड एण्ड रोड परियोजना’सँग जोड्छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वका थुप्रै नेताहरुलाई महामारी सहयोगका बारेमा वार्ताका लागि आह्वान गरे । उनले जि २०, दक्षिण पूर्वी एशियाली संघ र अफ्रिकी संघहरुसँग वार्ता गरे । बेइजिङले कोरोना महामारी नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठनलाई दुई अर्ब सहयोग दिने घोषण गर्यो र यदि चिनियाँ वैज्ञानिकले खोप पत्ता लगाए सबै देशसम्म पुर्याउँने बाचा पनि गरेको थियो । यतिबेला पनि चीनले विभिन्न मध्यम आय भएका देशमा कोभिड विरुद्धको खोप अनुदान र ऋणमा पुर्याइरहेकाे छ । यसरी चीनले एक विश्व संकटलाई नेतृत्व हासिल गर्ने एक अवसरको रुपमा उभ्यायो ।

चीनको यस स्वास्थ्य नीतिले उसको छविमा मात्रै विस्तारै सुधार आएको छैन, आफ्नो अर्थतन्त्रलाई पनि सुधारमा ल्याएको छ । कोरोना महामारीमा चीन कसैसँग प्रतिस्पर्धामा उत्रिनुभन्दा पनि आफ्नो सार्वजनकि विदेश नीतिलाई बलियो बनाउनेतर्फ ध्यान दिएको अनुमान लगाउँन सकिन्छ, जसले उसप्रतिको विश्वसनीयतालाई बढाउनेछ ।

अन्तर्राष्ट्रिय सम्बन्धहरुमा एक तात्तातो बहस यो छ कि के कुनै देशको नरम शक्ति नीति र लोकप्रियताले वास्तवमै अर्थ राख्छ ? वा यसले वास्तवमै शक्तिको गतिशिलतालाई प्रभावित पार्छ ? देशहरुबीच शक्ति सम्बन्धमा विश्वनीयता एक अत्यन्तै परिवर्तनशील हुन्छ भने अर्कोतिर नरम शक्ति नीति अहिले पनि सही परिस्थितिमा उपयोग गर्नु महत्वपूर्ण मानिन्छ । कुनै देशको स्थितिको बारेमा विश्लेषक र विद्धानहरुले जे–जे सोचे पनि देशहरुले आफ्नो छविको बारेमा महत्वपूर्ण रुपले ध्यान दिन्छन् । उनीहरु विश्वमा आफ्नो प्रभाव बलियो बनाउन हरेक वर्ष अर्बौँ डलार खर्च गर्छन् ।

अन्तर्राष्ट्रिय सम्बन्धमा कोभिड–१९ प्रकोपको गम्भीर प्रभावलाई लिएर प्रमुख शक्तिराष्ट्रको छविमाथि अहिलेसम्म चर्चा भएको छैन । वास्तवमा कोभिड–१९ महामारीपछि कुनै केही पनि उस्तै रहेन, चाहे त्यो चीन, रुसको छविमा होस् वा अमेरिकाको वा विकशित र समृद्ध महादेश युरोपको छविमा होस् । कोभिड महामारीका कारण छविमा आएको भारी गिरावट सुधारर्नु यी शक्ति राष्ट्रहरुका सामु एक ठूलो चुनौतीको रुपमा उभिएको छ ।

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

उद्योग वाणिज्य महासंघद्वारा महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक

सीसीएमसीले भन्यो– तत्काल बिद्यालय लगाएतका क्षेत्र बन्द र लकडाउन गर्नुपर्ने अवस्था छैन

विभूषणमा गलत नक्सा भएको सरकारद्वारा स्वीकार, अब दिइने विभूषणमा नयाँ नक्सा–गृह

अफगानिस्तान भिडन्तमा ९२ जनाको मृत्यु

घाँस काट्न जाँदा भिरबाट खसेर युवकको मृत्यु